अर्घाखाँचीमा २७ किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे
सन्धिखर्क : मदन भण्डारी लोकमार्गअन्तर्गत अर्घाखाँचीमा सडकको स्तरोन्नतिको काम सुरु भएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१०, रुब्दीबाट सुरु गरी पोखेडाँडा, भण्डार, रतनमारे हुँदै मालारानी गाउँपालिकाको गोखुंगासम्मको २७.६ किलोमिटरको स्तरोन्नति सुरु गरिएको मदन भण्डारी लोकमार्गका प्रमुख इन्जिनियर सशांक मिश्रले बताए।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, मालारानी गाउँपालिका, प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकाका बासिन्दाहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।
यो सडक गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडीबाट, बल्कोट, अर्घा, रतनमारे, गोखुंगा हुँदै प्युठान, रोल्पा भएर यो सडक सुर्खेतमा पुग्ने छ।
सडकको स्तरोन्नतिका लागि श्रेष्ठ कन्ट्रक्सन प्रालीले भ्याटबाहेक एक अर्ब ९ करोडको लगानीमा सम्झौता गरेको मदन भण्डारी लोकमार्गका सुचना अधिकारी इन्जिनियर वीरेन्द्रप्रसाद गुप्ताले बताए।
२७.६ किलोमिटर लम्बाई र ११ मिटर चौडाइ हुने सडकको कालोपत्रे गरिने सूचना अधिकारी गुप्ताको भनाइ छ। रिडीबाट गुल्मीको खज्रयाङ हुँदै अर्घाखाँचीको बल्कोटसम्मको भागमा काम भइरहेको छ।