सञ्चो छैन अर्थतन्त्रलाई
देशको अर्थतन्त्र खस्किँदो अवस्थामा रहेका बेला आर्थिक क्षेत्रसँग सम्बद्ध संघसंगठनका पदाधिकारी तथा प्रतिनिधि १०० जनालाई हामीले सोध्यौं, ‘के देशको अर्थतन्त्रको अवस्था सञ्चो छ ?’ अधिकांश अर्थात् ९१ प्रतिशतले ‘सञ्चो छैन’ भन्ने जवाफ दिएका छन्। त्यसपछि अर्को प्रश्न गर्यौं, ‘आर्थिक विकासलाई सही ठाउँमा ल्याउन सरकारले के गर्नुपर्छ ?’ उनीहरूको जवाफ अन्नपूर्ण पोस्ट्को आजको अंकमा प्रस्तुत गरिएको छ।
१. ‘सरकार कुर्सीतन्त्रमा व्यस्त’
मनिकरत्न तुलाधार
सबैभन्दा पहिला त स्थायी सरकार हुनुपर्यो। सरकार कति खेर बन्छ अनि ढल्छ भन्ने देशमाको अर्थतन्त्र कसरी अघि बढाउने सुझाव नै के हुनसक्छ र। सरकार कुर्सीतन्त्रमा व्यस्त छ। कसले कुन कुर्सी लिने भन्नेमै सबै जना लुछाचुँडी गर्दैछन्। त्यसैले सरकार स्थिर भई वर्तमान नयाँ व्यवस्था लागू हुनुपर्यो।
२. ‘पुँजी परिचालन हुनुपर्छ’
शुक्रितराज पराजुली
अध्यक्ष, नेपाल कोरोगेटेड बक्स उत्पादक संघ
सरकारले राम्रोसँग बजारमा पुँजी परिचालन गर्नुपर्यो। बढीभन्दा बढी विकासमा लगानी हुने किसिमको बजेट ल्याउनुपर्छ। विकासमा लगानी भए पो त्यही पैसा बजारमा आउँछ। त्यस्तै, सरकारको ध्यान उद्योग सञ्चालनको वातावरण बनाउनतिर लाग्नुपर्छ। अनुदान दिएर वा बैंकबाट सरल कर्जा लिएर जसरी हुन्छ उद्योग सञ्चालन गरी पुँजी परिचालन गर्नुपर्छ।
३. ‘अर्थतन्त्र अस्थिर बन्यो’
गोविन्द ढुंगेल
अध्यक्ष, नेपाल कुरियर सेवा संघ
अर्थतन्त्रमा स्थायित्व हुनुपर्छ। यसका लागि सबैभन्दा पहिले स्थिर सरकार आउन जरुरी छ। महिनैपिच्छे मन्त्री फेरिँदा अर्थतन्त्रमा कसरी स्थायित्व हुन्छ ? निजी क्षेत्रले एउटा सरकारसँग वार्ता गर्छ, काम सुरु गर्ने बेला अर्को सरकार आउँछ। यसले समस्या निम्त्याएको छ। बैंक र सरकारको कुरा बाझिँदा समस्या उत्पन्न भएको छ।
४. ‘निजी क्षेत्रसँग समन्वय गर्नुपर्छ’
प्रकाश पाण्डे
अध्यक्ष, नेपाल शैक्षिक परामर्श संघ
मुख्य कुरा सरकारले निजी क्षेत्रसँग समन्वय गरेर काम गर्नुपर्छ। कानुनको कार्यान्वयन प्रभावकारी रूपमा गर्नुपर्छ। सबैलाई करको दायरामा ल्याउनुपर्छ र दायरामा आएकालाई मात्र सास्ती नदिई दायरा बढाउनुपर्छ। विकास गर्न दूरगामी योजना बनाएर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ। विकास खर्च बढाउनुपर्छ। साधरण खर्चमा मात्र देशको बजेट भ्याउनु भएन।
५. ‘उत्पादनमुखी अर्थतन्त्रमा जानुपर्छ’
रेशमबहादुर पोखरेल
अध्यक्ष, नेपाल निर्यात परिषद्
सरकारले नयाँ नीति निर्माण गर्न आवश्यक छ। त्यसका लागि सबैभन्दा पहिले सरकार स्थिर सरकार हुन जरुरी छ। तरलतालाई सुधार गरी बजारको व्यवस्था गर्नुपर्छ। यो नै अहिलेको अर्थतन्त्रको मुख्य समस्या हो। यसका साथै लगानी गर्ने वातावरण बनाउन जरुरी छ। अर्थतन्त्र सुधार गर्न उत्पादनमुखी अर्थतन्त्रमा जानुपर्छ।
६. ‘बैकिङ नीति नियमावलीमा सुधार आवश्यक’
रन्जितकुमार पोदार
अध्यक्ष, कम्प्युटर एसोसिएसन नेपाल महासंघ
अहिलेको अर्थतन्त्र राम्रो र आर्थिक विकास गर्न बैकिङ नीति, नियमावलीमा सुधार गर्न जरुरी छ। किनभने सबै बैंकको पुस मसान्तसम्मको तथ्यांक हेर्दा सबैभन्दा कम नाफा १७–१८ प्रतिशत छ। व्यापारलाई माथि उठाउन बैंकले नीति परिवर्तन गर्नुपर्छ। बैंक नाफामा मात्र केन्द्रित नभएर देशको परिस्थितिअनुसार ब्याजदर घटाएर सहुलियत दिनुपर्छ।
७. ‘आग्रह÷पूर्वाग्रहमा आयोजनामा लगानी बनाउन भएन’
रवि सिंह
अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ
सरकारले विकास खर्चलाई महत्व दिएर साधारण खर्च घटाउन आवश्यक छ। उत्पादनमुलक क्षेत्रमा वा काममा मात्र राज्यले विशेष लगानी गर्नुपर्छ। प्रतिफल नपाउने क्षेत्रमा लगानी गर्नु भएन। किनभने उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा अल्पकालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्रमा असर पर्छ। त्यस्तै, आग्रहप वा पूर्वाग्रहमा आयोजनामा लगानी बनाउनु भएन।
८. ‘समस्या र समाधान सजिलो छैन’
शेखर गोल्छा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपालको अर्थतन्त्रमा समस्या र समाधान सरल छैन। मुख्य समस्या तरलता हो। लगानीयोग्य रकमको पर्याप्तताले धेरै समस्या समाधान गर्छ। ब्याजदर घट्छ। यसले क्रेडिट फ्लो बढ्छ र बजार चलायमान हुन्छ। त्यसैले ब्याजदर घटाउने उपाय अबलम्बन गरियोस् ताकी कर्जा प्रवाह बढोस्। राष्ट्र बैंकले केही उपाय ल्याउनुपर्छ।
९. ‘गहना निर्यात प्रवद्र्धन गरौं’
मणिकरत्न शाक्य
अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ
अर्थतन्त्रका धेरै परिसूचकले अर्थतन्त्र अस्वस्थ भएको संकेत गर्छन्। बजारमा व्यापार, मान्छेसँग पैसा छैन र बैंकको ब्याजदर उच्च छ। लगानीकर्तामा निराशा व्याप्त छ। त्यसैले अर्थतन्त्रलाई स्वस्थ बनाउन राजनीतिक नेतृत्वले पहलकदमी गर्नुपर्छ। पहिलो नम्बरमा राजनीतिक खिचातानी र कुर्सी दौड प्रतियोगिता अन्त्य गरिनुपर्छ। सुनचाँदी निर्यातलाई सहजीकरण गर्नुपर्छ।
१०. ‘महँगी नियन्त्रण हुनुपर्छ’
सुधीर पराजुली
अध्यक्ष, नेपाल केबल टेलिभिजन महासंघ
महँगी अत्यधिक बढेको छ। यसको कारण हामीले नै हौं। छिमेकी देशले पैसा बाँड्दा मूल्यवृद्धि बढेको हो। हाम्रो मुद्रा र अर्थतन्त्र भारतसँग ‘पेग’ गरेकाले त्यहाँको प्रभाव परेको हो। सरकारले व्यवसाय र जनतालाई आर्थिक सहयोग नगर्दा हामी मूल्यवृद्धिको दबाबमा रहनुपरेको छ। आवश्यक एक्सन चाली समस्या सुल्झाउनुपर्छ।
