पौराणिक कथाहरूमा पनौती

धर्म/संस्कृति

पौराणिक कथाहरूमा पनौती

लोकविश्वास के छ भने सिथि नखः अर्थात् उपत्यकामा इनार सफा गरी मनाइने चाडका दिन वासुकी नाग पनौतीमा श्राद्ध गर्न आउँछन्।

चलाल गणेशस्थान (काभ्रे) तिरबाट बग्दै आउँछिन् रोशी। पहिला उनको स्वरूपमा लेसमात्र पनि ‘रोष’ नदेखिने गरेको बताउँछन्, स्थानीयवासी। ती जीवनदायिनी नदी लोकजीवनका सभ्यता, संस्कृति, कृषि, परम्परालगायत विविध पक्षलाई सम्पोषित, अनुप्राणित गर्दै बग्थिन्। त्यस क्षेत्रको भ्रमण गर्ने क्रममा पनि रोशीको प्रवाहमा रोष, आक्रोशजस्ता तत्त्वहरू देखिएका थिएनन्। अहिले परिस्थिति फेरिएको छ।

एक स्थानीयवासीका अनुसार इन्द्रेश्वर मन्दिर क्षेत्रभन्दा करिब १५ किलोमिटर माथि रहेको चलाल गणेश, कलन्तिसम्मै अचेल प्रत्येक दिन करिब आठ सय टिपर दौडिरहन्छन्। तिनले मुहान क्षेत्रबाट निकालिएका ढुंगा, एग्रिगेट ओसारपसार गर्छन्, अपार व्यापार गर्छन्। एक टिपर ढुंगाबापत तिनले १८ सय कर बुझाउँछन् रे। वातावरण संरक्षणको मूल्यमा यसरी चाँदीकटनी छ। आफ्नो छाती क्षत्विक्षत हुँदा क्षमाशील रोशी आक्रोशित हुनु कुन आश्चर्य भयो र ?

अलि तल खोपासीमा २.४ मेगावाट जडित क्षमताको अनि नेपालको तेस्रो सबैभन्दा पुरानो पनौती जलविद्युत् गृह सञ्चालनमा छ। नेपाल विद्युत् प्राधिकरणले रोशी बचाऊँ अभियान सञ्चालन गरेको थियो, अहिले त्यो ठप्प छ, एक स्थानीय भन्छन्। रोशी संरक्षणमा प्राधिकरणको उदासीनता अर्थपूर्ण ठान्छन् उनी। पश्चिमोत्तर दिशाबाट बग्दै आउँछिन् पुण्यमाता। त्यति आक्रोशित देखिन्नन्, उनी बाक्लै बस्तीको बीचबाट उत्सर्जित फोहोरपानीको समेत बोझ बोकी बग्नुपर्दा पनि। माता, प्रकृति र पिता आकाशका अनेकानेक विलक्षण सन्ततिमध्येका ती दुई सन्तति ब्रह्मायणी मन्दिरको छेउ, इन्द्रेश्वर मन्दिरभन्दा केही तल भेटिन्छन्। त्यहिँ भेटिन्छिन् भनिन्छ अर्की दिव्य तर अदृश्य सन्तति पुष्पवती, लोकविश्वास यस्तै छ। अलि लजालु स्वभावकी भएर हो कि दृष्टिगोचर नहुने ? लोकका आँखा अज्ञानले टालिएका कारणले पो हो कि ? अदृश्य पुष्पवतीजस्तै अनेक पौराणिक/पूर्वपौराणिक कथाहरू गर्भमा बोकेर बसिरहेको छ, पनौती उल्लिखित नदीले सिर्जेको, सिँचेको पवित्र त्रिवेणीधाममा।

इन्द्र र अहिल्याको श्रापमोचन
परापूर्वकालको कुरा। देवराज इन्द्र पत्नी शचिका साथ स्नान गर्न आएका रहेछन् त्रिवेणीधाममा। सोही समयमा गौतम ऋषि पनि पत्नी अहिल्याका साथ स्नान गर्न आएछन्। इन्द्र अहिल्याको रूप देखेर मोहित भएछन्। एक दिन गौतम ऋषि कुटीबाहिर गएको बेला उनैको रूप धारण गरी अहिल्याको पतिव्रता धर्म भंग गरिदिएछन्। इन्द्रेश्वर मन्दिरनजिकै सञ्चालित शचि–सञ्जीवनी गुरुकूल सञ्चालक समितिका एक सदस्य तथा जानकार स्कन्दपुराणको हिमवत्खण्डमा उल्लिखित प्रसंग उद्धृत गर्दै भन्छन्। शचिले अहिल्याको रूप देखेर मोहित भएका इन्द्रलाई श्राप दिइछन् : तिम्रो शरीरभरि स्त्री जननेन्द्रियजस्ता लाग्ने घाउ भइजाउन्।

