पदकै कारण फेरि गठबन्धन नटुट्ने संकल्प गरेका छौँ : उपसभापति खड्का

पदकै कारण फेरि गठबन्धन नटुट्ने संकल्प गरेका छौँ : उपसभापति खड्का
सुन्नुहोस्

वीरेन्द्रनगर : नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले पदकै कारण आठ दलीय गठबन्धन नटुट्ने बताएका छन्। 

शुक्रबार कर्णाली प्रदेशसभामा आठ दलीय गठबन्धन भित्रका प्रदेश सांसदहरूलाई राष्ट्रपति निर्वाचनका सन्दर्भमा अभिमुखीकरण कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उपसभापति खड्काले यस्तो बताएका हुन्। 

उनले निर्वाचनका बेला जनताका बीचमा पाँच वर्षसम्म सँगै रहेर काम गर्ने प्रतिवद्धता गरेको गठबन्धन गत पुस १० गते पदकै कारण टुट्न पुगेको भन्दै उनले अब पदकै कारण गठबन्धन नटुटाउने संकल्प गरी नयाँ गठबन्धन निर्माण गरेको दाबी गरे। 

उनले पुस १० गते तत्कालीन गठबन्धन टुट्नुमा कांग्रेस नै बढी जिम्मेवार रहेको बताउँदै अब यो गठबन्धन पाँच वर्षसम्म नै जाने दाबी गरे। 

उनले भने, '१२ बुँदे शान्ति सम्झौताको पूर्ण पालना गर्दै शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्नुछ। त्यसका लागि राष्ट्रिय सहमति आवश्यक छ। लोकतन्त्रको र संविधानको रक्षाका लागि पनि सबै दलको सहकार्य आवश्यक छ। तर वर्तमान व्यवस्था नमान्ने, संविधान नमान्ने तत्वहरूसँग एमाले अध्यक्ष ओली निकट बन्ने र अहिलेको व्यवस्था, संविधान प्रतिप्रतिबद्ध दलहरूसँग टाढा हुने व्यवहारका कारण परिवर्तनका पक्षधर दलहरू एक ठाँउमा उभिएका छौँ। अब कुनै पदका कारण यो गठबन्धन तलमाथि हुँदैन।' 

उनले अहिलेको यो गठबन्धनले संघमा थुपारेर राखेका अधिकारीहरू संघीय संरचनाअनुसार तल्लो तहसम्म विस्तार गर्ने, राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा गर्ने कार्यमा पूरा प्रतिबद्ध रहेको बताउँदै कर्णालीलाई बजेटमा पहिलो प्राथमिकता दिनका लागि पनि प्रतिबद्ध रहेको बताए। 

उनले भने, 'वर्तमान प्रधानमन्त्री प्रचण्ड र आफूले चुनावका समयमा कर्णालीका विभिन्न जिल्लामा जनताका बीचमा गरेका प्रतिबद्धताहरू बिर्सेका छैनौँ। यस विषयमा प्रधानमन्त्री र आठ दलका अन्य शीर्ष नेताहरूबीच पनि कुरा भएको छ। आगामी आर्थिक वर्षको बजेटमा कर्णालीले विशेष प्राथमिकता पाउनेछ।'

उनले मुलुकमा स्थायी शान्ति, वर्तमान व्यवस्थाको रक्षा, लोकतन्त्रलाई संस्थागत विकासका लागि मुलुकमा कुशल अभिभावकको खाँचो रहेको भन्दै त्यसका लागि योग्य पात्र गठबन्धनका साझा राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नै उपयुक्त रहेको बताए। 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिलेको गठबन्धनले निर्वाचनमा गरेको प्रतिबद्धताको पालना र जनताको भावनाको कदर भएको बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गठबन्धनले आर्थिक, प्रशासनिक अधिकार सहितको संघीयतालाई जोड दिनुपर्ने बताए। 

उनले विगतका सरकारहरूले प्रदेश संरचनालाई हात बाँधेकै कारण परिणाम नआएको बताउँदै यसले नागरिकलाई व्यवस्थाप्रति नै प्रश्न उठाउने अवस्था सिर्जना गरेको बताए। 

कार्यक्रममा एकिकृत समाजवादीका केन्द्रीय सदस्य केदार कंडेल, नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसी, एकिकृत समाजवादीकी सांसद कल्याणी खड्का लगायतका वक्ताहरूले लोकतन्त्रलाई बलियो बनाउन र संविधानको रक्षा गर्न गठबन्धन थप एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।

उनीहरूले राष्ट्रपति निर्वाचनमा गठबन्धनबाट तलमाथि नहुने प्रतिबद्धता जनाउँदै मुलुकको स्थायी शान्ति, संविधानको रक्षा, नागरिकको जीवनस्तर सुधार र विकासका लागि पनि नयाँ गठबन्धनको सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका थिए। 

कार्यक्रममा सहभागी सबै प्रदेश सांसदहरूले आठ दलीय गठबन्धनको निर्णयअनुसार नै राष्ट्रपति निर्वाचनमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.