११. ‘ब्याजदर सस्तो होस्’
शंकरबहादुर चन्द
अध्यक्ष, नेपाल इँटा उद्योग महासंघ
बैंकको ब्याजदर चर्को भएर लगनी गर्न समस्या छ। त्यसैले व्यवसायीलाई सस्तो ब्याजदरमा कर्जा र पुनर्कर्जा उपलब्ध गराइनुपर्छ। ब्याजदर नियन्त्रण गर्नका लागि पहल गर्न सरकारले आवश्यक कदम चाल्नुपर्छ। उत्पादित वस्तुका लागि बिक्रीका लागि सरकारले बजारको ग्यारेन्टीसमेत लिनुपर्छ। सरकारले विकासको कामलाई गति दिएर पुँजीगत खर्च पनि बढाउनुपर्छ।
१२. ‘युवा शक्ति निर्यात बन्द गरौं’ं
प्रचण्ड शाक्य,
अध्यक्ष, नेपाल हस्तकला महासंघ
आर्थिक विकास बढाउन सरकारले लगानी बढाउनुपर्छ। रेमिट्यान्सको लोभमा युवालाई विदेश पठाउनुभन्दा रणनीति परिवर्तन गरी उनीहरूलाई नेपालमै उद्यमी हुने वातावरण बनाउनुपर्छ। वर्ग, लिंक, क्षेत्र लक्षित कार्यक्रमलाई व्यापकता दिनुपर्छ। समग्र व्यवसाय जगतले लाभ पाउने कार्यक्रम ल्याउनुपर्छ। दैनिक ३ हजार युवा विदेसिन्छन्। यसले अझै विकराल समस्या नआउला भन्न सकिन्न।
१३. ‘स्थानीय उत्पादन बढाउनुपर्छ’
भरतराज घिमिरे
अध्यक्ष, भन्सार एजेन्ट महासंघ नेपाल
अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन बैंकको ब्याजदर घटाउनुपर्छ। व्यापार बढ्न नसक्नुको कारण ब्याजदर हो। ब्याजदर घटाएर स्थानीय उत्पादन वृद्धि गर्न जरुरी छ। अर्थतन्त्रलाई गतिमा लैजान सक्ने एक औजार उद्योग हो। आयात गरेर राजस्व बढ्छ होला। तर, अर्थतन्त्र उकासिँदैन। स्थानीय उत्पादन बढाएर निर्यात गर्न सक्नुपर्छ।
१४. ‘उद्योग आत्मनिर्भर भएमात्र देश आत्मनिर्भर बन्छ’
खोमकान्त रेग्मी
अध्यक्ष, नेपाल मुद्रण उद्योग महासंघ
उद्योगलाई आत्मनिर्भर बनाउनुपर्छ। यसका लागि नीतिगत तहमा औद्योगिक विकासको आवश्यकता छ। अनि मात्र देश उत्पादनमा आत्मनिर्भर बन्न सक्छ। उद्योग आत्मनिर्भर बने रोजगारी बढ्छ। नेपाली मुद्रा बिदेसिने क्रमको अन्त्य हुन्छ। पैसा बाहिर जानबाट रोकिनु भनेको अर्थतन्त्र मजबुद बन्नु हो। प्रिन्टिङ व्यवसाय, सिपलाई पाठ्यक्रममै समेटिनुपर्छ।
१५.‘रूख रोप्न उत्प्रेरित गर्नुपर्छ’
मञ्जिलबाबु मास्के
अध्यक्ष, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ
वन पैदावारमा सरकारले निजी क्षेत्रलाई जिम्मेवारी ट्रान्स्फर गर्नुपर्छ। वन निगम बेकामे भएको अवस्थामा निजी क्षेत्रलाई प्रवद्र्धन आवश्यक छ। कर्मचारीलाई वन पैदावार निकासीको टार्गेट दिनुपर्छ। उहाँहरू निःस्वार्थ काम गर्नुपर्छ। प्राकृतिक स्रोतको अधिकतम उपभोग हुनुपर्छ। किसानलाई खाली जग्गामा रूख रोप्न उत्प्रेरित गर्नुपर्छ। रूखजन्य उत्पादनलाई बजारसम्म पुर्याउन रोक्नुहुँदैन।
१६. ‘बजारको ग्यारेन्टी चाहियो’
सुजिल श्रेष्ठ
अध्यक्ष, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ
स्रोतको अधिकतम परिचालन गर्नुपर्छ। देशमा सञ्चालित उद्योग बाँच्ने वातावरण निर्माण गर्नुपर्छ। बैंकको ब्याजदर घट्नुपर्छ। स्थानीय उत्पादन प्रतिपर्धी बनाउन सक्नुपर्छ। बजारको ग्यारेन्टी गर्नुपर्छ। नेपाल सरकारको रोजाइमा स्वदेशी मालवस्तु हुनुपर्छ। विदेशी सामानप्रतिको मोह त्याग्नुपर्छ। नेपाली पैसा नेपालमै बसेपछि अर्थतन्त्र सुध्रिन्छ।
१७. ‘बजारमा पैसा छैन’
विष्णुकुमार अग्रवाल
अध्यक्ष, नेपाल उद्योग परिसंघ
उपभोक्तासँग नयाँ लगानी गर्न र खरिद गर्न मन्दी आएकाले सरकारले माग बढाउनै पर्छ। सहकारी र माइक्रोफाइनान्समा डिजोजिट फसेको छ। अनुत्पादक क्षेत्रमा लगानी नियन्त्रण गर्नुपर्छ। सरकारले लगानी बढ्न सक्ने वातावरण बनाएर बजार चलायमान गराउन जरुरी छ। त्यस्तै, सेयरमा लगानी गर्दा १५० प्रतिशतबाट घटाएर सय प्रतिशत बढाउनुपर्छ।
१८. ‘प्राकृतिक स्रोत उपयोग हुनुपर्छ’
राजेन्द्र मल्ल
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
अर्थतन्त्र चलायनमान राख्न प्राकृतिक स्रोतसाधन उपयोग गर्न ऐन, कानुन बनाउनुपर्छ। उद्योग व्यवसाय चलायनमान बन्नुपर्छ। मुलुकको अर्थतन्त्र संमृद्ध बनाउन, डबल डिजिटको आर्थिक वृद्धि गर्न सिंगल डिजिटमा ब्याजदर हुनुपर्छ। सरकारले कच्चा पदार्थ उपयोगमा जोड दिनुपर्छ। कपडाबाट आम्दानी बढाइ अर्थतन्त्र चलायमान गराउनुपर्छ। उद्योग वृद्धि गर्न नीति आउनुपर्छ।
१९. ‘नीति कार्यान्वयन होस्’
उमेशप्रसाद सिंह
अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ
सरकारले उद्योगलाई प्रोत्साहन गर्न भन्सार, करमा छुट, कर्जामा सहज अवस्था सिर्जना गर्नुपर्छ। बहुराष्ट्रिय कम्पनीलाई भित्र्याउन खोज्छौं। तर, साना उद्योग र ठूला उद्योगलाई समन्वय गर्न ध्यान दिँदैनौं। त्यसैले यसमा ध्यान दिन जरुरी छ। मन्त्रालयलाई दिएको सुझावको परिणाम केही आएन। सार्वजनिक खरिद ऐन पनि कार्यान्वयन हुन सकेन।
२०. ‘नीतिगत सुधार गर्नुपर्छ’
तुलसीराम ढकाल,
अध्यक्ष, नेपाल इन्भेस्टर फोरम
रूस र युक्रेनको युद्धविराम हुन जरुरी छ। नयाँ सरकारले पुँजीगत खर्च गर्नुपर्छ। कृषि उत्पादन बढाएर पर्यटन क्षेत्रलाई ध्यान दिनुपर्छ। सेयर पुँजीमा नीतिगत सुधार गरी १२ करोडको सीमा हटाउनुपर्छ। राष्ट्र बैंकले चाहेमा चलायमान हुन सक्छ। फागुन २५ बाट राजनीति सही ट्रयाकमा आउँछ। लगानीकर्ता आत्तिनुपर्दैन।
२१. ‘ब्याज घट्नै पर्छ’
अशोककुमार श्रेष्ठ
अध्यक्ष, नेपाल हिमालय सीमापार वाणिज्य संघ
अर्थतन्त्र चलायमान हुन बैंकको ब्याजदर घट्नुपर्छ। ब्याजदर ९ प्रतिशतसम्म झार्नैपर्छ। ब्याजदर दोब्बर बढ्दा मार परेको छ। पैसा बजारमा आउनुपर्छ। होटल, रेस्टुरेन्ट, मार्केट, जुत्ता, मलमा व्यापार छैन। सिंगल डिजिटलमा ब्याज हुनैपर्छ। जग्गाजमिन खरिद तथा व्यवस्थापनमा सहज हुनुपर्छ। राज्यले ब्याज घटाउनै पर्छ।
