होहल्लाको चेपुवामा राष्ट्रपति पद
फगत आलंकारिकतामा सीमित पदमा समेत आफू अनुकूलको व्यक्ति खोज्ने देशी विदेशी आकांक्षाको कारण के होला ?
सन् १९८२ मा प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नै क्याबिनेटका गृहमन्त्री ज्ञानी जेल सिंहलाई भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट भारतको सातौं राष्ट्रपति पदको उम्मेदवार बनाइन्। विजय सुनिश्चित थियो। इन्दिराको अनुग्रहमा रोमाञ्चित भएका जेल सिंहले भनेका थिए, ‘इन्दिराले भनिन् भने उनको घरमा झाडु लगाउन तयार छु।’ यद्यपि पछि गएर जेल सिंह र इन्दिराबिच तनाव उत्पन्न भयो। राष्ट्रपतिले प्रधानमन्त्रीको ‘रबर स्ट्याम्प’ बन्न इन्कार गरिदिए। तथापि कृतज्ञताका यस्ता लज्जास्पद अभिव्यक्तिले सर्वोच्च पदको गरिमामा धक्का पुग्नु स्वाभाविकै थियो।
नेपालको राष्ट्रपति पदको सर्वोपरि कर्तव्य के हो ? यस पदको सर्वोच्च गरिमा के हो ? यी प्रश्नहरू किञ्चित अमूर्त प्रतीत हुन्छन्। नेपालको राष्ट्रपति पदको कर्तव्य र गरिमालाई वस्तुगतरूपमा मात्र व्यक्त गर्न कठिन छ। यो पदको दायरा संविधानको पालना र संरक्षणमा मात्र सीमित छैन। अपितु यसको विस्तार त्यहाँसम्म फैलिएको छ। जहाँ पुगेर संविधानको अन्तिम र सर्वोत्कृष्ट लक्ष्य सुनिश्चित र संरक्षित हुन्छ। राष्ट्रपतिको पद संवैधानिक नैतिकता र सदाचारको पुञ्ज हो। यो राष्ट्रिय हित र लोकतन्त्रको जगेर्नामा हर तरहले समर्पित सर्वतोभद्र ओहोदा हो।
गणतन्त्र नेपालको राष्ट्रपति पद शक्तिको केन्द्र होइन। यो त सम्मान, भरोसा र आस्थाको केन्द्रमा रहेको सर्वोच्च संस्था हो। संविधानले राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएको छैन। कार्यकारी अधिकार नभएको हुँदा यो पदमा आसीन व्यक्तिले गल्ती गर्दैन भन्ने मान्यता छ। राजनीति र शासकीय व्यवहारमा शक्तिको खेलखाल पनि हुन्छ। तर पनि राष्ट्रपतिले राजनीति र शासन दुवै नगर्ने हुँदा खेलखाल पनि सम्भव हुँदैन भन्ने विश्वास गरिन्छ। नव गणतन्त्र नेपालमा राष्ट्रपति पदप्रति अर्को अपेक्षा पनि रहेको पाइन्छ। नेपाली जनताले सयौं वर्षदेखि राजा महाराजाको शासन देख्दै र भोग्दै आए। गणतन्त्र नेपालका जनताले ठस्साहीन, पाखण्डहीन, आडम्बरहीन र मितव्ययी राष्ट्रप्रमुख खोजेका छन्।
अहिले नेपालमा राष्ट्रपति निर्वाचनको याम छ। यहाँ राष्ट्रपति पद मोजमज्जा र सुखसयल गर्न निर्माण भएको हो भन्ने खालको भाष्य तयार गरियो। कमसेकम यो एउटा पदलाई होहल्लामय र हलुका नबनाउने प्रयत्न हुनुपर्थ्यो। तर हामी हल्लामै रमायौं। हाम्रो होहल्ला देशको सरहद पार गरेर परदेशसम्म पुग्यो। अनि परदेशबाट पाहुना आउने क्रम सुरु भयो। आफ्नो घरभित्रको बैठक कोठामा बसेर गर्नुपर्ने छलफल र वादविवाद बाहिर आँगनमा निस्केर गर्न थालेपछि स्वाभाविकरूपमा छिमेकी आएर घुस्छ। त्यसपछि सल्लाहको आवरणमा लडाउन, भिडाउन र हस्तक्षेप गर्न थाल्छ। छिमेकी घुसेको थाहा पाएपछि अझै पल्लो टोलको लाउके पनि आउँछ। बेला कुबेला झ्यालढोका उदांग राख्नेको घरमा चोर पस्नुमा कुन आश्चर्य भयो ?