गौतम ऋषिको कोपभाजनमा परिन् अहिल्या। तिमी ढुंगो भइजाऊ भनी श्राप दिए रे ऋषिले अनि थपे– त्रेतायुगमा भगवान् रामले तिम्रो शिलारूपलाई स्पर्श गरेपछि तिमी श्रापमुक्त हुनेछौ। त्रिवेणीधाममै रहेको एक शिलालाई श्रापित अहिल्याको रूप मानिन्छ। यता इन्द्र पनि श्रापमोचनको उपाय गर्न थाले। विष्णुकोमा अनि ब्रह्माकोमा गए। ब्रह्माले इन्द्रलाई बाँसको एक ठुटो दिँदै भने– तिमी जुन ठाउँमा पुग्दा यो बाँस टुसाउँछ त्यहीँ भगवान् शिवको तपस्या गर्नु, उहाँले नै तिमीलाई श्रापमुक्त गर्नुहुनेछ। घाउ नै घाउयुक्त आफ्नो शरीर बोक्दै, भौतारिँदै त्रिवेणीधाममा आइपुगेछन् इन्द्र। ब्रह्माले दिएको बाँसको ठुटो त्यहीँ बिसाएर सुस्ताएका मात्र के थिए, त्यहीँ निदाएछन्। जागा हुँदा उनले अचम्म देखे–ढुंगामाथि राखेको बाँस टुसाएको को पो रहेछ !

हाम्रा संस्कृति, परम्परा, चाडपर्व, मठमन्दिर, गुम्बालगायत धार्मिक–आध्यात्मिक आस्थाका केन्द्रहरू हाम्रा विशिष्ट जातीय, क्षेत्रीय, राष्ट्रिय पहिचानसँग जोडिएका छन्।

अघि ब्रह्माले भने अनुसार १२ वर्षसम्म भगवान् शिवको तपस्यामा लीन भएछन् उनी। तप पूरा हुँदा शरीरका अन्य भागहरूमा रहेका घाउ त पुरिएछन् तर निधारको खत भने पुरिएनछ। पापकर्मको चिनोस्वरूप, लोकले इन्द्रको जस्तो कुत्सित कर्म नगरोस् भन्ने सन्देश दिनका लागि इन्द्रले उक्त खत बोकेरै हिँड्नुपर्ने भएछ। तिनै इन्द्रले रोशीकिनारमा स्थापना गरेको मन्दिर हो भनिन्छ इन्द्रेश्वर मन्दिर। भगवान् राम त्रेतायुगमा उक्त स्थानमा आएर शिलास्पर्श गरेपछि अहिल्या श्रापमुक्त भइन् भनिन्छ।

छाता ओढ्न नपाइने जात्रा

उक्त स्थानमा जेठ पूर्णिमाका दिन ठूलो मेला लाग्छ। पुण्यमाता नदीको किनारमा अवस्थित ब्रह्मायणी मन्दिरमा पञ्चबली दिएपछि जात्रा सुरु हुन्छ। परापूर्वकालमा जात्रा सुरु हुँदा कुनै साँघु थिएन रे त्यहाँ। त्यसबेला आठ प्रकारका नागमध्ये एक वासुकी नाग स्वयं साँघु भइदिएर यात्रुहरूको आवतजावत सहज बनाइन्थे भन्ने किसिमको कथाजस्तो वृत्तान्त आफूले बुढापाकाबाट आफूले सुनेको बताउँछन् समितिका सदस्य। जेठ पूर्णिमाका दिन भद्रकाली, इन्द्रेश्वर र भैरवको रथयात्रा चलाइ मेलामा ल्याइन्छ।

त्यस दिन स्थानीय महिलाहरू सिँगारपटार गरेर देवदेवीहरूको दर्शन गर्न निस्कन्छन्। ध्यानमा लीन महादेवको ध्यानभंग गराई उनमा भद्रकालीप्रति कामभाव जागृत गराउन महिलाहरू यसो गर्छन् भनिन्छ। त्यस दिन देवी भद्रकालीको रूपमा, शिव भैरवको रूपमा प्रस्तुत हुन्छन् भन्ने लोकविश्वास रहेको छ। पहिले पूर्णिमाको राति भद्रकाली, महादेव र भैरवको रथ जुधाइने गरेकोमा राति यस्तो आयोजना गर्दा विकृति बढेकाले दिउँसै रथ जुधाइन्छ।

