‘पत्रकार महिला नेतृत्वमा पुग्न हस्तक्षेप जरुरी छ’
हामी परिवर्तन गर्न चाहन्छौं भनेर मात्र पर्याप्त हुँदैन। परिवर्तनहरू समाचार कक्षभित्रै देखिनुपर्छ।
पत्रकारिता र शैक्षिक क्षेत्रमा लामो समयदेखिको यहाँको अनुभव कस्तो रह्यो ?
मेरो जन्म घानामा भएको थियो। दुई वर्षको उमेरमा म मेरो परिवारका साथ क्यानडामा बसाइ सरेँ। क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन (सीबीसी) पत्रकारको हैसियतले मैले फ्रेस एयर, डे सिक्स, मेट्रो मर्निङ र हियर एन्ड नाउलगायतका रेडियो कार्यक्रमहरू सञ्चालन गर्दै रेडियो पत्रकारिताको अनुभव संगालेँ। जातीय विभेदमा परेका व्यक्तिहरूका हकहितमा समर्पित संस्था डाइभर्सिफाइ सीबीसीको संस्थापक सह–अध्यक्षको रूपमा मैले आफ्नो जिम्मेवारी निभाएँ।
पोडकास्ट कम्पनी मिडिया गर्लफ्रेन्ड्सको संस्थापक र कार्यकारी निर्देशकको भूमिकामा रहेर काम गर्दाको अनुभव पनि निकै राम्रो छ। सन् २०२१ मा कार्लटन विश्वविद्यालयको पत्रकारिता र सञ्चार स्कुलमा पत्रकारिता, विविधता र समावेशी अध्ययनमा मैले ‘कार्टिचियर’ को रूपमा नियुक्ति पाएँ। यसरी मैले जातिगत विभेद, पत्रकारिता शिक्षा र मिडिया उद्योगमा समानता, विविधता र समावेशीकरणमा केन्द्रित भएर काम गर्दै आएकी छु।
पत्रकारितालाई नै किन पेसको रूपमा रोज्नुभयो ?
मैले यस क्षेत्रमा करिव १५ वर्ष काम गरेँ। जसमध्ये अधिकांश समय एउटै मिडिया आउटलेट सीबीसीमा रहेँ। मैले संगीत विभागमा करिब ८ वर्ष काम गरें। म कार्यक्रम निर्माण गर्थें, फिचरहरू लेख्थेँ र अतिथिहरूलाई बोलाएर अन्तर्वार्ता लिन्थेँ। तर, ती काम गर्दासम्म मलाई आफू वास्तविक पत्रकार जस्तो लाग्दैनथ्यो।
पत्रकारको हैसियतले मैले सम्मान पाएको जस्तो लागेन। अन्ततः मैले टोरन्टोमा, फ्रेस एयर नामक कार्यक्रममा समाचार विभागमा जागिर पाएँ। यो हार्ड न्युज शाखा त थिएन। तर, मैले लेखकहरू, वैज्ञानिकहरू र अन्य फरक क्षेत्रका व्यक्तिहरूसँग अन्तर्वार्ता लिनुपथ्र्यो। त्यसैले, मलाई मेरो रुचिहरूमा संलग्न हुने अवसर मिलेकै कारण म पत्रकारिता रोजेकी हुँ।
क्यानडामा महिला पत्रकारहरूले सामना गर्नुपरेका सबैभन्दा ठूला चुनौतीहरू के–के हुन्। गोरा र काला समुदायका महिलामा यी चुनौतीहरू फरक छन् कि ?
हामीकहाँ पत्रकारितामा महिला र पुरुषको संख्या उस्तै छ। तर, धेरै महिलाले समाचार कक्षमा आफूलाई पुरुष सहर समान व्यवहार नगरिएको महसुस गरेको सुनिन्छ। पुरुष सरह समान प्रकारको पदोन्नति नभएको कतिपय महिलाले महसुस गरेका छन्। बैठकहरूमा उनीहरूको कुरा सुनुवाई हुँदैन भन्ने पनि गुनासो छ। कालो वर्णका महिलाको उस्तै समस्या छ। उनीहरू कालो रंगका व्यक्ति भएकै कारण उनीहरूमाथि झन् विभेद थपिएको छ। त्यसैले पत्रकारितामा गोरा महिलाभन्दा काला महिलाले भोगेका विभेदको अनुभव फरक छ।
तपाईंले काम गर्नुभएका समाचार कक्षहरूमा उत्पीडनका समस्या कति छन् ?