पदप्रति अत्यन्त लालसा गर्ने व्यक्तिबाट पदीय गरिमा कायम हुन सक्दैन। त्यसैगरी अत्यन्त ख्यालख्यालमा सम्मानित पद प्राप्त गर्ने व्यक्तिबाट पनि पदको हुर्मत जोगिन कठिन हुन्छ। राजाहरूको मान देखेको र राणाहरूको सान, बडप्पन एवं मोजमज्जाबारे सुनेको हाम्रो अवचेतनमा त्यही सान र बडप्पनको आसक्ति लुकेर बसेको रहेछ। जुन कुराका विरुद्धमा लडियो। त्यही प्रवृत्ति मौका पाउनासाथ छताछुल्ल भयो। हामीलाई सुझाव र समालोचनाले छोएन। हामीले खिसीटिउरी र उपहास पनि देखेनौं, सुनेनौं। हामीले प्रशस्त निन्दा र धारेहात पनि सहजै पचाइदियौं। राष्ट्रिय धन खर्च गर्नुलाई व्यक्तिगत सफलता र भिडलाई प्रतिष्ठा ठान्यौं। हामीमा संस्थागत सम्मानलाई व्यक्तिगत उपलब्धि ठान्ने प्रवृत्ति हाबी भयो।
राष्ट्रपति पद प्राप्त गरेपछि सो प्राप्त गर्ने पात्रको ‘व्यक्ति’ समाप्त भएर व्यक्तित्वको आरम्भ हुन्छ। दृढतापूर्ण विनम्रता र विनयशील वार्तालाप राष्ट्रपति पदमा विराजमान व्यक्तिका आभूषण हुन्। कुनै आडम्बर, देखावटीपन, आकर्षक पहिरन या ठस्साबाट पदको मर्यादामा अभिवृद्धि हुन सक्दैन। कृत्रिम भू– उपग्रह प्रक्षेपण सफल भएपछि एपीजे अब्दुल कलामलाई प्रधानमन्त्री इन्दिरा गान्धीले भेट्न आउनू भनेर खबर पठाइन्। सधैं चप्पलमात्र लगाउने अथक वैज्ञानिक कलामले भेटको निम्तो ल्याउने प्रोफेसर सतीश धवनलाई भने, ‘म त ढंगको कपडा लगाउन पनि जान्दिनँ। छालाको जुत्ता लगाउने बानी छैन।’ धवनले जवाफ दिएका थिए, ‘कपडाको चिन्ता नगर्नुहोस्। तपाईं जुन सानदार कामयाबीको लिबासमा हुनुहुन्छ त्यही काफी छ।’ अब्दुल कलामपछि गणतन्त्र भारतका राष्ट्रपति भए। तर आफ्नो सादगी र सरलतालाई सदासर्वदा कायमै राखे।
राज्यबाट प्राप्त हुने अभिनन्दन र सम्मानहरू व्यक्तिगत आकांक्षाका उपज होइनन्। ती सबै कुरा राजकीय आवश्यकताका परिपूर्ति मात्र हुन्। राष्ट्रपतिको परम कर्तव्य ती सुविधा र सम्मानको शालीनतापूर्ण ग्रहण र पालना मात्र हो। राष्ट्रपतिको जीवन, व्यक्तित्व र प्रतिष्ठाको हिफाजत गर्नु राज्यको दायित्व हो भने पदीय मर्यादाको जगेर्ना, हिफाजत र सम्मान गर्नु राष्ट्रपतिको कर्तव्य हो। भारतको संविधानअनुसार राष्ट्रपतिले आफ्नो कार्यसम्पादनमा सहयोग गर्न एक मन्त्रिपरिषद्को गठन गर्छ। नेपालको राष्ट्रपतिले आफ्नो कार्यसम्पादनमा सहयोग गर्न मन्त्रिपरिषद्को गठन गर्दैन। संविधानअनुसार नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा मात्र निहित रहन्छ।
नेपालको संघीय कार्यकारिणीसम्बन्धी सम्पूर्ण काम नेपाल सरकारको नाममा हुने हुँदा कार्यकारिणी सम्बन्धमा नेपालको राष्ट्रपति भारतको राष्ट्रपतिभन्दा कमजोर देखिन्छ। राजाको युगबाट गणतान्त्रिक युगमा प्रवेश गर्ने सिलसिलामा वर्तमान संविधानका निर्माताहरूले राष्ट्रपति पदलाई ‘खेलखाल’ गर्न नपाउने बनाउन भरसक प्रयत्न गरे। नेपालको संविधानमा उल्लेख भएका राष्ट्रप्रमुख राष्ट्रीय एकताको प्रतीक हुने, नेपाली जनताको सर्वोत्तम हित र समुन्नतिका लागि संविधानको पालना र संरक्षण गर्ने, कार्यकारिणी अधिकार राष्ट्रप्रमुख र मन्त्रिपरिषद्मा निहित हुनेजस्ता कुरा वर्तमान संविधानमा छैनन्।