प्रतिपदाका दिन जात्रा निकालिन्छ। पूर्णिमाका दिन पनौतीमा केही आश्चर्यजनक छटाहरू देख्न पाइन्छ। त्यहाँ उक्त दिन छाता ओढ्न पाइँदैन, घुम ओढ्नुपर्छ। भर्ला (भोर्ला) का पात र बाँसको चोया प्रयोग गरी बनाइएका घुम ओढ्नुपर्छ। त्यहाँ उत्पादित घुम खुब बिक्री हुन्छ त्यस दिन। उक्त दिन चिउरी (चिउली) खाने पनि चलन छ। चिउरीको घिउघाउमा लगाउँदा निको हुन्छ भनिन्छ।

वासुकी नागको श्राद्ध

लोकविश्वास के छ भने सिथि नखः अर्थात् उपत्यकामा इनार सफा गरी मनाइने चाडका दिन वासुकी नाग पनौतीमा श्राद्ध गर्न आउँछन्। त्यस दिन प्रायः २ देखि ५ बजेका बीच उत्तरपूर्व अर्थात् ईशान कोणबाट अन्धाधुन्ध हुरीबतास आउँछ, पानी पर्छ, मकैबाली सोत्तर बनाएजस्तो हुन्छ। भोलिपल्ट सोही दिशा हुँदै हुरीबतास फर्किन्छ, सोœयान परेका मकैका बोट ठड्याएर, यसै भन्छन् सञ्चालक समितिका सदस्य। वासुकी नाग पञ्चमीमा स्मरण र पूजा गरिने आठ प्रकारका नागमध्ये एक हुन्।

नागहरूको पूजा गर्नाले, तिनीहरूको चित्र घरमा राख्नाले घरमा चट्याङ पर्दैन भन्ने विश्वास गरिन्छ। कुवा, इनार, तलाउजस्ता जलभण्डारहरूका संरक्षकका रूपमा नागहरूको पूजा, आराधना गरिन्छ। एउटा रोचक प्रसंग उल्लेख गरुँ– परार साल एक स्थानीय धनीमानी व्यक्तिले वासुकी नागलाई तिनको छाता बनाई ओढाइदिएछन्। उनले सोचे हुन्, वासुकी नाग उनीदेखि झन् प्रसन्न हुनेछन्। तर अनौठो घटना पो भएछ त्यहाँ। वासुकीलाई छाता ओढाइदिएपछि त पनौतीमा पानी पर्नै छाडेछ ! वासुकीलाई छातामुक्त गरिसकेपछि बल्ल पनौती पुनः झरीमा रुझ्न पाएछ।

पानीको संकट पुरानै

परापूर्वकालमा पनि पानीको समस्या चर्को रहेको बुझिन्छ। जलवायु परिवर्तनका कारण विकसित पानीको अभाव र मरुभूमिकरणका कारण अक्कडियन सभ्यता विनष्ट भएको मानिन्छ। इन्डिया आफैं पानीको अभाव झेलिरहेको छ, नेपालको जलस्रोतमा उसले आँखा गाडेको छिपेको छैन। ऊ कुनै बेला अस्तित्ववान् ठानिएको सरस्वती नदी धुइँपत्ताल खोज्दाखोज्दै मरुस्थलमा हराएको पो हो कि ? जलस्रोतमा धनी हामी भने भजन जति गाए पनि खानेपानीको अभाव झेलिरहेकै छौं हामी, सिँचाइका लागि आवश्यक पानीका लागि इन्द्र महाराजकै भर छ।
 

त्यहीँ भेटिन्छिन् भनिन्छ अर्की दिव्य तर अदृश्य सन्तति पुष्पवती, लोकविश्वास यस्तै छ। लोकका आँखा अज्ञानले टालिएका कारणले पो हो कि ? अदृश्य पुष्पवतीजस्तै अनेक पौराणिक/पूर्वपौराणिक कथाहरू गर्भमा बोकेर बसिरहेको छ, पनौती उल्लिखित नदीले सिर्जेको, सिँचेको पवित्र त्रिवेणीधाममा।

पनौतीमा ऊबेला पनि पानीको अभाव रहेछ, खेतीयोग्य जमिन भएर के गर्नु ? उबेलाका पनौतीका राजा फुल्चोकी मन्दिरमा पूजा गर्न गएछन्, संयोग कस्तो भने पाटनका राजा पनि पूजाकै लागि आएका रहेछन्। देवीले सर्त राखिछन्– जसले मलाई सुन–चाँदीको फूल चढाउँछ, म उसैलाई पानी दिन्छु। पनौतीका राजाले बाटोमा पहेंलपुर फुलेको रायो देखे, सेताम्ये फुलेको मूला देखे। मेरा लागि सुन–चाँदी यिनै हुन् भन्दै उनले देवीका पाउमा श्रद्धा–भक्तिपूर्वक ती फूल टिपेर चढाएछन्। देवी प्रसन्न भई पनौतीका फाँटहरूका लागि पानीको सुनिश्चितता गरिदिइछन्।

