रंग, ब्रेन र होली
रंगहरूले मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मक रूपमा प्रभाव पार्ने हुनाले प्राचीनकालदेखि नै रंगहरूलाई चिकित्साको रूपमा सदुपयोग गरिँदै आएको छ।
मानिसको जीवनमा रंंगको ठूलो महत्त्व छ। त्यो किनभने मानिसको जीवन नै रंगीन हुन्छ। बेरंग जीवन अर्थात् रंगबिनाको जीवन मानिसले सहजपूर्वक जिउन सक्दैन। जीवनमा रंग भएन भने मानिस उदास, निराश र बैचन हुन्छ। दिउँसै चारैतिर निस्पष्ट अँध्यारो देख्छ। उसको आशा मर्छ। विश्वास मर्छ। चाहना मर्छ। उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन। मानिस जिउँदो लासजस्तो हुन्छ। तर जीवनमा रंग भयो भने मानिस खुसी हुन्छ। प्रसन्न हुन्छ।
दुःखमा पनि सुखको आशा गर्छ। अँध्यारोपछिको उज्यालोको पर्खाइमा हुन्छ। कालो बादलमा पनि चाँदीको घेरा देख्छ। त्यसैले मनोवैज्ञानिक रूपमा पनि मानिसको जीवनमा रंगको ठूलो महत्त्व छ। जीवनमा रंगको यही महत्त्वलाई हृदयंगम गरेर नै हाम्रा पूर्वजहरूले चाडपर्व, जात्रा तथा उत्सवहरूको आविष्कार गरेका हुन्।
समयसँगै जीवनमा रंग छर्ने माध्यम थपिएका छन्। हिजोआज जीवनलाई रंगीन बनाउने अनेक माध्यम छन्। कोही फुटबल तथा क्रिकेट आदिजस्ता खेल खेलेर तथा हेरेर रमाइलो मनाइरहेका हुन्छन्। कोही फिल्म हेरेर, संगीत सुनेर, कोही दोहोरी गाएर, कोही भोजभतेर गरेर, कोही यस्ता चाडपर्व मनाएर, कोही मेला र जात्रा सजाएर त कोही मायाप्रीति गाँसेर जीवनमा रंग छर्ने कार्य गरिरहेका हुन्छन्। यस्ता रंगीन उत्सवहरूले सामाजिक तथा मनोवैज्ञानिक महत्त्व पनि राख्दछ। वास्तवमा उत्सवले मानिसको उत्साह बढाउँछ, दुःख पीडा, कुण्ठा तथा निराशाहरूलाई हटाउँछ। जीवनको अँध्यारोमा उज्यालोको रंग भर्ने काम गर्छ। मानिसका लागि जति मानसिक रंगको महत्त्व छ, त्यत्ति नै भौतिक रंगको पनि महत्त्व छ।
रंगमा मानिसको मनमस्तिष्कलाई आकर्षित गर्ने शक्ति हुन्छ। रंगीन कुराहरू मानिसलाई याद पनि रहन्छन्। रंगहरूले मानिसको मनमस्तिष्कलाई कसरी प्रभावित पार्छ भन्ने विषयमा थुप्रै अध्ययन अनुसन्धान भएका छन्। अनुसन्धानहरूबाट पुष्टि पनि भएको छ कि हरेक रंगमा मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मक रूपमा प्रभावित पार्ने विशेषता निहित हुन्छन्।
रंगहरूका आआफ्नै गुण, धर्म र विशेषता हुन्छन्। जस्तो कि रातो रंग प्रेम, उत्तेजना र क्रान्तिको प्रतीक हो। पहेंलो रंग बुद्धिको प्रतीक हो। नीलो रंग सत्य र आशाको प्रतीक हो। हरियो रंग आशा, समृद्धि तथा बुद्धिको प्रतीक हो। गुलाबी रंग दयाको प्रतीक हो। यसैगरी सेतो रंग शुद्धता, सत्ता र शान्तिको प्रतीक हो। अनि कालो रंग अँध्यारो, तिरस्कार तथा तमस बुद्धिको प्रतीक हो। रंगहरूले मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मक रूपमा प्रभाव पार्ने हुनाले प्राचीनकालदेखि नै रंगहरूलाई चिकित्साको रूपमा सदुपयोग गरिँदै आएको छ। रोगको अवस्था र प्रकृति हेरेर विभिन्न रंगद्वारा गरिने उपचारलाई रंग चिकित्सा (कलरथेरापी) भनिन्छ। हेलोयोथेरापी तथा क्रोमोप्याथी रंग चिकित्साका उदाहरणहरू हुन्। रंग चिकित्सा रुघाखोकीदेखि लिएर क्यान्सरजस्तो भयंकर रोगका लागि समेत उपयोगी हुने रंग चिकित्सकको दाबी छ।