प्रश्न उठ्छ, यस्तो फगत आलंकारिकतामा सीमित पदमा समेत आफू अनुकूलको व्यक्ति खोज्ने देशी विदेशी आकांक्षाको कारण के होला ? उत्तर सहज छ। आफ्नो अनुकूलको आचरण गरोस्, कृतज्ञताको भारीले थिचियोस् र मौका पर्दा संवैधानिक छिद्रान्वेषण गर्दै मोहरा बनाउन पाइयोस्। कृतज्ञताको ऋण जस्तो गरुङ्गो भारी अर्को कुनै हुँदैन। साधारण व्यक्तिले त व्यक्तिगत तवरले तिर्ला। तर पनि देशको गरिमामय पदमा आसीन व्यक्तिलाई बोकाइएको कृतज्ञताको ऋण राष्ट्रको मूल्यमा चुकाइने हो कि भन्ने शंका रहन्छ। पदको गरिमा, भूमिका र राष्ट्रिय अपेक्षालाई सुझबुझपूर्ण तरिकाले बुझ्न सकिएन भने बन्ने त मोहरा नै हो। हामीलाई धेरै बाठो, वाचाल र चतुर राष्ट्रपति चाहिएको छैन। विवेकशील र राष्ट्रलाई शिरमा राखेर अभिभारा वहन गरे पुग्छ।
शक्ति र सत्ताले मानिसको आकांक्षा र अभिमानलाई गगनचुम्बी बनाउँदो रहेछ। हाम्रो मुलुकमा सार्वजनिक पद जति निन्दाको विषय बन्दै गयो। त्यत्ति नै त्यस्तो पदमा जान लालायितहरूको संख्या बढ्दै गयो। अहिले दुर्भाग्यवश राष्ट्रपति पदलाई समेत ‘यो पनि अरूसरह हो’ भन्ने जनविश्वास निर्माण गर्ने प्रयास भयो। आजको परिदृश्यमा रहेका प्राय : सबैजसो नेताले राष्ट्रपति पदलाई समेत एउटै डालोमा घोलघाल पारिदिए। कसैले बोकेर सगरमाथाको शिखरमा पुर्याएको व्यक्तिले शिखरको उचाइको महत्त्व बुझ्न सक्दैन। उसले त फगत आफूलाई बोक्ने काँधमात्र देख्छ। महत्त्व अवतरणको होइन, आरोहणको छ।
ब्रिटिस परम्परामा आलंकारिक राजाका तीन अधिकार हुन्छन्। ‘राइट टू बी कन्सल्टेड, राइट टू इन्करेज र राइट टू वार्न।’ हाम्रो राष्ट्रपति पदसँग त त्यति ‘राइट’ पनि छैन। यो संस्थाको अकीर्ति व्यक्तिको नभई राष्ट्रकै अकीर्ति हुने हुँदा यो दर्जामा आसीन व्यक्तिले आफ्नो निजत्वलाई बिर्सनु पर्ने हुन्छ। यस्तो पदमा त सबैले सल्लाह गरेर भरसक राष्ट्रिय जीवनमा इमान, सत्कर्म र बुद्धिमत्ताले परिपूर्ण एउटा सर्वमान्य व्यक्तित्वको खोजी गर्नुपर्ने हो। परन्तु हाम्रा नेताहरू यस मामिलामा समेत होहल्लामै रमाए। यस्तै यस्तै अतिबारे डा. भीमार्जुन आचार्यको भनाइ छ, ‘नेपाली जनताले वर्तमान नेताहरूलाई एउटै कोठामा राखेर कोर्रा हान्नुपर्छ। अति अति अति भयो।’
अन्त्यमा– ब्रिटिस लेखक वाल्टर बेजहाट आलंकारिक राष्ट्राध्यक्ष पदको सम्बन्धमा एउटा चाखलाग्दो कुरा भन्छन्। ‘असल राजाबाट प्राप्त फाइदाबारे कुनै मूल्यांकन हुँदैन तर खराब राजाका खराब कुराहरू प्राय : विनाशकारी हुन्छन्।’ यो उद्गार नेपालको राष्ट्रपति पदको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ।