खुला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमलाई
वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दोस्रो चुली युवा कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जितेको छ।
शुक्रबार भएको फाइनल खेलमा आयोजक क्लब चुलीलाई हराउँदै रुकुमपश्चिमीले उपाधि जितेको हो।
फाइनल खेलमा चुलीले पहिलो एक सेट जित्दा रुकुम पश्चिमले लगातार तीन सेट जितेर उपाधि जितेको छ। विजेताले नगद दुई लाख २० हजार र ट्रफी पाएको छ।
उपविजेता बनेको आयोजक क्लबले एक लाख ५० हजार र ट्रफी पाएको छ। तेस्रो भएको सल्यान र चौथो भएको एपीएफ कर्णालीले क्रमशः ७५ हजार, ५० हजार नगद पुरस्कार र ट्रफी पाएका छन्।
महिलातर्फ भएको भलिबल प्रतियोगितामा एभरेष्ट क्लब बुटवलले उपाधि जितेको छ। एभरेष्टले नगद एक लाख ५० हजार र टफी पाउँदा उपविजेतामा चित्त बुझाएको डाइमण्ड क्लब काठमाडौंले नगद ८० हजार र ट्रफी पाएको छ।
तेस्रो भएको आयोजक क्लब चुली र चौथो भएको सल्यानले क्रमशः ५० हजार, ३० हजार नगद र ट्रफी पाएका छन्। फागुन ११ गतेबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ देशभरका १६ र महिलातर्फ १२ क्लब सहभागी थिए।