सीमा सुरक्षामा पूर्वाधार अभाव
पूर्वाधार निर्माणमा करिब ४४ लाख र जमिनमा १० लाख गरी ५४ लाख रुपैयाँको लागतमा गुलरिया नगरपालिकाले बीओपीको कार्यालय भवन निर्माणमा सहयोग गरेको छ।
गुलरिया : सरकारले सीमा सुरक्षाका लागि प्रति ३ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) राख्ने योजना अघि सारे पनि संरचनागत भौतिक पूर्वाधारमा लगानी नहुँदा दाताहरूको मुख ताक्नुपर्ने बाध्यता छ।
बर्दियामा प्रस्तावित २९ वटा बीओपीमध्ये ८ वटा बीओपी कार्यालयहरू स्थापना भइसके पनि आर्थिक अभावका कारण पूर्ण पूर्वाधारयुक्त कार्यालय निर्माण हुन सकेका छैनन्।
गुलरिया नगरपालिकाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय ३१ नम्बर हेडक्वार्टर बर्दिया मातहतमा रहेको गुलरिया नगरपालिका–३, हस्नापुर कट्टीमा बीओपी निर्माण गरी सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरेको छ। नगरद्वारा कट्टीमा निर्मित बीओपी नेपालकै पहिलो पूर्ण पूर्वाधारयुक्त कार्यालयको रूपमा लिइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए।
पूर्वाधार निर्माणमा करिब ४४ लाख र जमिनमा १० लाख गरी ५४ लाख रुपैयाँको लागतमा गुलरिया नगरपालिकाले बीओपीको कार्यालय भवन निर्माणमा सहयोग गरेको छ।
पछिल्लो समय सरकारले सुरक्षा निकायका भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको छैन। उनले भने, ‘सुरक्षा निकायका पूर्वाधारहरू संघ, संस्था, स्थानीय तहलगायत दाताहरूको सहयोगमा निर्माण गरिँदै आएको छ। बीओपी निर्माणमा गुलरिया नगरपालिकाले ठूलै सहयोग गरी गुण लगाएको छ।’
बर्दिया खुला सिमाना भएको जिल्ला भएकाले वर्षांैदेखि सीमा विवाद, अतिक्रमणलगायत विभिन्न खाले सीमावर्ती समस्या झेल्नुपर्ने बाध्यता छ। सरकारको लक्ष्य अनुरूप प्रस्तावित बीओपीहरूलाई यथेष्ट बजेट विनियोजन गरी समयमै पूर्वाधार खडा गर्नु आवश्यक रहेको प्रजिअ बाँस्तोलाको भनाइ छ।