२२. ‘सीप सिकाउनुपर्छ’
राजेन्द्र भण्डारी
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ
नेपालमा रोजगारी सिर्जना गर्न सरकारको ध्यान गएन। लगानीमैत्री वातावरण बनाउन सके रोजगारी बढ्छ। वैदेशिक रोजगारीमा अदक्ष कामदार धेरै गएका छन्। सरकारले सीप सिकाउनुपर्छ। सिप सिकाएर पठाएमा रेमिट्यान्स बढ्छ। अब रेमिट्यान्स उत्पादनमा लगानी गर्नुपर्छ। कृषि उत्पादन र बजारीकरणमा प्रोत्साहनसँगै साना व्यवसायी लक्षित कार्यक्रम ल्याउनुपर्छ।
२३. ‘सरकार अस्थिर हुँदा अर्थतन्त्र माथि उठेन’
सोमप्रसाद धिताल
अध्यक्ष, नेपाल विज्ञापन संघ
आर्थिक विकासलाई सही ठाउँमा ल्याउन सरकार स्थिर हुन जरुरी छ। अस्थिर सरकारका कारण अर्थतन्त्र माथी उठ्न सकेन। स्वदेशी उत्पादनलाई बढावा दिनुपर्यो। आयातलाई घटाउन जरुरी छ। रेमिट्यान्सलाई बैंकिङ प्रणालीमा ल्याउनुपर्छ। उद्योगी, व्यवसायीलाई सहजता दिन बैंकिङ प्रणालीलाई सरल बनाएर व्याजदरमा लचकता अपनाउनुपर्छ। ऋण लिएपछि तिर्नैपर्छ। पन्छिन मिल्दैन।
२४. ‘एयरलाइन्स व्यवसाय धराशायी’
योगराज कँडेल शर्मा
प्रवक्ता, वायु सञ्चालक संघ नेपाल
हामी खाली रेमिट्यान्समा मात्रै भर परेर बस्दा कुनै दिन मुलुक पनि धराशायी हुन्छ। यसो हुँदा कुनै दिन मुलुक श्रीलंका, बंगलादेश नबन्ला भन्न सकिँदैन। पर्यटन क्षेत्र यतिबेला फाइनान्सियल क्रन्चमा छौं। हामी वर्षको ६ महिनाको दुई सिजनमा भर पर्छौं। एकातिर पर्यटकहरू अपेक्षाअनुसार नआएकाले एयरलाइन्सहरूलाई गाह्रो छ। अर्कोतर्फ बैंकबाट कर्जा समयमा नपाउँदा सोचेअनुसारको योजना बनाउन नसकेर कम्पनीहरू धराशायी हुँदै गएका छन्।
२५. ‘डिजिटल सेन्टर हब जरुरी’
सूर्यबहादुर मगर
अध्यक्ष, नेपाल संगीत उद्योग संघ
नेपालको उद्योग, कलकारखाना बन्द गर्ने र सामान आयातमै केन्द्रित भयो। उद्योग कलकारखानालाई पनि राज्यले प्रोत्साहन गरेको देखिँदैन। हामी आत्मनिर्भर हुन नसक्नु पनि हाम्रो विडम्बना हो। अझ संगीत क्षेत्रको अवस्था झनै नाजुक छ। भौतिक बजारबाट जब डिजिटलमा प्रवेश गर्यो। त्यसपछि केही संघ–संस्थाहरूको हातमा डिजिटल पकड पुग्यो।
२६. ‘कच्चापदार्थ मात्रै आयात गर्नुपर्छ’
प्रज्वलजंग पाण्डे
अध्यक्ष, नेपाल औषधि उत्पादक संघ
राष्ट्रिय उद्योगको जगेर्ना गर्नु नै अहिलेको मूल चुनौती हो। अर्थतन्त्र चलायमान रोजगारीका वातावरण स्थापित गर्नैपर्छ। आधारभूत आवश्यकतामा देश आत्मनिर्भर हुनैपर्छ। खाद्यान्न, स्वास्थ्य र शिक्षामा आत्मनिर्भर जरुरी छ। औषधि क्षेत्रमा राष्ट्रिय उद्योगहरूबाट यथेष्ठ मात्रामा औषधि बनेका छन्। विदेशबाट औषधि होइन कच्चापदार्थ मात्रै ल्याउने नीति लिनुपर्छ।
२७. ‘नीतिगत सुधार आवश्यक’
रामबहादुर गुरुङ
अध्यक्ष, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ
संसारभरि अर्थतन्त्र खराब छ। नेपालको झनै खराब। नेपालको अर्थ नीतिको पोलिसी राम्रो छैन। उद्योगधन्दा चलाउने विषयमा सुधार हुनुपर्छ। औद्योगिक नीतिमा सुधार र उद्योगमैत्री वातावरण हुनुपर्छ। गलैंचा निर्यात ५÷६ वर्षदेखि उस्तै छ। विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत कार्पेट निर्यात हो तर अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न गाह्रो छ।
२८. ‘चर्को ब्याजको मारमा व्यापारी’
मृगेन्द्रमेहर श्रेष्ठ
अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ
नेपालको अर्थतन्त्र निकै धराशायी र गाह्रो अवस्थामा छ। बैंकिङ क्षेत्रमा ब्याजमा डबल डिजिट छ। व्यापारका लागि बैंकबाट ऋण पाइँदैन। सामानहरू त्यतिकै महँगो छ। व्यापारीलाई कतैबाट साथ छैन। अर्थ चलायमान नहुँदा मान्छेहरूसँग किनमेलका लागि पैसा छैन। कच्चापदार्थ पाइदैन। महँगीले उद्योगहरू बन्द हुने अवस्थामा छ।
२९. ‘अवैध धनलाई वैधको प्रावधान आवश्यक’
प्रह्लाद दाहाल
अध्यक्ष, नेपाल डेरी एसोसिएसन
आयात बन्द गरेर स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ। लुकाएर राखेको अवैध पैसाका लागि निश्चित कर तिरेपछि वैध हुने प्रावधान बनाएर प्रयोगमा ल्याउनुपर्ने हुन्छ। अनावश्यक खर्च घटाएर उत्पादनमूलक काममा लगाउनुपर्छ। हाम्रो मुलुकमा अनुत्पादक काममा बढी खर्च भइरहेको छ। स्वदेशी मुद्रा बाहिरिन रोकियो भने र अर्थतन्त्र सुधारोन्मुख हुन्छ।
३०. ‘आत्मदाहको अवस्था आउन सक्छ’
राज कार्की
अध्यक्ष, नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ
सानो–सानो अर्थतन्त्रबाट ठूलो बन्ने भएकाले साना व्यवसायी र आर्थिक पहुँच नभएकाका लागि सरकारले विभिन्न खालका अनुदान ल्याउनुपर्छ। त्यस्तै, साना–मझौला व्यवसाय गर्नेलाई सरकारले छिटोभन्दा छिटो आर्थिक समुन्नतका लागि विभिन्न बैंकहरूबाट प्याकेज दिनुपर्छ। अन्यथा धेरै व्यवसायीहरूबाट आत्मदाहका घटना बढेर देश अत्यन्त ठूलो शोकमा डुब्न सक्छ।
३१. कृषि क्षेत्र उपेक्षामा
अम्बिकाप्रसाद अधिकारी
अध्यक्ष, नेपाल मत्स्य व्यवसायी संघ
कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो छैन। कृषि क्षेत्र अगाडि बढ्न नसक्ने हो भने देशको उन्नति हँुदैन। स्वदेशमै उत्पादन गर्न सकियो भने देशको आर्थिक विकासलाई गतिलो टेवा पुग्छ। रोजगारी सिर्जना हुन्छ।
३२. निर्यातलाई बढावा दिनुपर्छ
पशुपतिदेव पाण्डे
अध्यक्ष, नेपाल तयारी पोसाक उद्योग संघ
