जग्गादाताको शालिक अनावरण
धनकुटा : साँगुरीगढी गाउँपालिका-९ स्थित आहाले स्वास्थ्य चौकीलाई जग्गा प्रदान गर्ने स्वर्गीय पूर्णप्रसाद राईको शालिक अनावरण गरिएको छ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई र उपाध्यक्ष मुना राईले संयुक्त रूपमा बुधबार स्वास्थ्य चौकी परिसरमा स्थापना गरिएको शालिक अनावरण गरेका हुन्।
तत्कालीन् आहाले गाउँ पञ्चायतका प्रधानपञ्च स्वर्गीय राईले स्वास्थ्य चौकी स्थापनार्थ ७ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए।
जग्गा दाताको सम्मान स्वरूप स्वास्थ्य चौकी परिसरभित्र उनको प्रतिमा स्थापना गरिएको हो। गाउँपालिकामार्फत गत आर्थिक वर्षको योजना तथा कार्यक्रममार्फत निर्माण गरिएको थियो।
सो अवसरमा जग्गा दाताको छोरा ध्रुवदेव राई लगायत परिवारका सदस्यलाई सम्मान गरिएको थियो। स्वर्गीय राईका छोरा ध्रुवदेवका अनुसार चौकीलाई अपुग अरू जग्गा पनि निःशुल्क दिने तयारी गरिएको बताए।