पाटनका राजा भने सुन र चाँदीका फूल बनाउन लागेछन्, यसो गर्दा एक दिन यत्तिकै बितेछ। अर्को दिन फुल्चोकी पुगी श्रद्धा–भक्तिपूर्वक देवीका पाउमा सुन–चाँदीका फूल अर्पण गरेछन्। देवी प्रसन्न भइहालिन् अनि उनको राज्यका लागि पनि पानी आपूर्तिको व्यवस्था हुने भएछ। वनदेवताले प्रस्ताव गरेछन्– खेतीयोग्य जमीनको उपलब्धताका आधारमा पानी छाडिदिउँ। पनौतीमा खेतीयोग्य जमिन धेरै भएकाले त्यता दुई भाग पानी छाडिने भएछ, पाटनमा खेतीयोग्य जमिन कम भएकाले एक भाग पानी छाडिने व्यवस्था भएछ।

बाह्रवर्षे मकर मेला

सूर्य मकर राशिमा संक्रमण हुँदा अनि वृहस्पति मकर राशिमा अस्त हुँदा पनौतीमा भव्य मेला लाग्छ। यस्तो ज्योतिषीय घटना प्रत्येक १२ वर्षमा घटित हुने हुँदा मेला पनि १२ वर्षमा एक पटक लाग्छ। त्यस दिन साँखुबाट माधवनारायणको मूर्ति ल्याइन्छ र त्रिवेणीधाम, पनौती (तीन नदीको संगममा रहेको कुण्ड) मा स्नान गराइन्छ।

पनौतीमा मकर मेला लागेको ६ वर्षपछि सूर्य सिंह राशिमा संक्रमण हुँदा अनि वृहस्पति सिंह राशिमा अस्त हुँदा गोदावरीमा पनि बाह्रवर्षे सिंह मेला लाग्छ। उक्त अवसरमा पनि भक्तजनको घुइँचो लाग्छ।

जात्रा सम्पन्न भयो ?

त्रिवेणीधाममा मकर मेलाका दिन एउटा अचम्मको घटना घटित हुने गरेको बताइन्छ। बुढापाकासँगको कुराकानीको प्रसंग उल्लेख गर्दै सञ्चालक समितिका सदस्य भन्छन्– त्यस दिन संगममा बगेको पानी उबाएर घरमा लगिन्थ्यो र घरमा सधैंजसो प्रयोग हुने पानीमा मिसाइन्थ्यो। त्रिवेणीधामबाट ल्याएको पानी तेलजस्तै तैरियो भने जात्रा सम्पन्न भएको मानिन्थ्यो रे ! तर २०६६ सालको मकर जात्रापछि सोही विधि प्रयोग गरी परीक्षण गर्दा त्रिवेणीधामको पानी तैरिएन रे।

२०७९ सालको मकर जात्रापछिको पानी परीक्षण पनि सफल भएन र अर्थात् धामको पानी धाराको पानीमाथि तैरिएन रे। यसो हुँदा बाह्रवर्षे मेला सम्पन्न भयो भएन, शंका उत्पन्न भएको छ। नगरपालिकाले कुण्डमाथि ढलान गरिदिएकाले सायद अदृश्य पुष्पवती नदीको प्रवाह रोकिँदा पो यसो भएको हो कि ? स्थानीयहरू शंका गर्छन्। पनौतीमा मकर मेला लागेको ६ वर्षपछि सूर्य सिंह राशिमा संक्रमण हुँदा अनि वृहस्पति सिंह राशिमा अस्त हुँदा गोदावरीमा पनि बाह्रवर्षे सिंह मेला लाग्छ। उक्त अवसरमा पनि भक्तजनको घुइँचो लाग्छ।

अन्त्यमा, हाम्रा संस्कृति, परम्परा, चाडपर्व, मठमन्दिर, गुम्बालगायत धार्मिक–आध्यात्मिक आस्थाका केन्द्रहरू हाम्रा विशिष्ट जातीय, क्षेत्रीय, राष्ट्रिय पहिचानसँग जोडिएका छन्। ती मासिए हामी पनि मासिने छौं, यसमा कुनै शंका छैन। यस्ता धरोहरहरू कुल्चिँदै अन्धवेगमा आधुनिकताको दौडमा लाग्ने कि अलि सम्हालिएर, सुविचारित ढंगले अघि बढ्ने हो ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.