अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको भन्दै पालिका बन्द
दाङ: शान्तिनगर गाउँपालिकाले पालिकाबाट हुने सबै कामकाज अनिश्चितकालिन बन्द गरेको छ।
गाउँपालिकामा कार्यरत कर्मचारीले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमाथि वडा अध्यक्षबाट दुर्व्यवहार भएको भन्दै पालिकाको कामकाज ठप्प पारेका हुन्। पालिकाका कर्मचारीले दुर्व्यवहारको घोर भत्सना गर्दै दोषीलाई कारवाही र कार्यालयमा सुरक्षित काम गर्ने वातावरण मिलाउन माग गरेका छन्।
शनिबार नेपाल निजामति कर्मचारी युनियन स्थानीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय कार्यसमिति, नेपाल निजामति कर्मचारी संगठन स्थानीय कार्यसमितिले संयुक्त विज्ञप्ति जारी गरी अत्यावश्यकीय काम बाहेक सबै कामकाज अनिश्चितकालिन बन्द गरिएको जानकारी गराएका छन्।
फागुन १९ गते बिहान ११ बजे शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको कार्यकक्षमा गाउँपालिका अध्यक्ष बस्नेत र प्रमुख प्रशासकीय अधिकृति डिल्ली खड्कालाई शान्तिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष सुनिल वलीसहितका अन्य केही युवाले अमर्यादिन र अभद्र व्यवहार तथा दुर्व्यवहार गरेका थिए।
अध्यक्षको कार्यकक्षमै प्रवेशगरी वडा अध्यक्षले गरेको दुर्व्यवहार प्रति जनप्रतिनिधि र कर्मचारीहरुले भत्सना गरेका छन्। गाउँपालिकाको निर्णय बमोजिम बौलाह घाटमा नदीजन्य पदार्थको उत्खननको ठेक्का लगाइएकोमा वडा अध्यक्षले ठेक्कामार्फत नभई आफैँले नदीजन्य पदार्थ उठाउन पाउनुपर्ने माग गर्दै आएका थिए।