एमालेका युवा नेता शाहलाई प्रहरीले कुटपिट गरेको विरोधमा प्रदर्शन
जाजरकोट : एमालेका युवा नेता शाहलाई प्रहरीले कुटपिट गरेको विरोधमा खलंगामा प्रदर्शन गरिएको छ।
नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले जाजरकोटका सचिवालय सदस्य विश्वविक्रम शाहलाई प्रहरीले सोमबार बेलुका गरेको कुटपिट तथा अभद्र व्यवहारको विरोधमा सदरमुकाम खलंगामा प्रदर्शन गरिएको हो।
कुटपिटको विरोधमा निस्किएको स्थानीयको जुलुसले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको छ।
प्रहरी दमन मुर्दावाद, नागरिक कुट्न पाइदैन, नागरिक सर्वोच्चता कायम गर लगायतका नारा लगाउँदै प्रदर्शन गरिएको थियो।
घटनाको छानविन गरी दोषी प्रहरीलाई कारवाही गर्नुपर्ने, पीडितलाई न्याय दिलाउन, नागरिक सर्वोच्चता कायम गर्नुपर्ने, नागरिकले निर्भय पूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टीको माग गदै प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाइएको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बताए।
भाई नाता पर्ने मीनकृष्ण शाहको उपचारका लागि रोयल फार्मेसी ठाँटीमा उपचार गर्ने क्रममा प्रहरी आएर सिठी फुक्दै एक्कासी मेडिकल बन्द गर्न आदेश दिएका थिए।
घाइतेको उपचार गर्न दिनुहोस्। अपराधी नै भएपनि उपचार पहिलो प्राथमिकता हो भनेर विश्वविक्रमले भन्ने वित्तिकै बढी बोल्छस् भनेर प्रहरीले उनलाई कुटपिट गरेको थियो।
विश्वविक्रमका भाई मीनकृष्णले काम गर्न बसेका युवाहरूलाई कुटपिट गरी भाग्दै गर्दा प्रहरीले पक्राउ गरी प्रहरी चौकीमा ल्याएको थियो। भाग्ने क्रममा उनी सामान्य घाइते भएको प्रहरीको भनाइ छ।
मीनकृष्ण घाइते भएको जानकारी पाएपछि प्रहरी चौकी पुगेका विश्वविक्रम र प्रहरीबीच विवाद र भनाभन भएको थियो। दर्जनौको संख्यामा आएका प्रहरीले विश्वविक्रमलाई कुटपिट गर्न थालेपछि कुटपिट नगर्न अनुरोध गर्ने सर्वसाधारणलाई समेत कुटेका थिए।
कुटपिट गरेपछि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पुरर्याइएका शाहलाई सामान्य सोधपुछपछि राति नै छोडिएको थियो।
जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले प्रहरी इकाइ तोडफोड गर्न खोजेको र प्रहरी चौकीमै प्रहरीलाई धम्की दिएपछि नियन्त्रणमा लिएर सामान्य सोधपुछ गरिएको तर कुटपिट नगरेको दावी गरे।