अमेरिकामा गजल धमाका
अमेरिका : भुटान गजल मञ्चले नयाँ कार्यसमिति पाएसँगै पेन्सेलभेनिया राज्यको पिट्सबर्ग सहरमा ६०–८० स्रष्टाको वाचन र गायनको कार्यक्रम ‘गजल धमाका’ हालै सम्पन्न भएको छ।
नेपालीभाषी भुटानी कवि लीला निशा र मञ्चका अध्यक्ष नेत्राचार्य कौडिण्यले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपछि उपाध्यक्ष पूर्ण नर्जालीलगायत स्रष्टाले दुई-दुई गजल वाचन गरेका थिए।
ब्रिज सिटी होम केयरले प्रथम भुटानी गजलकार शेरू उदासलाई सम्मान गरेको थियो। उक्त सम्मानले भुटानी युवामा गजल लेखन तथा सिर्जनशीलतामा एक परिवर्तन छाएको स्मरण गर्दै कर्यक्रम संयोजक नेत्राचार्य कौडिण्यले खुसी व्यक्त गरे। गजलकार उदासले भने, ‘मलाई प्रथम गजलकार भनेर सम्मान गरिएको छ। तर, साहित्य रचना गर्न प्रथम÷द्वितीय भनिराख्नु आवश्यक छैन। म ह्युमपाइप हुँ। माथीबाट मान्छे हिँडिरहनु, मेरो मुटुबाट पानी बगिरहोस, म यतिमै खुसी छु। मलाई सम्झनुभयो, यत्ति नै काफी छ।’
कार्यक्रममा स्वीकारोक्ति अभियानका प्रमुख व्यक्तित्व डेन्जोम साम्पाङ, जय बान्तवालगायत धेरै व्यक्तित्वको उपस्थिति थियो। वाद्यवादनका साथ रचना वाचन र गायनमा गजलकार अर्जुन रसाइली, सयपत्री समूहबाट विष्णु खवास, कृष्ण दाहाल, कुमार ओडारी, इन्द्र लामिछाने, बुद्धि लामिछाने, टेक दूधराजलगायत धेरै स्रष्टा उभिएका थिए। सयपत्री समूह पिट्स्बर्गले वाद्यवादनमा साथ दिएको थियो।
मञ्चका प्रचार–प्रसार संयोजक इँटाघरेले भने, ‘मञ्चले अमेरिका र क्यानडामा नेपाली साहित्यमा कलम चलाउने स्रष्टाहरूलाई समेट्न र निमन्त्रणा दिन छुटाएको हुन सक्छ। भावी कार्यक्रमहरूमा सुधार गर्दै जाने बाचा गर्दछौं।’
२०६० साल फागुन १० गते स्थापना भएको मञ्चले स्थापना दिवस यसै वर्षदेखि मनाउन थालेको हो। कार्यक्रमस्थल प्रदायक धन तिम्सिनाले भने, ‘अमेरिकाका विभिन्न राज्य र सहरहरूबाट आउनुभएका स्रस्टाहरूको जमघट धेरै समयपछि देख्न पाइयो। सिर्जना सुन्न पाइयो। कार्यक्रम सोचेभन्दा राम्रो भएको हो।’ कलाकार केदार उप्रेतीले यो कार्यक्रमले गजल लेखनमा हौसला दिएको बताए।