अगेनामा आगो बल्दैन अचेल
आगो बले पो तातो हुनु
खानका लागि अन्न थिएन
लगाउनका लागि लुगा थिएन
बस्नका लागि घर थिएन
तर वरिपरि तारा जस्तै
चम्चमाउने छोराछोरी थिए,
अहिले घर छ अनि
घरमा सबथोक छ तर छोराछोरी छैनन्
डाँडामुनिको एकजोडी जून
अचेल हरेक साँझ अगेनाको डिलमा बस्छ र
आफैंमाथि निर्मम प्रहार गर्छ–
हामी किन यतिविधि मूर्ख भयौं ?
हामीले किन पैसा तिरेर बेच्यौं
छोराछोरीहरूलाई ??
उनीहरूले सुनेका थिए
चारो खोज्न गएको चरो
साँझ पर्न नपाउँदै फर्किन्छ गुँडमा
तर अहिले घर
चरा नभएको गुँडजस्तै रित्तो भएको छ
माहुरीले छाडी गएको
घारजस्तै शून्य भएको छ
लामो लामो चुरोटको सर्को तानेर
जूनले आफ्नै मुटुको एस्ट्रेमाथि
किचिमिची पार्छ सल्किएर
बाँकी रहेको उमेरको ठुटो
दूर देशमा पुगेका छोराछोरी
कहिलेकाहीं दूरभाषबाट उद्घोष गर्छन् –
पैसाको केही फिक्री नगर्नू
आराम गर्नू, ओखति गर्नू
तर तिनलाई कसले भनिदेओस् ?
बुढेसकालको एक्लोपनको खतिलाई
ओखतिले निको पार्न सक्दैन।
हातगोडा बाउँडिएको बेलामा
तानी दिने कोही छैन
तिर्खाले घाँटी प्याक प्याक भएको बेलामा
पानी दिने कोही छैन
पहिला भोक थियो भोजन थिएन
अहिले भोजन छ भोक छैन
पहिला निद्रा थियो सुत्ने ओछ्यान थिएन
अहिले ओछ्यान छ निद्रा छैन
उहिले बूढो जूनले जुनेलीलाई भन्ने गथ्र्यो–
‘ए बूढी अब त उठ् उजेलो हुन लागिसक्यो’
अहिले बूढो जूनले जुनेलीलाई भन्ने गर्छ–
‘ए बूढी अब त सुत् उजेलो हुन लागिसक्यो।’
जिन्दगीमा यस्तो पनि हुँदो रहेछ
उठे सुत्न नसक्ने
सुते उठन नसक्ने
अचेल प्रत्येक साँझ
एकजोडी जून बस्छ
अगेनाको डिलमा र
विरहको चुलेसीले रेटछ आफ्नै मुटु,
घाउ चहर्याउनका लागि
नुनचुक नचाहिने रहेछ
परदेसिएका सन्तानको
सम्झना नै काफी हुने रहेछ।