असिनाले अन्नबालीमा क्षति
बैतडी : सोमबार साँझ परेको असिनाले अन्नबाली र तरकारीबालीमा क्षति पुगेको छ। बैतडीको पुर्चाैडी नगरपालिका–५ कुवाकोटमा असिनापानीले व्यापक क्षति पुर्याएका हो।
हिउँदे वर्षा नभएर खडेरीको सामना गरिरहेका किसानको गहुँबाली सोमबारको असिनापानीले सखाप पारेको हो। कुवाकोटमा करिब १५ सय हेक्टर क्षेत्रफलमा फलेको गहुँबाली क्षति भएको छ। असिनाले गहुँमा व्यापक क्षति पुर्याएको स्थानीय मनिलाल बिकले बताए। ‘असिनाले गहुँका बोटहरू सबै भाँचिएका छन्, गहुँ फल्ने समयमा असिनाले धेरै क्षति पुर्यायो,’ उनले भने।
अन्नबाली मात्रै नभई मौसमी तथा बेमौसमी तरकारी बालीमा समेत क्षती पुर्याएको अर्का स्थानीय किसान गजेन्द्रबहादुर कुवँरले बताए। ‘गहुँका बोटहरू सबै भाचिँएका छन्, फलफूलका बोटहरूमा समेत धेरै क्षती पुर्याएको छ,’ उनले भने।
तरकारी खेतीमा मुला, काक्रा, टमाटर, लौका, फर्सीका बोट र लहरेजातका बिरुवाहरू क्षति पुगेको किसानहरूले बताएका छन्। ‘टनेल राखेर मौसमी तथा बेमौसमी तरकारी खेतीको सुरुवात गरेको थिए,’ किसान कुवँरले भने। ‘टनेलसहित बोटहरू सबै नष्ट भए,’ उनले भने।
मंगलबार पुर्चाैडी नगरपालिकाका नगर प्रमुख दीपकबहादुर बमको नेत्तृत्वमा असिनाले क्षति पुर्याएको कुवाकोट क्षेत्रमा अनुगमन गरिएको थियो। किसानहरूको क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारसमक्ष आग्रह गरिने नगर प्रमुख बमले बताए। ‘धेरै क्षति पुर्याएको छ, क्षतिपूर्तिका लागि प्रदेश र संघ सरकार समक्ष आग्रह गर्छाैं,’ उनले भने।
सोमबार जिल्लाको पुर्चाेडी नगरपालिकाका केही क्षेत्रमा मात्रै असिनासँगै पानी परेको थियो। कुवाकोटमा मात्रै असिनाले क्षती पुर्याएको नगरपालिकाले जनाएको छ। हिउँदे वर्षा नहुँदा बैतडीमा यस वर्ष खाद्य उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र बैतडीका तथ्याङ्क अधिकृत मिलन कँडेलले बताए।