भूकम्प प्रभावित सिरियामा ३७ लाख बालबालिका जोखिममा

भूकम्प प्रभावित सिरियामा ३७ लाख बालबालिका जोखिममा
फाइल तस्बिर।
सुन्नुहोस्

सिरिया : संयुक्त राष्ट्रसङ्घीय बाल कोषका प्रमुखले गत महिना गएको भूकम्पबाट प्रभावित युद्धग्रस्त सिरियाका केही भागका ३७ लाख बालबालिकामा गम्भीर जोखिम हुन सक्ने चेतावनी दिएको छ।

टर्कीमा गत फेब्रुअरी ६ मा गएको भूकम्पमा परी ५० हजारभन्दा बढीको मृत्यु भएको थियो भने सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा मात्रै कम्तीमा ८८ लाख मानिस विनाशकारी भूकम्पबाट प्रभावित भएका छन्।

'सिरियाको प्रभावित क्षेत्रमा रहेका ३७ लाख बालबालिकाले धेरै बढ्दो र सम्भावित विनाशकारी खतराहरूको सामना गरिरहेका छन्,' संयुक्त राष्ट्र सङ्घीय बाल निकाय युनिसेफद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ। 

प्रतिवेदनमा विपद्को भावनात्मक र मनोवैज्ञानिक प्रभावका साथै रोगको बढ्दो जोखिम र ‘करिब १२ वर्षको द्वन्द्वका कारण जोखिममा परेका परिवारका लागि आधारभूत सेवामा पहुँचको अभाव’ उल्लेख गरिएको छ।

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले सिरियाको दुईदिने भ्रमण पूरा गरेपछि गरेको पत्रकारहरूसँगको भेटमा भने, 'सिरियाका बालबालिकाले अकथनीय त्रास र हृदयविदारक पीडा भोगेका छन्।'

उनले भने, 'भूकम्प र त्यसपछिका पराकम्पनले बालबालिकालाई खेल्ने घर, विद्यालय मात्र ध्वस्त पारेन, यसले धेरै जोखिममा रहेका बालबालिका र परिवारहरूको सुरक्षाको भावनालाई पनि चकनाचुर पारेको छ।’  

युनिसेफले सिरियामा भूकम्पबाट प्रभावित २६ लाख बालबालिकासहित ५४ लाख मानिसका लागि तत्काल जीवनरक्षाका लागि सहयोग गर्न १७ करोड २७ लाख अमेरिकी डलर आवश्यक रहेको जनाएको छ।

'सुरक्षित पानी, स्वास्थ्य सेवा र मनोसामाजिक सहयोग जस्ता अत्यावश्यक सेवाहरूमा पहुँच प्रदान गर्नाले परिवारहरूलाई उनीहरूको जीवनको पुनर्निर्माण गर्न सुरु गर्न मद्दत गर्दछ,' रसेलले भने। 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले सिरियाको भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसङ्घले सिरियाका भूकम्प पीडितलाई सहयोग गर्न ३९ करोड ७० लाख अमेरिकी डलरको अपिल गरेको छ। तर यो आपतकालीन अवस्थाका लागि आवश्यक पर्ने जति पाउन नसकेको टेड्रोसले बताए। 

सिरियामा गत वर्ष सुरु भएको हैजाको पनि घातक प्रकोप देखिएको छ। सन् २०११ यता सिरियामा भएको युद्धमा करिब पाँच लाख मानिसको ज्यान गइसकेको छ भने देशको आधाभन्दा बढी जनसङ्ख्यालाई आफ्नो घर छोड्न बाध्य पारिएको छ।

उनीहरूमध्ये धेरैले टर्कीमा शरण लिएका थिए। जसमा गत महिना गएको भूकम्पले तहसनहस पारेका क्षेत्रहरू पनि समावेश छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.