क्यानाडाली पत्रकार संघले २०२२ मा एउटा सर्वेक्षण गरेको थियो। उनीहरूले अश्वेत सञ्चारकर्मी, अरबी सञ्चारकर्मी र एसियाली सञ्चारकर्मीहरूले अनलाइन उत्पीडनको सबैभन्दा बढी घटनाहरू भोगेका तथ्यांक सार्वजनिक गरेका थिए। उनीहरूले आफूलाई सन्तुलनमा राख्न समस्या परेको, आत्म–हेरचाह र मानसिक स्वास्थ्यका समस्याहरू पनि धेरै भएको विषय प्रतिवेदनमा समेटिएको थियो।
विविधता र समावेशीकरणका मुद्दाहरूलाई सम्बोधन गर्न तपाईंले के गर्नुभयो ?
म मिडियामा विविधता र समावेशी मुद्दाहरूको बारेमा बोल्छु। यसले पाठ्यक्रम परिवर्तन गर्न मद्दत गर्न सक्छ। समावेशीकरण भनेको हामीले सधैं सोच्ने विषय हो। हामी सधैं हाम्रा सबै पाठ्यक्रमहरूलाई कुनै न कुनै रूपमा समावेशी बनाउने बारेमा सोचिरहेका छौं।
एक दुईवटा यस्ता पाठ्यक्रमहरू छन् जसलाई सबै विद्यार्थीले पढ्नुपर्छ। मैले ती पाठ्यक्रमहरूमा परिवर्तन गर्ने प्रयास गरेको छु। जसले गर्दा मानिसले सधैं सबैलाई समावेश गर्ने बारे सोच्न थाल्छन्।
के विविधता, समता र समावेशीकरणका मुद्दा तपाईंले काम गर्नुभएको संस्थामा उठेका छन् ?
हो, पत्रकारिता स्कुलमा यो एक मूल मुद्दा बनेको छ। पहिलेको भन्दा अहिले यो अझै महत्वपूर्ण विषय मानिन्छ। जर्ज फ्लोयडको हत्यापछि कार्लटन विश्वविद्यालयका पत्रकारिताका विद्यार्थीले वास्तवमा प्रशासनलाई कारबाही गर्न आह्वान गरे। यस्ता विभेदका कुराहरू हाम्रा कक्षाहरूमा पनि भएकाले यसमा तपाईंहरूले कारबाही गरेको हेर्न चाहान्छौं भनेर विद्यार्थीले भनेका थिए। स्कुले विद्यार्थीले भनेअनुसार गर्न स्वीकार गर्यो।
विविधता, समता र समावेशीता होस् भन्ने उनीहरूले सधैं चाहे। यी मुद्दालाई सम्बोधन गर्न उनीहरूले गरेको एउटा महत्वपूर्ण काम भनेको मलाई यहाँ नियुक्ति दिनु पनि हो जस्तो लाग्छ।
अश्वेत कर्मचारीहरू कुनै पनि काममा प्रवेश गर्ने र त्यहाँ टिकिरहने अवस्था कस्तो छ ? समयसँगै यो कसरी परिवर्तन हुँदै गएको छ ?
क्यानाडामा यस विषयमा धेरै सर्वेक्षणहरू भएका छैनन्। हामी जहिले पनि मानिसको जातिगत विषयमा कुरा गर्न हिचकिचाउँछौं। त्यसैले हामीसँग धेरै सर्वेक्षणहरू र थप तथ्यांकहरू हुनु आवश्यक छ। यो वास्तवमा मैले गरिरहेको र गर्न चाहेको विषयहरू मध्ये एक हो। म अश्वेत जातिका पत्रकारहरूको अनुभवका सन्दर्भमा केही अनुसन्धान गर्न खोज्दै छु। त्यसपछि अश्वेत जातिका पत्रकारहरूले के महसुस गर्छन् भन्ने विषयमा प्रतिवेदन तयार पार्ने विचारमा छु।
तपाईंको सफलताको क्षण कुन थियो ?
समयको क्रमसँगै मैले पाएका विभिन्न पदहरू नै मेरा सफलता हुन्। मिडिया गर्लफ्रेन्ड्स मैले एउटा पोडकास्टको रूपमा मात्र सुरु गरेको थिएँ। हाल यसलाई बढाएर एक पोडकास्ट उत्पादन कम्पनीमा विस्तार गर्न सफल भएको छु। हामीले छात्रवृत्तिमा मात्र ८० हजार डलर दिइसकेका छौं।
तपाईंको सबैभन्दा ठूलो शक्ति के हो ?
मानिससँग कसरी कुरा गर्नुपर्छ भन्ने मैले राम्ररी बुझेकी छु।
मानिसले तपाईंको प्रतिभामा कहिले कुनै प्रश्न उठाएका छन् कि ?