जनता सक्षम नभइकन अरूको भरमा देश उभो लाग्दैन। नत श्रम निर्यात गरेर मुलुकले फड्को मार्न सक्छ। नेपाली युवालाई श्रममा लगाएर वस्तु उत्पादन गर्दै निर्यात गर्न सके देशको अर्थतन्त्रले कोल्टे फेर्छ। निर्यातमा जोड दिनुपर्छ।
३३ पुष्प नीति कार्यान्वयन गर्नुपर्छ
मीनबहादुर तामाङ
अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल
बैक तथा वित्तीय संस्थाले सहुलियत दिएको छैन। भन्सार तथा नाका ऐन बने पनि कार्यान्वयन पाटो फितलो छ। कृषिजन्य आयात निर्यात पनि सहज छैन। लगानीमैत्री वातावरण बनाउनुपर्छ। पुष्प नीति कार्यान्वयन भएको छैन। यो हुनुपर्यो।
विकासमा एउटै आवाज हुनुपर्छ
३४. धु्रव थापा
अध्यक्ष, नाडा
आर्थिक विकासलाई सही ठाउँमा ल्याउन पहिलो प्राथमिकता त राजनीतिक स्थिरता नै हो। स्थिर सरकार बन्न सकेन। त्यसपछिको कुरा सबै दलहरूको आर्थिक विकासमा एउटै एजेन्डा एउटै आवाज हुनुपर्छ। दीर्घकालीन आर्थिक नीति बनाउनुपर्छ।
क्षेत्रगत विशेषतामा ध्यान दिनुपर्छ
३५. कृष्णप्रसाद आचार्य
अध्यक्ष, इपान
सरकार समयमा सचेत भएन भने अहिले अर्थतन्त्र गाह्रो अवस्थामा पुगेको छ। तत्तकाल राहत दिने काम गर्नुपर्यो। हाम्रो विशेषता भएको क्षेत्रका बारेमा सरकारले थाहा पाउनुपर्यो। सरकारले अर्थतन्त्र करमुखीभन्दा पनि उत्पादनमूखी बनाउनुपर्यो।
निजी क्षेत्रलाई बचाउनुपर्छ
३६. ई. धुव्रराज थापा
अध्यक्ष, नेपाल सिमेन्ट उद्योग संघ
अर्थतन्त्र बिग्रिएको छ र यसलाई सुधार्नु पर्ने भन्ने अठोट हुनपर्यो। विश्व अर्थतन्त्र पनि बिग्रिएको बेलामा हाम्रो अर्थतन्त्रमा नकरात्मक असर परेको त छ। तर, सरकारले आफ्नो अर्थतन्त्र सुधार्न आफ्नो नीति त बनाउन सक्छ नि।
बैंकले ढाड सेके
३७ टीकाराम पोख्रेल
पद ः अध्यक्ष, नेपाल ह्याचरी उद्योग संघ
सरकारले विकास खर्च बढाउनुपर्छ। विकासका नाममा केही छैन। जब विकासका लागि कुनै परियोजनाको सुरुवात हुन्छ फेरि त्यसैमा लडाइँ झगडा सुरु अनि फेरि काम ठप्प हुने अवस्था छ। दुई महिनामा सरकार परिवर्तन हुन थाल्यो।
राजनीति सुध्रिए अर्थतन्त्र सुध्रिन्छ
३८. नरेन्द्रकुमार खड्का
अध्यक्ष, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ
समग्र अर्थतन्त्रमा राष्ट्र बैंकको नीतिका कारण समस्या देखिएको छ। अवस्था सुधार हुने तत्काल कुनै बाटो देखिँदैन। बजार हेर्नुस् सुनसान् छन्। व्यापार छैन। राजनीतिले सही बाटो नलिएका कारण अहिले अर्थतन्त्रको समस्या आएको हो।
अर्थतन्त्रमा ध्यान दिनुपर्छ
३९. देवी खतिवडा
अध्यक्ष, नेपाल सुपारी उत्पादक तथा व्यावसायी संघ
आयातलाई प्रतिस्थापन गर्ने निर्यातलाई प्राथमिकता दिने हो भने देशको अर्थतन्त्र सुधारोन्मुखतर्पm जान्छ। नेपाल डब्लूटीओको सदस्य राष्ट्र हो। मुलुक सुहाउँदो अर्थतन्त्र ल्याउन आधारभूत कुरामा प्राथमिकता दिनुपर्छ।
घरजग्गा र रेमिट्यान्सलाई बुझौं
४०. इच्छाबहादुर वाग्ले
अध्यक्ष, नेपाल जग्गा तथा आवास विकास संघ
अहिलेको आर्थिक विकासलाई हेर्दा १५–२० वर्ष यस्तै हुने सम्भावना छ। यो बीचमा उद्योगको कुरामा प्रगति जिरो छ। हाम्रो अर्थतन्त्र भनेको रेमिट्यान्स र घरजग्गाले थामेको छ। सरकारले यो बुभ्mनुपर्छ।
पहिले आधारभूत सेवा दिनुपर्छ
४१. श्रीराम अधिकारी
अध्यक्ष, नेपाल लघुविद्युत् विकास संघ
देशको जुन ठाउँमा बिजुली, खानेपानी, बाटो जस्ता आधारभूत कुराको सेवा सुविधा छैन। त्यस्ता स्थानमा सेवा पुर्याउन सरकारले ध्यान दिनुपर्छ। ऊर्जा मन्त्रालयले बजेटको बाँडफाँड गर्दा बढीभन्दा बढी बजेट त्यस्ता स्थानमा लैजानुपर्छ। सरकारको अनुदान अति आवश्यक हुने क्षेत्रमा बढाउनुपर्यो।
सरकारले बेस रेट घटाउनुपर्छ
४२. आकाश अधिकारी
निवर्तमान अध्यक्ष, नेपाल चलचित्र निर्माता संघ
कोभिडपछि विश्वले पनि २०२५ सम्म संक्रमण आउँछ भनेर आह्वान गरेको थियो। कोभिडपछि भित्रिएका रेमिट्यान्सको सही र सिस्टमेटिक रूपमा प्रयोग भएको छैन। पर्यटनको स्रोतलाई खुलेर स्वागत भएको छैन।
राष्ट्रिय कार्यनीति बनाउनुपर्छ
४३. विनायक शाह
उपाध्यक्ष, होटल संघ नेपाल
सरकार मात्र नभई सबै सरोकारवाला निकायहरूबीच अर्थतन्त्र सुधार्न तथा आर्थिक विकासका लागि गहन छलफल हुन जरुरी छ। सरकार मात्रले चाहेर अर्थतन्त्र सुध्रिदैन पनि र आर्थिक विकास पनि हुँदैन। अब बजेट बनाउँदा सरकार र सरोकारवाला निकायहरू मिलि राष्ट्रिय कार्यनीति बनाउन जरुरी छ।
क्रय शक्ति घट्दैछ
४४. कमलराज अधिकारी
अध्यक्ष, नेपाल पाउरोटी उद्योग संघ
सरकारले उत्पादन क्षेत्रमा लगानी गर्न सकेको छैन। देशको अर्थतन्त्र ध्वस्त छ। बजारमा पैसा नै आएको छैन। जनताले काम पाएका छैनन्। क्रय शक्ति घट्दो छ। व्यवसायीको लगानी उठ्न नै गाह्रो छ।
आर्थिक नीति मजबुत बनाऔं
४५. लिलेन्द्रप्रसाद प्रधान
अध्यक्ष, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन
देशको अर्थतन्त्र निकै अस्वस्थ छ। सरकारको आर्थिक नीति चलायमान हुनुपर्छ। सरकारको ढुकुटीमा भएको पैसा बजारमा नआउँदासम्म देशको अर्थतन्त्र चलायमान हँुदैन। विकास बजेट खर्च हुन सकेको छैन। आर्थिक नीति ठीक भयो भने राजनीति पनि ठीक देखिन्छ।
उत्पादनमुखी वातावरण चाहियो
४६. शरद शर्मा
अध्यक्ष, नेपाल प्लास्टिक उत्पादक संघ
अपवाद बाहेक देशभरका सबै व्यवसायी ऋणमा छन्। बजारमा पैसा छैन। स्थानीय सरकार सक्रिय छैन। दलीय स्वार्थमै सरकार अड्केको छ। उद्योगहरूले सामान उत्पादन गरेर बजारमा पठाउन सकेका छैनन्। उत्पादनमुखी वातावरण बन्यो भने अर्थतन्त्र लयमा फर्कन सक्ला।
