विविधता हाम्रो पहिचान र शक्ति हो : राष्ट्रपति भण्डारी
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विविधता हाम्रो पहिचान र शक्ति भएको बताएकी छन्। नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएकी हुन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा होलीमा खेलिने रङ्गहरू जस्तै विविधतापूर्ण छ। यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो। ’
राष्ट्रपति भण्डारीले फागुपूर्णिमा जस्ता पर्वहरूले नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
भण्डारीले पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामनासमेत व्यक्त गरेकी छन्।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा फागुपूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एक–आपसमा अबिर तथा रङ्ग दलेर रमाइलो गर्ने परम्परा रहेको छ।