मैले काम गर्दाका धेरै समाचार कक्षहरूमा अश्वेत वर्गको कि त म एक्लो व्यक्ति हुन्थे कि थोरैमध्येको एक। सीबीसीमा चौथो वर्षमा काम गर्दै गर्दा एक दिन भान्सामा म मेरा साथीसँगै खाजा खाएको भाँडा माज्दै थिएँ। त्यतिबेला मैले पाएका अवसरहरूका बारेमा हामीबीच कुराकानी चलिरहेको थियो।
- ‘तथ्यांकले अश्वेत, अरबी र एसियाली सञ्चारकर्मीहरूले उत्पीडनको सबैभन्दा बढी घटनाहरू भोगेका देखाएको छ ।’
- ‘हामीकहाँ पत्रकारितामा महिला र पुरुषको संख्या उस्तै छ। तर, धेरै महिलाले आफूलाई पुरुष सहर समान व्यवहार नगरिएको महसुस गरेको सुनिन्छ।’
कुराकानीकै क्रममा उसले भन्यो, ‘तिमीलाई थाहा छ तिमी कालो वर्णको र महिला पनि भएका कारणले उनीहरूले तिमीलाई यो अवसर दिइरहेका छन्।’ मलाई त्यो क्षण अझै राम्रोसँग सम्झना छ। किनकि त्यतिबेला मलाई असाध्यै नराम्रो महसुस भएको थियो। यसले मलाई आफूमा प्रतिभा नभएको अनुभूति गराएको थियो।
‘ब्ल्याक लाइभ्स म्याटर’ र ‘मी टु’ जस्ता आन्दोलनले कस्तो प्रभाव पार्यो भन्ने लाग्छ ?
जब ती आन्दोलनहरू संसारभरि चर्किरहेका थिए । मानिसले तब मात्र आफ्नो काम वा जीवनमा के छुटेका छन् भनेर सोच्न थाले। आफ्ना साथीहरू र प्रियजनहरूलाई साँच्चै चोट लागेको छ भनेर धेरैले महसुस गर्न थाले। ती आन्दोलनहरूले हाम्रो सोच र व्यवहारमा परिवर्तन ल्यायो। जब जर्ज फ्लोयडको हत्या भयो यसले म जस्ता धेरै अश्वेत पत्रकारहरूलाई चोट पुर्यायो। यस्ता आन्दोलनले हामीलाई हाम्रो छालाको रंङ र हाम्रो उत्पत्तिकै कारणले गर्दा हामी कसरी पीडित भइरहेका छौं भनेर सम्झना गरायो। हामीलाई समावेश गरिएको छैन।
हाम्रो दृष्टिकोणलाई समावेश गरिएको छैन र अन्य पत्रकारहरूलाई जस्तो सम्मान हामीले पाएका छैनौं भन्ने महसुस हामीलाई गरायो। आन्दोलनहरूले नीति परिवर्तन गर्न आह्वानसमेत गर्यो। मानिसलाई मानिसको रूपमा के भइरहेको छ भनेर बोल्न अश्वेत नागरिकलाई यस्ता आन्दोलनले निकै प्रोत्साहित गर्यो।
नेतृत्व तहमा महिलाको संख्या बढाउन के गर्न सकिन्छ ?
क्यानाडाली पत्रकार संघले करिब ५ हजार पत्रकार र २४२ समाचार कक्षमा सर्वेक्षण गरेको थियो। पत्रकारितामा महिलाको संख्या पुरुष जत्तिकै रहेको सर्वेक्षणमा देखियो। यद्यपि, क्यानाडेली समाचार कक्षहरूमा पनि नेतृत्व तहमा त्यति धेरै महिला देखिँदैनन्।
समाचार कक्षमा कार्यरत महिलामध्ये धेरै आंशिक रूपमा काम गर्नेवाला छन् भने कतिपय इन्टर्नसीपमा काम गरिरहेका छन्। भारत र नेपालमा पनि प्रायः यस्तै अवस्था छ। समाचारकक्षमा नेतृत्वमा महिला पुग्न सकेका छैनन्। नेतृत्वको कुरा गर्दा हामीकहाँ पनि अझै उस्तै समस्या छ। त्यसैले यसका लागि सकारात्मक हस्तक्षेप जरुरी हुन्छ।
हामी परिवर्तन गर्न चाहन्छौं भनेर मात्र पर्याप्त हुँदैन। परिवर्तनहरू समाचार कक्षभित्रै देखिनुपर्छ। परिवर्तन तपाईंको कुराकानीभित्र, तपाईंको सम्पादकीय सामग्रीभित्र र तपाईंले लेख्ने विषयवस्तु मै झल्कनुपर्छ। तपाईंहरूले एकअर्कालाई समर्थन गर्ने तरिकाहरू खोज्नुभयो भने मात्र महिला नेतृत्वमा पुग्न सक्छन्।