लगानी मैत्री नीति आवश्यक
४७. प्रमोदकुमार चौधरी
पूर्वअध्यक्ष, नेपाल प्लाइउड उत्पादक संघ
अर्थतन्त्र स्वस्थ छैन। व्यवसायीलाई निकै गाह्रो छ। बैंकको ऋण निकै चर्को छ। किस्ता बुझाउन नसकेर धेरै व्यवसायीले आत्महत्या समेत गरे। कोही पलायन भएर भागेका छन्। सरकारको आर्थिक नीति व्यवसायीमैत्री कहिल्यै भएन। आर्थिक निती लगानीमैत्री हुनुपर्छ।
ब्याजमा नियमन गर्नुपर्छ
४८ . इन्द्रबहादुर महर्जन
अध्यक्ष, नेपाल मुद्रण उद्योग संघ
अर्थतन्त्र डामाडोल छ। सरकारको ढुकुटीमा भएको पैसा बजारमा आएकै छैन। बजारमा पैसा नभएपछि किनबेच ठप्प प्रायः छ। सबै व्यवसाय धराशायी छ। बैंकको ब्याज निकै चर्को छ। सरकारले व्यवसायीसँग छलफल गरेर बैंकहरूको ब्याजदर नियमन गर्नुपर्छ।
अर्थतन्त्र बिग्रेको देखावटी मात्र
४९. नीलहरि बास्तोला
अध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल
सरकारले व्यवसायीलाई मागअनुसार आपूर्ति गर्न नसक्नु राज्यको कमजोरी हो। व्यवसायीले बैंकमा पैसा राखेर कमाउने होइन, कर्जा लिएर उत्पादनमूलक क्षेत्रमा लगानी गरेर कमाउने हो। अर्थतन्त्र हिजोको भन्दा बिग्रेको भन्नु देखावटी मात्र हो।
‘क्याप’ हटाउनुपर्छ
५०. धर्मराज सापकोटा
अध्यक्ष, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल
सरकारले अर्थतन्त्र चलायमान बनाउने उपाय केके हुन्छ, त्यो कोणबाट लचिलो हुनुपर्छ। अर्थतन्त्र बगिरहेको पानी रोकिएको झैं भएको छ। त्यसलाई चल्न दिनुपर्छ। चलिरहेको गतिविधि निरन्तरता दिनुपर्छ। नचलेको गतिविधि कसरी चलाउन सकिन्छ सोच्नुपर्छ।
आर्थिक मन्दी घटाऔं
५१. भवानी राणा
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अहिले वित्तीय क्षेत्रमा आएको समस्या आर्थिक मन्दीको कारणले गर्दा हो। मन्दीले अहिले निजी क्षेत्र अप्ठ्यारोमा परेको छ। आर्थिक मन्दीबाट माथि उठ्नका लागि सरकारले निजी क्षेत्रसँग छलफल गर्नपर्यो। तर, सरकारले निजी क्षेत्रसँग छलफल गरेर लिएको सुझावलाई कार्यान्वयन गर्नुपर्छ।
व्यवसायीको कुरा सुन्नुपर्छ
५२. कमला श्रेष्ठ
अध्यक्ष, सौन्दर्य कला व्यवसायी संघ नेपाल
आर्थिक विकास सही ठाउँमा ल्याउन सरकार नै स्थिर हुनुपर्यो। साना मझौला व्यवसायीहरू सबै धरासायी भए। ऋण लिन खोज्यो बैंकमा पैसा छैन भन्छ। ब्याजको दर आकाश छोइसक्यो। यसैले सरकारले उनीहरूको हितमा पहल गर्दिनु पर्यो।
सुशासनमा कमी
५३. ई. कुमार भट्टराई
अध्यक्ष, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल
कानुनहरू एकदम जटिल भयो। ब्युरोक्रेसीका कारण काममा ढिलासुस्ती र जटिलता छ। सुशासनमा कमी देखिन्छ। यसले गर्दा आर्थिक विकासका लागि केही कदम चाले पनि यसलाई कार्यान्वयनमा ल्याउन लामो समय लागेकाले सुधार आउन सकेको छैन।
विकासमा केन्द्रित हुन जरुरी
५४. सुनील केसी
अध्यक्ष, नेपाल बैंकर्स संघ
नेपालको अर्थतन्त्र ठीकै मात्रामा स्वस्थ छ। सरकारले सबै एजेन्डालाई छोडेर आर्थिक विकासलाई मात्रै राखेर जानुपर्यो। नेपालको अर्थतन्त्र आयातमै निर्भर भएकाले यसलाई घटाउन नेपाल भित्रै सम्भावना भएको ऊर्जा, कृषि, पर्यटन जस्ता वास्तविक क्षेत्रमा सरकार केन्द्रित हुन जरुरी छ।
विकास खर्च क्षमता बढाउनु पर्यो
५५. बोधराज देवकोटा
सचिव, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल
नेपालको अर्थतन्त्र ठीकै मात्रामा स्वस्थ छ। राज्यले विकास निर्माणका काममा खर्च बढाइ दिनुपर्यो। यसोगर्दा आर्थिक क्रियाकलाप बढ्छ। पछिल्ला दिनमा सरकार, नेपाल राष्ट्र बैंकले दिएको कसिलो मौद्रिक नीतिका कारण वाह्य क्षेत्र सन्तुलन हँुदै गएको छ।
बैंक पर्ख र हेरको अवस्थामा
५६. सरोजकाजी तुलाधर
अध्यक्ष, नेपाल वित्तिय संस्था संघ
आर्थिक विकासलाई सहि ठाउँमा ल्याउन स्थिर सरकार हुन जरुरी छ। नेपालमा प्राथमिकता नै राजनीतिमा भयो, अर्थतन्त्रमा भएन। जबसम्म अर्थतन्त्रलाई प्राथमितामा राखेर राजनीति गरिँदैन तबसम्म देशले कायापलट गर्न सक्दैन र अर्थतन्त्र पनि बलियो हँुदैन।
ऋणी अनुसाशित हुनुपर्छ
५७. प्रकाश शर्मा
अध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ
नेपालको अर्थतन्त्र स्वस्थ छैन। समग्रमा वित्तीय पहुँच र अनुशासन हुन जरुरी छ। कर्जा लिनेले अनुसाशन कायम गर्न जरुरी छ। सरकारको तर्फबाट उत्पादनका साधन मल, बीउ, सिंचाई सहज रूपमा उपलब्धको व्यवस्था गरिदिनुपर्छ।
उत्पादन बढाऔं
५८. पवन गोल्यान
अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल
जबसम्म उत्पादन बढ्दैन, तबसम्म उत्पादनमूलक क्षेत्र चलायमान हुँदैन। दिगो विकासका लागि कृषि र वन, ऊर्जा, पर्यटन, आयात प्रतिस्थापन उद्योग र निर्यातमूलक उद्योग गरी कुल ४ क्षेत्रमा प्रगति हुनुपर्छ। यी क्षेत्रका लागि वातावरण र पूर्वाधार निर्माण विकासको आधार हो।
राजनीतिक स्थायित्व भएन
५९.बद्री केसी
अध्यक्ष, नेपाल गैरआवसीय नेपाली संघ
राजनीतिक स्थायित्व नभएकाले विश्वास छैन। देशभित्र र बाहिर बसेका नेपालीलाई राज्यप्रति विश्वास भएन। विश्वास नहुँदा आर्थिक समृद्धि हुँदैन। त्यसकारण राजनीतिक स्थायित्व पहिलो कुरा हो। सरकारले आर्थिक विकास गर्न नीति बनाउनुपर्छ। कडाइका साथ कार्यान्वयन गर्नुपर्छ।
कृषिमा आमूल परिवर्तन आवश्यक
६०. अमुलकाजी तुलाधर
महासचिव, नेपाल खुद्रा व्यापार संघ
सरकारले केही नगरेकाले युवाहरू विदेश जानुपरेको छ। गर्न खोज्दा झन्झट छ। कलकारखाना चलाउने, उद्योग खोल्ने वातावरण तयार गर्नुपर्छ। तर, यहाँ भएका चिज विदेशको हातमा पुग्यो। सरकारले ठोस नीति बनाएर हामीलाई चाहिने अत्यावश्यक वस्तु उत्पादन गरौं।
