‘कसले पढाइदेला मेरा मुटुका टुक्रालाई’
आमाको हत्या गरी बाबु जेलमा गएपछि बालबालिकाको बिचल्ली, आफैंलाई स्याहार गर्नुपर्ने बेलामा नातिनतिनाको स्याहार गर्न बाध्य छिन् हजुरआमा
सुर्खेत : बुढेशकाल लागेपछि शरीर कमजोर बन्यो। काम गर्न परै जाओस् राम्रोसँग हिँडडुल गर्न पनि सक्दिनन्। यतिबेला ७८ वर्षीया भविसरा आले आफैंलाई स्याहार तथा आरामको खाँचो छ। तर, उनै भविसरालाई बुढेशकालमा कलिला नातिनतिनाको स्याहार गर्नुपर्ने बाध्यता आइलागेको छ। बेसहारा बनेका नाति र नातिनीको पढाइ छुट्ने चिन्ताले भविसरा हिजोआज थलिएकी छन्।
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्मामा भविसराका छोरा अमर आलेले गत मंसिर २० गते पत्नी मीना आलेको हत्या गरे। घरायसी विवादकै कारण अमरले पत्नी घाँटी रेटेर हत्या गरे। पत्नीको हत्या गरेर टाउको झोलामा बोकेर अमरले प्रहरी चौकीमा आत्मसमर्पण गरे। उनी अहिले जेलमा छन्। आमाको हत्यापछि बाबु जेलमा परेपछि उनीहरूका दुई सन्तान बेसहारा बनेका छन्। आमाबाबुको काखमा रमाउँदै पढ्ने उमेरमा ११ वर्षीय छोरा दिनेश आले र आठ वर्षीया छोरी देविका आले सहाराविहीन बनेका हुन्।
घटनापछि तोक्मास्थित घरमा ताला लागेको छ। कलिलै उमेरमा दिनेश र देविकालाई आफ्नो पढाइ छुट्ने चिन्ता छ। यद्यपि, उनीहरू गाउँमै रहेको नेराप्रावि तोक्माका पढिरहेका छन्। दिनेश कक्षा ४ र देविका कक्षा ३ मा अध्ययरत छन्। उनीहरूको पढाइ पनि राम्रो रहेको शिक्षक गौरीकुमारी आचार्यले बताइन्। तर, अभिभावक र भरपर्दो सहारा नहुँदा उनीहरूको पढाइ बिचमै छुट्ने चिन्ता विद्यालय र छिमेकीको छ। हिजोआज हजुरआमा भविसराको संरक्षमणमा रहेका दिनेश भन्छन्,‘धेरै पढ्ने मन छ। पढेर राम्रो काम गर्ने चाहाना छ। तर, घरमा कोही नहुँदा नरमाइलो लागेको छ। हजुरआमाले नै खाना खुवाएर स्कुल पठाउनुहुन्छ।’
दिनेश र देविकाको पढ्ने चाहना र लगाव भए पनि आर्थिक अभावकै कारण उनीहरूको पढाइ रोकिने चिन्ता हजुरआमा भविसरालाई छ। ‘सानैमा टुहुरा भए, अहिले त मैले पाउने वृद्धभत्ताबाट उनीहरूको लालनपालन गरेकी छु’ भविसराले निराश हुँदै भनिन्,‘म पनि कान्छी बुहारीको घरमा बस्छु। यो बुढेशकालमा आफैं त अरूको शरणमा छु। मैले नै सकिन भने अब यी मेरा मुटुका टुक्रालाई कसले पढाइदेला ? नातिनतिनाको पढाइ छुट्ने चिन्ताले म पनि थलिन थालेँ।’
कोही नहुनेको भगवान् हुने भन्दै भविसराले आफ्ना नातिनतिनाको पढ्ने चाहना पूरा गरिदिन सहयोगी मनलाई आग्रहसमेत गरिन्। नातिनतिनाले सहज रूपमा पढ्न पाएमा जीवनको उत्तरार्धमा आफूलाई पनि शान्ति र चयन मिल्ने उनको भनाइ छ।
घरको आर्थिक अवस्था कमजोर भएको र काम पनि गर्न नसक्ने हुँदा बालबालिकाको उच्च शिक्षा तथा लालनपालन गर्न धौधौ भएको उनको दुःखेसो छ। विद्यालयमा दिनेश र देविकाको पढाइ राम्रो भए पनि सहयोग गर्न नसकिएको विद्यालयको भनाइ छ। शिक्षक गौरीकुमारी आचार्यले भनिन्, ‘दुवै जनाको पढाइ राम्रो छ। तर, बाबुआमा नहुँदा उनीहरूको पढाइबीचमै रोकिने हो कि भन्ने चिन्ता बढेको छ। कुनै व्यक्ति वा संस्थाले सहयोग गरेको भए त उनीहरूले पढ्न पाउने थिए।’ आमाको हत्या र बाबु जेल गएपछि बालबालिकाको मनोअवस्थामा निकै फरक आएको उनले बताइन्।
दिनेश र देविकासहित भविसरा कान्छी बुहारी मनिसराकोमा बस्छन्। मनिसराका पति वैदेशिक रोजगारीमा छन्। मनिसराले अहिले आफ्ना दुई सन्तानसहित सासु भविसरा, दिनेश र देविका तथा साइँला जेठाजुका दुई सन्तानलाई पनि पाल्नुपरेको छ। सबै जनालाई एकैपटक पाल्नुपर्दा दिनेश र देविकाले उचित स्याहार तथा पढाइमा राम्रो वातावरण पाउन नसकेको मनिसरा बताउँछिन्।
बालबालिकालाई उचित लालनपालन र शिक्षामा सहयोगको खाँचो छ। पञ्चपुरी नगरपालिकका मेयर लालवीर भण्डारीले पनि पीडित बालबालिकालाई नगरबाट हालसम्म कुनै सहयोग गर्न नसकिएको बताए।