शान्ति प्रकिया निष्कर्षमा पुर्याउन सरकार जिम्मेवार हुनुपर्छ : नेपाल बार एशोसिएशन
आफ्नो कार्य क्षेत्राधिकार अन्तर्गतका विषयहरुमा सरोकारवाला निकायले कार्य गर्ने नै हुँदा सोही विषयलाई लिएर क्षेत्राधिकारको विवाद सिर्जना हुने गरी भ्रमपूर्ण अभिव्यक्तिहरु प्रकाशित भएको भन्दै बारले ध्यानाकर्षण गराएको छ।
काठमाडौं : नेपाल बार एसोसिएशनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सरकार जिम्मेवार हुनुपर्ने बताएको छ। एसोसिएशनले मंगलबार विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र पीडितलाई उचित न्याय प्रदान गर्न सरकार र गठित आयोगहरु नै जिम्मेवार हुन जरुरी रहेको बताएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने उद्देश्यले विगतमा भएको विस्तृत शान्ति सम्झौता, नेपालको संविधान तथा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको काम, कर्तव्य र क्षेत्राधिकार उल्लेख भई दुवै आयोगहरुले आफ्नो क्षेत्राधिकार अन्तर्गतका कार्यहरु गर्दै आइरहेको अवस्थामा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरु नै जिम्मेवार हुन जरुरी छ।’