सहकारीको भूमिका बढाउनुपर्छ
६१.मिनराज कँडेल
अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ
उत्पादन वृद्धि गर्नुपर्छ। आयात कम गर्नुपर्छ। रोजगारी सिर्जनामा ध्यान दिनुपर्छ। ती क्षेत्रमा सहकारीको भूमिका बढाउन राज्यले सहयोग गर्नुपर्छ। सहकारीले आफै पनि रोजगारी र उत्पादनमा ध्यान दिन सक्छ। राज्यले सहकारीलाई जोड्ने वातावरण बनाउनुपर्छ।
साना व्यवसायीलाई प्राथमिकतामा राखौं
६२, नरेश कँडेल
अध्यक्ष, बागलुङ उद्योग वाणिज्य संघ
राज्यको चिन्ता र माया गर्ने तल्लो तहका नागरिकहरूसँग स्रोत र साधन नभएर उत्पादनमा जोडिन सकेका छैनन्। साना व्यवसायीहरूलाई उत्पादनसँग जोडेर आयातलाई प्रतिस्थापन गर्नुपर्छ। नेपाल कुखुराको मासुमा आत्मनिर्भर भएको छ। यस्तै उत्पादन बढाएर दैनिक उपभोग्य वस्तुहरूमा आत्मनिर्भर हुनुपर्छ।
अनावश्यक कर हटाउनुपर्छ
६३ रमेश रसाइली
अध्यक्ष, त्रियुगा उद्योग वाणिज्य संघ
पहिलो कुरा त स्थिर सरकार र राजनीतिक स्थायित्व नै हो। त्यसपछि निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सरकारले बनाउनु पर्छ। धेरै व्यापारीहरू लगानी गर्न तयार छन्। तर, सरकारले उनीहरूको व्यापार, व्यवसाय, कलकारखानाको सुरक्षाको प्रत्याभूति गर्न सकिरहेको छैन।
निर्यातमा जोड दिनुपर्छ
६४, राजेन्द्र राउत
अध्यक्ष, उदयपुर उद्योग वाणिज्य संघ कटारी
राजनीतिक समस्या नै मुलुकको आर्थिक समस्या हो। राज्यले नीति बनाउने र कार्यान्वयन नगर्ने परिपाटीकै कारण मुलुकमा समस्या उब्जिएको हो। बैंकहरूले यतिका धेरै ब्याजदर बढाउँदासमेत सरकार मुकदर्शक छ। कृषिदेखि लिएर अन्य सामग्री उत्पादनमा जोड दिने गरी सरकारले नीति बनाउनु पर्छ।
जथाभावी लगानी रोक्नुपर्छ
६५, हस्तबहादुर बम,
अध्यक्ष, च्याम्बर अफ कमर्स, कालीकोट
सुरुमा त बैंक तथा बित्तिय संस्थाहरूले व्यवसायीहरूसँग ७ प्रतिशतले सम्झौता गरेको अहिले १४ प्रतिशतसम्म लिने गरेको ब्याजदर घटाउन सरकारले उचित कदम चाल्नुपर्छ। बंैकहरूले लगानीका नाममा जथाभाबी गरेको लगानीलाई असुलउपर गर्नुपर्छ। त्यस्तो लगानी रोक्नुपर्छ।
रोजगारी दिनुपर्छ
६६, दीपक शाही
उपाध्यक्ष, मेडिकल व्यवसायी संघ कालीकोट
सरकारले नेपालका युवाहरूलाई स्वरोजगार बनाउने नीति तथा कार्यक्रमहरू ल्याउनुपर्छ। जबसम्म सरकार रेमिट्यान्सको भरमा पर्छ, तबसम्म यो मुलुकको अर्थतन्त्र सुधार गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन। सरकारले युवाहरूलाई पर्याप्त रोजगारी सिर्जना गर्न सकिरहेको अवस्था छैन। पहिलो कुरा नै रोजगारी हो।
महँगी नियन्त्रण गर्नुपर्छ
६७, मनराज सिम्खडा
पूर्वसदस्य, पर्यटन पुनर्उत्थान समिति, कर्णाली प्रदेश
सरकारले अहिलेको अर्थतन्त्रलाई सुधार गर्न आयात कम, निर्यात बढी गर्ने कुरामा जोड दिनुपर्छ। निर्यातमा भन्सार कम लगाउने र आयातमा भन्सार बढी लगाउनुपर्छ। स्थानिय व्यवसायीहरूलाई सहुलियतमा लगानी गर्ने वातावरण बनाउनुपर्छ।
भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ
६८, जनकबहादुर शाही
अध्यक्ष, होटल व्यवसायी संघ, कालीकोट
सरकारले सर्वप्रथम त अर्थमन्त्री विषय विज्ञ नियुक्ति गर्नुपर्छ। अर्थमन्त्रीहरू बिचौलियाको आदेशमा चल्नु भएन। भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल छ। साना माछा छोप्ने, ठुला माछाको संरक्षण गर्ने सरकारी संयन्त्रहरू सुध्रिनुपर्छ। भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने कानुन बनाउनुपर्छ।
उत्पादनमुखी नीति लिनुपर्छ
६९, कृष्णकुमार श्रेष्ठ
अध्यक्ष, गोरखा उद्योग वाणिज्य संघ
उद्योगहरू धमाधम बन्द भइरहेका छन्। व्यवसायीहरू पनि व्यवसायबाट हात धुने स्थितिमा पुगेका छन्। आर्थिक क्रियाकलाप तहसनहस भएको छ। अधिकतम कच्चापदार्थ आउने युक्रेन युद्धले ग्रस्त छ। जसले गर्दा स्वदेशी उद्योग र उत्पादन पनि धराशायी हुँदैछन्।
सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ
७०, भाइचन्द्र श्रेष्ठ
अध्यक्ष, गोरखा च्याम्बर अफ कमर्स
कोभिड र रूस, युक्रेन युद्धले गर्दा देशको अर्थतन्त्र एकदम नाजुक अवस्थामा छ। तर, बैंक, वित्तीय संस्थाहरू नाफामा गएका छन्। आयात आकासिएको छ तर निर्यात ज्यादै न्यून छ। सरकारले सुरक्षाको प्रत्याभूति दिलाएर बाह्य लगानीकर्तालाई पनि भिœयाउनुपर्छ।
लगानी भिœयाउन पहल गर्नुपर्छ
७१, भोला मरहट्टा,
महासचिव, निर्माण व्यवसायी संघ गोरखा
बजारमा मात्र होइन, अहिले राज्य कोषमा पनि पैसा छैन। त्यसैले काम सम्पन्न गरेका निर्माण व्यवसायीलाई पनि राज्यले भुक्तानी दिन सकेको छैन। राज्य कोषमा पैसा ल्याउन विदेशी अनुदान, ऋण तथा वैदेशिक लगानी भिœयाउन पहल गर्नुपर्छ।
निजी क्षेत्र उकास्नुपर्छ
७२, टीकाराज ढकाल, अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ, कोसी प्रदेश
राष्ट्र बैंकको गलत नीतिको कारण निजी क्षेत्र अहिले धरायशी बन्दै गइरहेको छ। बैंकले ६÷७ प्रतिशतमा दिएको ब्याजदर बढाएर १५÷१६ पुर्याउँदा अहिले व्यवसायीहरूले अन्य विकल्पको साटो आत्महत्याको बाटो रोज्नु निजी क्षेत्रका लागि अत्यन्तै दुःखद् कुरा हो।
औद्योगिक नीति सच्याउनुपर्छ
७३, यमबहादुर श्रेष्ठ
अध्यक्ष, झापा उद्योग संघ
आर्थिक मन्दी चौपट हुनुको मुख्य कारण देशमा बढ्दो भ्रष्टाचार हो। सरकारले पहिले भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ। कम्तीमा देशको पैसा देशमा त चलायमान हुनुपर्छ नि। सरकारले खराब आर्थिक र औद्योगिक नीति नसच्याएसम्म देशको अर्थतन्त्र सुधत्रार हुने वाला छैन।
मन्दीप्रति सरकारले चासो दिनुपर्छ
७४, आदित्य पराजुली
उपाध्यक्ष, नेपाल चिया उत्पादक संघ
नेपाली बजारमा पैसा चलायमान नहुँदा यसको असर निजी क्षेत्रसँगै चिया क्षेत्रमा पनि परेको छ। मान्छेसँग पैसा छैन। बैंकको ब्याजदर १६ देखि १७ प्रतिशत पुगिसकेको छ। पैसा अभावले नेपाली जनताले चिया किन्न छाडिसकेका छन्। सरकारले मन्दीमा चासो दिनुपर्छ।
सही ठाउँमा लगानी आवश्यक
७५, पोमनारायण श्रेष्ठ
अध्यक्ष, पोखरा पर्यटनपरिषद्
आर्थिक विकासलाई सही ठाउँमा ल्याउन सरकारले सबैभन्दा पहिले विदेशी पर्यटक भिœयाउने योजनासहित प्रवद्धनका कार्यक्रम गर्नुपर्यो। भूकम्प र कोरोनापछि सुस्ताएको पर्यटन उद्योगले अझै गति लिन सकेको छैन। नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान बढाउनु पर्यो।
व्यवसाय मैत्री वातावरण बनाउनुपर्यो
७६, नरेश भट्टराई
अध्यक्ष, रेवान पोखरा
आर्थिक विकासलाई सहि ठाउँमा ल्याउन सरकारले सञ्चालनमा रहेका उद्योगलाई आर्थिक संकटको समयमा साथ र सहयोग गर्दै ब्याजदर घटाउने र सस्टेन हुने गरी करमा छुट दिनुपर्यो। नयाँ उद्योग खोल्न त्यही अनुसारको सेवा र सुविधा दिनुपर्यो।
पर्यटन उद्योगलाई सुविधा दिनुपर्छ
७७, धर्म पन्थी
अध्यक्ष, टान गण्डकी
आर्थिक विकासलाई सही ठाउँमा ल्याउन सबै भन्दा पहिले सरकार सिस्टममा चल्नुपर्यो। प्रथामिकताका आधारमा सही ठाउँमा लगानी गर्नुपर्यो। नयाँ उद्योग व्यवसायलाई आकर्षण गर्न सहुलियत दरमा ऋण र करमा छुटको व्यवस्था गर्नुपर्यो।
सहुलियत दरमा ऋण दिनुपर्छ
७८, हरिराम अधिकारी,
अध्यक्ष, नाटा गण्डकी
आर्थिक विकासलाई सहि ठाउँमा ल्याउन सरकराले सबैभन्दा पहिले युवालाई विदेश बिक्री गरेर रेमिट्यान्सका भरमा देश विकास र समृद्धि गर्छु भन्ने सोचमा परिवर्तन गरेर उत्पादनमूलक उद्योग खोल्नुपर्यो। यसका लागि सबैभन्दा पहिले देश सिस्टममा चलाउनुपर्यो।
यातायात प्रबद्र्धनको नीति चाहिन्छ
७९, मनोज साह
अध्यक्ष, माँ जानकी जनकपुर यातायात प्रालि
भारतसँग हामी यातायात व्यवसायीहरूले प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता छ। त्यसका लागि डिजेलमा सबसीडी सरकारले उपलब्ध गराउनु आवश्यक छ। त्यसैगरी गाडीहरूको पार्टपुर्जाहरूमा समेत सबसिडि उपलब्ध गराउनु पर्छ। यसको नीति चाहिन्छ।
सहुलियतमा कर्जा उपलब्ध गराउनुपर्छ
८०, सुरेन्द्र भण्डारी
अध्यक्ष, जनकपुर होटेल तथा पर्यटन व्यवसायी संघ
हाम्रो देशको अर्थतन्त्र वैदेशिक रोजगारबाट चलेको रेमिट्यान्स र पर्यटन उद्योगले धानेको छ। तर, पर्यटन र होटल व्यवसायीको हालत देशमा निकै खराब छ। बैंकको चर्को ब्याजदरको मारमा हामी पर्यटन व्यवयासीहरू छौं। सरकारले सहुलियतमा कर्जा दिनुपर्छ।
व्यापारीमैत्री नीति आवश्यक
८१, विजय साह
अध्यक्ष, जनकपुर चेम्बर अफ कमर्स
व्यापारीक दृष्टिकोणमा वर्तमान सरकारले धेरै ठाउँमा काम गर्नुपर्छ। अहिले व्यापारीहरूमाथि धेरै आघात भइरहेको छ। जुन सरकारले नै गरिरहेको जस्तो पनि मलाई लाग्छ। व्यापारीलाई नेपाल सरकारले कुनै पनि सहुलियत दिइराखेको छैन। व्यापारीमैत्री नीति सरकारले ल्याउनुपर्छ।
ब्याजदर घटाउनुपर्छ गराउनुपर्छ
८२, सत्यनारायण साह
अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, धनुषा
सर्वप्रथम सरकारले बैंकको ब्याजदर न्यूनीकरण गराउन पहल गर्नुपर्यो। अहिले व्यापारीले व्यापार गर्ने अवस्थानै छैन। हामी औषधि व्यवसायीहरूले पसलको भाडा तिर्न समेत धौं धौं परिरहेको अवस्था छ। व्यापार व्यवसाय धारासायी भएको छ।
नीति स्पष्ट हुनुपर्छ
८३, खोजराज कट्वाल
अध्यक्ष, नेपाल कृषि मेसिनरी व्यवसायी संघ
देशको अर्थतन्त्रलाई सुधार गर्न राज्यले उत्पादन नीति र आयात नीति स्पष्ट बनाउनुपर्छ। उत्पादन गर्ने र आयात गर्नेलाई पनि एउटै नीति बनाउनु हुँदैन। राज्यको कर र भ्याट पनि एउटै बनाएर हुँदैन। उत्पादन र आयात नीति फरक बनाउनुपर्छ।
भन्सार प्रणालीलाई चुस्त चाहिन्छ
८४, शिव अधिकारी
अध्यक्ष, नारा
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न संरचनात्मक परिर्वतन जरुरी छ। खर्चको समुचित प्रयोग बढाउने र अनावश्यक खर्च कटौती गर्नुपर्छ। राजस्व वृद्धिका लागि उत्पादन बढाउनुपर्छ। भन्सार प्रणालीलाई चुस्त बनाउनु आवश्यक छ। मितव्ययितालाई निर्ममतापूर्वक लागू गर्नुपर्र्छ।
बजेट समयमै कार्यान्वयन गर्नुपर्छ
८५, रमेश थापा
अध्यक्ष, नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स
सरकारले वास्तविकताको आधारमा बजेट ल्याउनुपर्छ। त्यो बजेट समयमै कार्यान्वयन गर्नु जरुरी छ। प्रदेशहरूको बजेट खर्च हुन नसक्नु नै अर्थतन्त्रको समस्या हो। साना व्यवसायी र स्वरोजगारी सिर्जना गर्ने साना उद्योगको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्छ।
आर्थिक अवस्था सुधार्नुपर्छ
८६, विकास अग्रवाल,
अध्यक्ष, दाङ चेम्बर अफ कमर्स
आर्थिक विकास त सरकारको प्रमुख लक्ष्यहरूमध्ये एक हो। सरकारले विभिन्न क्षेत्रहरूमा विशेष गरी जनसाधारणको आर्थिक अवस्था सुधार्न र देशको आर्थिक विकास गतिशील बनाउन कोसिस गर्नुपर्छ। यसलाई सरकारले कडा नियन्त्रण र नीति–निर्धारण गरेर सम्पन्न गर्नुपर्छ।
व्यवसायी मैत्री कर नीति चाहिन्छ
८७, विनिल केसी
महासचिव, तुलसीपुर उद्योग वाणिज्य संघ
देशभित्रको आन्तरिक उत्पादनका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू यथाशीघ्र लागू गर्नुपर्छ। कृषि उत्पादनका लागी मूल्य शृंखला र समर्थन नीति हुनुपर्छ। विकास बजेट खर्च दु्रत गतिमा कायम हुनपर्छ।
आयात घटाउनुपर्छ
८८, टंकप्रसाद पोखरेल
अध्यक्ष, नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेश
आर्थिक अवस्था दयनीय छ। नागरिकहरू त्यसबाट प्रताडित छन्। मूल्य निकै बढेको छ। गरिब विपन्नले थेग्ने अवस्था छैन। यही समयमा राजनीतिक अस्थिरता छ। सरकारले जनताको समस्या सुनेको छैन। कृषि उत्पादन बढाउने, त्यसको बजारीकरणमा विशेष ध्यान दिनुपर्छ।
नेता एकै ठाउँमा उभिनुपर्छ
८९, मनोज पौडेल
सचिव, पाल्पा ढाका संघ
नेपालका जंगलमा अर्बाैं रुपैयाँका काठ कुहिएको छ। तर, वनजंगल जोगाउने नाममा विदेशबाट काठ आयात गर्ने निती तत्काल सुधार गरेर स्वदेशी काठ प्रयोगमा ल्याउनुपर्छ। पहाडी क्षेत्रमा बाँझिदै गएका जमिनमा निजी वनको अवधारणा ल्याई बिक्री खुला गर्नुपर्छ। यो विषयमा नेता एक हुनुपर्छ।
प्रदेशले भार थोपर्यो
९०, दीपेन्द्र रावल, उपाध्यक्ष
मलवारा मदिरा व्यवसायी संघ, टीकापुर
स्थिर सरकार नहुँदा यो आर्थिक मन्दी आएको हो। यसको दीर्घकालीन समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेश संरचना खारेज गरिनुपर्छ। प्रदेश संरचनाका कारण हामीले थप कर तिर्नु परिरहेको छ। देशमा रहेका पुराना कलकारखानाहरूलाई आधुनिकीकरण गर्दै सञ्चालन गर्नुपर्छ।
जलविद्युत् उत्पादनमा बढाउनुपर्छ
९१, सुरेन्द्रकिशोर गिरी
सचिव, किराना व्यवसायी संघ, टीकापुर
विकास र समृद्धिको मुख्य कडी राजनीति हो। राजनीतिक स्थिरता र स्वतन्त्रता बिना विकास समावेशी र सबल हुनै सक्दैन। सरकारले उद्योगहरूलाई प्रोत्साहन गरी रोजगारी सिर्जना गर्नुपर्यो। जलविद्युत् उत्पादन र निर्यातमा पहल गर्नुपर्छ।
मूल्यवृद्धि घटाउनुपर्यो
९२, टेकबहादुर मल्ल
अध्यक्ष, निर्माण व्यवसायी संघ, कैलाली
अहिले सबैभन्दा बढी समस्या भनेको नगद प्रवाहीकरण नहुनु र मूल्यवृद्धि हुनु हो। निर्माण व्यवसायीहरूले आफूले गरेको सम्झौताको दोब्बर मूल्यमा सामान किन्नु परेको छ। अझ गरेको कामको पनि भुक्तानी छैन। त्यसैले सरकारले पहिले मूल्यवृद्धि घटाउनुपर्यो।
भ्रष्टाचार रोक्नुपर्यो
९३, युवराज पोखरेल
सह कोषाध्यक्ष, मदिरा व्यवसायी संघ, कैलाली
सरकारले सबैभन्दा पहिला आफ्नो देशको उत्पादन बढाउनुपर्छ। अहिले हामी आयातमुखी अर्थतन्त्रमा छौं। गौरीफन्टा नाकाबाट कुनै सामान आएन भने हाम्रोमा हाहाकार मच्चिन्छ। सरकारले आत्मनिर्भर हुने योजना बनाउनुपर्यो। अर्को कुरा सरकारले भ्रष्टाचार रोक्नुपर्यो।
प्रोत्सानको नीति ल्याउनुपर्छ
९४, सुशील पाण्डेय
अध्यक्ष ,चेम्बर अफ कमर्स महेन्द्रनगर
नेपालमा बिदेशी लगानी भिœयाउनुपर्छ। पर्यटन व्यवसाय र कृषिमा विशेष जोड दिनुर्पछ। निर्यातमा प्रोत्सानको निति ल्याउनु जरुरी छ। वैदेशिक मुद्रा भिœयाउन नेपालमा लुकेका पर्यटकीय स्थललाई विशेष नीतिका साथ प्रचार प्रसारमा जोड दिनुपर्छ।
पर्यटनका लागि नयाँ अवधारणा चाहिन्छ
९५, उमा भण्डारी
अध्यक्ष, महिला पर्यटन व्यवसायी मञ्च, पोखरा
कोभिडको कारण थलिएको पर्यटन व्यवसाय केही हदसम्म उठ्न थाले पनि देशको अर्थतन्त्रको बिग्रँदो स्थितिका कारण चलायमान हुन अहिले पनि गाह्रो भइरहेको अवस्था छ। जबसम्म स्थायी सरकार बन्दैन, अर्थतन्त्रमा सुधार आउन सक्दैन।
लगानी गर्ने वातावरण चाहिन्छ
९६, गोपाल भट्टराई,
उपाध्यक्ष, चेम्बर अफ कमर्स, चितवन
बिग्रेको अवस्थालाई सुधार गर्न नेपाललाई आफ्नो कर्मथलो बनाएर ब्यापार गरेर देशलाई माया गर्ने उद्यमीहरूको गिरेको मनोबललाई सरकारले सम्बोधन गर्नुपर्छ। व्यवसायीलाई केबल दुहुनो गाई मात्र सोच्ने गर्दा अर्थतन्त्रमा यो अवस्था आएको हो। सरकारले लगानी गर्ने प्रबन्ध मिलाउन पर्छ।
राहत प्याकेज ल्याउनुपर्छ
९७, त्रिलोचन कँडेल
सचिव, नेपाल पोल्ट्री महासंघ
स्वदेशी माग धान्न सक्ने गरी उत्पादन भएका उत्पादनको आयातमा केही समय प्रतिबन्ध गरी स्वदेशी उत्पादनको प्रयोगलाई अनिवार्य गर्नुपर्छ। कोभिडको कारण रुग्ण बनेका उद्योगहरूलाई जीवन्त राख्न सहयोग पुग्ने गरी राहत प्याकेज योजना ल्याउनुपर्छ। अनौपचारिक आयातलाई कडाइका साथ रोक्नुपर्छ।
निर्यातमा सुधार आवश्यक
९८, चुननारायण श्रेष्ठ
अध्यक्ष, उद्योग वाणिज्य संघ, चितवन
कोभिड महामारीदेखि थलिएको अर्थतन्त्र युक्रेन रसिया युद्ध, श्रीलंकाको आर्थिक संकटले पारेको मनोवैज्ञानिक असरले गिरावट आयो। त्यसैले अर्थतन्त्र सुधारका लागि आर्थिक सुचकहरूलाई सकारात्मक दिशातर्फ बढाउन सरकारले अल्पकालीन र दीर्घकालीन नीतिगत समस्या समाधान गर्नुपर्ने देखिन्छ
चोरी निकासी व्यस्थित गर्नुपर्छ
९९, कमलराज तिमिल्सिना
केन्द्रीय सदस्य, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ
बैंकले ऋणमा अत्याधिक व्याज बढाउँदा स्वदेशी उधोग धराशायी हुँदै गएकोले तत्काल बैंकको ब्याज पाँचदेखि सात प्रतिशतमा झार्नुपर्छ। रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्छ। करको दायरा फराकिलो बनाउँदै, भन्सारबाट हुने चोरी निकासी व्यस्थित गर्नुपर्छ।
पर्यटन क्षेत्रको विकास आवश्यक
१००, बलराम गिरी
अध्यक्ष, फेवा डुंगा व्यवसायी समिति
देशको विकास र समृद्धिका लागि युवा विदेश पलायन रोक्नुपर्छ। डुंगा व्यवसायी युवा पनि विदेश पलायन भएका छन्। देशमै रोजगारका अवसर सिर्जना गर्न सरकारले पनि उद्योग खोल्नुपर्छ। पर्यटन क्षेत्रको विकास गर्नुपर्छ।