चर्को ब्याजदरविरुद्ध आन्दोलनमा व्यवसायी
टीकापुर : कैलालीका व्यवसायीहरू बैंक तथा वित्तीय संस्थाले लगाएको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका छन्।
विभिन्न उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरू चर्को ब्याजदर कम हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। जिल्लाको टीकापुर, भजनी, लम्की, सुख्खड, अत्तरिया र धनगढी गरी मुख्य बजार क्षेत्रमा दैनिक विभिन्न दबाबमूलक कार्यक्रम गर्दै व्यावसायीहरू आन्दोलनमा उत्रिएका हुन्।
टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वमा यस क्षेत्रका व्यवसायीहरूले नाराबाजीसहित ¥याली गर्दै कोणसभा गर्ने, नो डिपोजिट जस्ता आन्दोलनका कार्यक्रम गरिरहेको टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाले बताए।
‘हामीले १६ गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छौं, बिहान ११ बजेसम्म व्यवसाय ठप्प पारेर दबावमुलक र्याली, कोणसभा र नो डिपोजिट जस्ता कार्यक्रम गरिरहेका छौं’, अध्यक्ष सापकोटाले भने ‘७÷८ प्रतिशतमा लिएको ऋणबाट १६ प्रतिशतसम्म ब्याज तिर्नुपरेको छ, यो सरासर ठगी हो। त्यसकारण हामीसँग आन्दोलनको विकल्प छैन।’
व्यवसायीहरूले बैंकहरूको चर्को ब्याजदरमा सरकारले नियन्त्रण गर्नुपर्ने माग गर्दै आइरहेका छन्। ‘सामान्यतया कुनै पनि व्यवसायमा २०–२५ प्रतिशत नाफा खाएर बेच्ने हो, अब व्याज नै १५–१६ प्रतिशत भएपछि व्यवसाय चलाउन सकिने अवस्था छैन’, व्यवसायी प्रकाश तिमिल्सेनाले भने ‘यो भनेको सोझै व्यवसाय बन्द गर भनेको होभन्दा फरक पर्दैन। थोरै नाफाबाट कर्मचारी पाल्ने कि, घरखर्च धान्ने कि के गर्ने ?’
उता, भजनी उद्योग वाणिज्य संघले समेत बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको छ।
भजनीका व्यवसायीहरूले कालो ब्यानरसहित बजार परिक्रमा गरेर आन्दोलन गरिरहेका छन्।
शारीरिक अपाङ्गता भएकी भजनीका स्थानीय बबिता चौधरीले लघुवित्तका समूहले ब्याज तिर्न नसकेपछि आफ्नो अपाङ्गता परिचय पत्र खोसेको आरोप लगाइन्। संघले आयोजना गरेको कोणसभामा रुँदै सम्बोधन गरेकी चौधरीले भनिन् ‘हामीले लिए भन्दा धेरै ब्याज देखाएको रहेछ, हामी कसरी तिर्ने, केही उपाय छैन।’ उनले बैंक तथा वित्तीय संस्थाले व्यवसायीहरूलाई राहत दिनुका साटो तनाब दिने गरेको गुनासो गरिन्।
यता, लम्की क्षेत्रका व्यवसायीहरूले समेत चरणबद्ध आन्दोलन गरिरहेका छन्। लम्की उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन भइरहेको छ। डल्फिन गु्रपका अध्यक्ष एवं व्यवसायी सुर्यबहादुर थापाले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण व्यवसायीहरूले आत्महत्या गर्ने र मानसिक रोगी बन्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताए।
व्यवसायीको घर घरमा आएर ऋण बाँड्ने बैंकहरू यतिबेला चर्को व्याजमार्फत साना ठूला उद्योगी, व्यवसायीलाई धरासायी बनाई रहेका छन्, जसले गर्दा उद्योग धन्दा बन्द गर्नुपर्ने अवस्था छ।’
उता, धनगढीमा रहेका विभिन्न संघसंगठनहरूले समेत आन्दोलन गर्दै आइरहेका छन्। बैंक तथा वित्तीय संस्थाले कम ब्याजदरमा ऋण दिएर अनावश्यक शुल्क, सेवा शुल्क थप गरी भार बढाएको आरोप लगाउँदै आएका छन्।