डेनमार्कका चिकित्सक डा. फिन्सेनको भनाइ छ, दादुराको बिरामीलाई रातो रंगको बोतलको पानी पिलाउने र रातो रंगको कोठामा राख्ने हो भने केही दिनमा नै दादुरा ठीक हुन्छ। यसैगरी बेलायती डा. बेविटले पक्षाघात (प्यारालाइसिस)का बिरामीलाई रातो रंगको बोतलको पानी पिलाएर र रातो रंगको कोठामा राखेर उपचार गरी रोगमुक्त बनाएको उल्लेख छ। अमेरिकाका चिकित्सक डा. हेनरीको अनुभव छ कि रुघाखोकी, जन्डिस, किड्नीको समस्या, ब्रोंकाइटिस, न्युमोनिया, पेट तथा आन्द्राको समस्याहरूमा पहेंलो रंग निकै लाभकारी हुन्छ। त्यसैले यस्ता रोगीहरूलाई पहेँलो रंगको बोतलको पानी पिलाउने र पहेँलो रंगको कोठामा राख्ने हो भने रोगी रोगमुक्त हुन्छ।
बेलायतका अर्का चिकित्सक डा. मूरको भनाइ छ, हरियो रंगको बोतलको पानीले आँखाको समस्या तथा स्नायुदौर्वल्यमा निकै फाइदा गर्छ। क्रोमोहाइड्रोप्याथीका प्रसिद्ध विशेषज्ञ डा. लेविटको भनाइ छ, रातो रंगको बोतलको पानी शक्तिदायक (टनिक) हो। यस्तो पानीले शरीरलाई शक्ति दिनुका साथै छालाका रोगहरूलाई नष्ट गर्ने क्षमता राख्छ। पहेंलो रंगले अपच तथा पिसाबका समस्याहरूमा फाइदा गर्छ भने नीलो रंगले असाध्य छालाका रोगहरू पनि ठीक पार्छ। सुन्तला रंगले भोक बढाउँछ तथा सन्धीवातमा फाइदा गर्छ। हरियो रंगको महत्त्व त झनै बढी छ। हरियो रंगले आँखा तथा मस्तिष्कजस्ता शरीरका महत्त्वपूर्ण अंगहरूलाई फाइदा गर्छ। यसरी रंगहरूले औषधिको काम गर्छन्।
मानिसको स्वास्थ्यका लागि सादा भोजनभन्दा विभिन्न रंगको रंगीन भोजन बढी लाभदायक हुने कुरा पोषणविद्को भनाइ छ। तर यसको अर्थ कृत्रिम रंगहरू मिसाइएको भोजन चाहिँ होइन। अझ रंगीन फलफूलको महत्त्व त झनै बढी छ। त्यो किनभने रंगीन फलफूलहरूले मानिसको मनलाई आकर्षित गर्छन्, बढी सन्तुष्टि दिन्छन्, शरीरलाई आवश्यक पोषण तत्त्वहरू उपलब्ध गराउँछन्। हो, मानिसलाई रंग मन पर्छ। रंगीन जीवनले नै मानिसलाई खुसी दिन्छ। आनन्द दिन्छ। जीवनलाई आशा र विश्वास दिन्छ। तर विडम्बना के भने अधिकांश नागरिकहरूले श्यामश्वेत सोच राखेर रंगीन जीवन बाँच्न खोज्छन्। यहीँबाट नै मानिसका धेरै समस्या उत्पन्न हुन्छन्।
दुश्चिन्ता, डिप्रेसनलगायत अनेक मनोवैज्ञानिक समस्या यही श्यामश्वेत सोचका कारण पैदा हुन्छन्। जस्तो कि कुनै राजनीतिज्ञले अहिले पनि निर्वाचनमा पराजित भए भने त मेरो राजनीति नै समाप्त हुन्छ भन्ने सोच राख्न सक्छ। कुनै विद्यार्थीले परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सकेन भने त मेरो जीवन नै बर्बाद हुन्छ भने सोच राख्न सक्छ। अनि यस्तो सोच राख्ने व्यक्ति चुनाव हार्यो वा परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सकेन भने दुश्चिन्ता तथा डिप्रेसनजस्ता मानसिक समस्याहरूको चंगुलमा पर्न सक्छ। हरेक वर्ष थुप्रै विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण पनि यस्तै श्यामश्वेत सोच हो।