भ्रष्टाचारीलाई कारबाही गर्न सरकार प्रतिवद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ
दोलखा : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सुशासन विना विकासमा फड्को मार्न नसकिने बताएका छन्।
उनले सुशासनका विषयमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।
अहिले अर्थतन्त्रको अवस्था उत्साहजनक नरहेको उल्लेख गर्दै उनले सबै संकल्पबद्ध भएर अर्थतन्त्रको गति बढाउन लाग्नु अहिलेको आवश्यकता रहेको बताए।
दोलखा चेम्बर अफ कर्मशले सुरु गरेको दोलखा महोत्सव २०७९ को शुक्रबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीयता, समावेशी, धर्मनिरपेक्षता र गणतन्त्र सहितको नयाँ प्रकारको लोकतन्त्रलाई अपहरण गर्ने र कमजोर पार्ने काम भइरहेकाले त्यसको रक्षा अहिलेको प्रमुख काम रहेको बताए।
उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको मुख्य मुद्दा राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम बनाएर सामाजिक आर्थिक क्षेत्र विस्तार तथा सामाजिक आर्थिक रुपान्तरण गर्नु रहेको बताए।
नौ दिनसम्म चल्ने महोत्सवको आयोजना दोलखा चेम्बरले गरेको हो। महोत्सवमा जिल्लामा उत्पादित विभिन्न सामग्रीसहित मनोरञ्जनका विभिन्न खेल तथा सांगीतिक कार्यक्रम सञ्चालन हुने उपाध्यक्ष रुद्रजंग बुढाथोकीले बताए।