राजकाँडाको वनमा सबडिभिजनको निगरानी

राजकाँडाको वनमा सबडिभिजनको निगरानी
राजकाँडामा काँडेतार भत्काउँदै वनको टोली। परमानन्द पाण्डे
सुन्नुहोस्

टीकापुर : कैलालीको मोहन्याल गाउँपालिकाको चुरे क्षेत्रमा व्यापक वन फडानी भइरहेको समाचार प्रकाशित भएपछि चिसापानी वन सबडिभिजन कार्यालयले राजकाँडामा निगरानी बढाएको छ। 

मोहन्याल गाउँपालिका–७ को राजकाँडामा पर्ने चुरे वन क्षेत्रमा व्यापक वन फडानी भइरहेको समाचार अन्नपूर्ण पोस्ट्ले प्रकाशित भएपछि वनले सो क्षेत्रमा निगरानी बढाएको हो। 

वनडिभिजन कार्यालय पहलवानपुरले सो क्षेत्रमा भइरहेको वन फडानीको अनुसन्धानका लागि चिसापानी सबडिभिजन कार्यालयका प्रमुख पूर्णकुमार विष्टलाई अनुसन्धान अधिकृत तोकेको छ। 

वन सबडिभिजन कार्यालय चिसापानीबाट हतियारसहित ९ जनाको टोलीले राजकाँडा क्षेत्रमा स्थलगत अध्ययन गरेको छ। विष्टको नेतृत्वमा गएको टोलीले राजकाँडाका विभिन्न क्षेत्रका वन फडानी र वनको जग्गा अतिक्रमण भएको फेला पारेको हो। 

‘हामीले सबै ठाउँमा हेर्न त पाएनौं, राजकाँडाका केही क्षेत्रमा हेर्दा वन फडानी भएको देखिन्छ, रुख काटिएको अवस्थामा केही ठुटाहरू देखिन्छन्’ विष्टले भने। ‘वन क्षेत्रको जग्गा कब्जा गर्न तारबार लगाइएको थियो, त्यो हामीले भत्काएका छौं।’ राष्ट्रिय वन अन्तर्गत पर्ने राजकाँडाको वनमा अतिक्रमणकारीले रुखहरू कटानी गरी खाली रहेको जग्गामा काँडेतार लगाएर कब्जा गरेका थिए। 

‘प्रारम्भिक स्थलगत अनुसन्धान सुरु गरेर त्यहाँको वस्तुस्थितिबारे जिल्लामा प्रतिवेदन बुझाएपछि मलाई नै अनुसन्धान अधिकृत तोकिएको छ’, विष्टले भने। ‘सर्जिमिन मुचुल्का बनाउँदा समेत स्थानीयले कसले जग्गा अतिक्रमण गरेको र रुख काटेको हो भन्ने विषय थाहा नभएको भनेका छन्।’ विष्टले घटनास्थलमा अतिक्रमण र वन फडानी नियन्त्रणका लागि रुख कटानीमा संलग्नहरूको व्यापक खोजी भइरहेको बताए। 

‘हामी सूक्ष्म रूपमा रुख कटानीमा संलग्नहरूको बारेमा अनुसन्धान गरिरहेका छौं, रुख कटानीमा संलग्न र अतिक्रमणकारीलाई वन कानुनअनुसार कारबाही गर्छौं’ विष्टले भने। ‘अतिक्रमण गरेर रुख कटानी भइरहेको देखिएपछि हामीले वनको हतियारधारी टोलीसहित गस्ती समेत सुरु गरिसकेका छौं।’

बाइसे चौबिसे राज्य मध्येको धुलिकोट राज्यको मुकाम राजकाँडा हो। राजकाँडा वि.सं. १५९३ देखि झण्डै ४ शय ५० वर्ष धुलिकोटे राजाले शासन गरेको ऐतिहासिक क्षेत्र समेत हो। राजकाँडामा ऐतिहासिक धुलिकोट दरबार, टुँडिखेल, कोतखाना, खजाने ओडार, मालिका मन्दिर, रानीको नुहाउने कुवालगायतका अवशेषहरू  छन्। 

तराईसँग जोडिएको कैलालीबाट अपी, सैपाल हिमाल, काञ्जिरवा हिमाल, ओमपर्वतदेखिका हिमश्रृंखला हेर्न सकिने राजकाँडा सूर्योदयका लागि प्रख्यात छ। सूर्योदयको सुन्दर दृश्य हेर्न र ऐतिहासिक दरबार रहेको क्षेत्र राजकाँडामा केबलकार निर्माण हुने चर्चा चलेसँगै चुरे वन क्षेत्रमा व्यापक वन फडानी भइरहेको हो। 

व्यवसायी चन्द्र ढकाल नेतृत्वको जालपादेवी केबलकार प्रा.लि.ले राजकाँडामा केबलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिरहँदा सो क्षेत्रमा व्यापक वन फडानी भइरहेको छ। 

‘यहाँका स्थानीयहरूलाई प्रयोग गरेर तराई क्षेत्रका केही व्यवसायीहरूले रुखहरू कटान गर्न लगाएका हुनसक्छन्’, एक स्थानीयले भने। ‘राजनीतिक र प्रशासनिक पहुँचको भरमा ऐतिहासिक दरबार क्षेत्रमा रहेको वन विनाश गर्ने गरी कटानी भइरहेको छ, चिसापानीबाट वनको टोली आएर दुई कठ्ठामा लगाएको तारबार भत्काएर फर्कियो।’

उनले चुरे क्षेत्रको वन वातावरणीय दृष्टिकोणले निकै महत्वपूर्ण हुने बताउँदै यसको संरक्षणका लागि वन र स्थानीय तहले ध्यान दिनुपर्ने बताए। ‘यो त पर्यावरणीय दृष्टिकोणले समेत महत्वपूर्ण क्षेत्र वन हो, पछिल्ला दुई वर्षमा सयौंको संख्यामा रुखहरू काटिएका छन्’, उनले भने। ‘कतिपय राजनीतिक दलका नेता, तराई क्षेत्रका व्यवसायी व्यापारीहरूको संलग्नतामा कटानी भइरहेको हो, यहाँका काठ राति राति तराई क्षेत्रमा जाने गरेको थियो।’ 

ऐतिहासिक महत्व रहेको चुरे वन क्षेत्रमा पर्ने राजकाँडामा वन फडानी रोक्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयहरू बताउँछन्। सो क्षेत्रमा वन फडानी भइरहँदा पुरातात्विक महत्वको धुलिकोट दरबार क्षेत्रका भग्नावशेष समेत जोखिम पर्ने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.