प्रदेश १ को नाममा कोशी र किराँत–लिम्बुवान-सगरमाथा प्रस्ताव
दलहरूबाट प्रस्तावित नाम निर्णयार्थ संसदमा पेश गर्ने तयारी छ । नेकपा (माओवादी केन्द्र) ले पनि कोशी नामकै पक्षमा मतदान गर्ने बताइएको छ ।
विराटनगर :नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश १ को नाम ‘कोशी’राख्न प्रस्ताव गरेको छ । प्रदेशसभा सचिवालयमा बुधबार दुवै दलले प्रदेश १ को नामकरणका लागि कोशी नाम दर्ता गराएका हुन् ।
एमालेका रामबहादुर मगर प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थन कांग्रेसका भूमिप्रसाद राजवंशी,एमालेका विदुरकुमार लिङ्थेप र निरनकुमार राईले गरेका छन् ।
प्रस्तावमा विभिन्न जातिजाति,धर्म–संस्कृति,भौगोलिक विविधता,ऐतिहासिकतालगायतका विषयलाई कोशी नामले नै सम्बोधन गर्ने भएकाले उक्त नाम प्रदेश १ का लागि उपयुक्त रहेको भनी उल्लेख गरिएको छ ।
‘प्रदेशले आफ्नो नामकरण प्रदेशसभाबाट आफैले गर्नुपर्नै दायित्व पूरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म,बौद्ध धर्मको दर्शन,किराँत सभ्यता, मिथिला सभ्यता,लिम्बुवान संस्कृति,विराट क्षेत्रको इतिहास,कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक,धार्मिक तथा जातजाती,भाषा,सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ,’प्रस्तावमा भनिएको छ ।
प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट पनि प्रस्ताव दर्ता भएको छ । दुवै दलले ‘किराँत–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरी दर्ता गराएका छन् ।
नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा दर्ता गराइएको हो।
दलहरूबाट प्रस्तावित नाम निर्णयार्थ संसदमा पेश गर्ने तयारी छ । नेकपा (माओवादी केन्द्र) ले पनि कोशी नामकै पक्षमा मतदान गर्ने बताइएको छ ।