विद्यालयमा बालमैत्री खानेपानी धारा
वीरेन्द्रनगर: कालिकोटको नरहरिनाथ गाँउपालिका वडा-२ स्थित जनता आधारभूत विद्यालयमा बालमैत्री धारा निर्माण गरिएको छ।
बालमैत्री धारा बनेपछि बालबालिकालाई पानी पिउन तथा सरसफाइ गर्न सहज भएको छ। नरहरिनाथ गाँउपालिकाका तीन विद्यालयमा शौचालय मर्मत, चार विद्यालयमा बालमैत्री खानेपानी धारा, पाँच विद्यालयमा जोखिम व्यवस्थापनका लागि घेरबार गर्नुका साथै एक विद्यालयमा नयाँ शौचालय निर्माण गरिएको छ।
जनता आधारभूत विद्यालयमा कक्षा ५ मा अध्यायनरत छात्रा कल्पना बिष्टले विद्यालयमा खानेपानीको सुविधासँगै बालमैत्री धारा निर्माण भएपछि निकै सहज भएको बताईन्।
रुपादेवी आधारभूत विद्यालयमा कक्षा ५ मा अध्यायनरत छात्रा करिस्मा महत्तराले खुसी हुँदै भनिन्, 'पुरानो धारामा पानी पिउनै सकिँदैनथ्यो। पानी थाप्दा पूरै भिजिन्थ्यो। अहिले सजिलो भएको छ। पहिले जस्तो धारामा हिलो र चिप्लो छैन।'
धारा, शौचालयसहितका पूर्वाधार बनाउन विद्यालयलाई प्लान इन्टरनेशनल र पेस नेपाल जुम्लाले सहजीकरण गरेको थियो।