अफ्रिकन स्वाइन फिभरले तीन सय बंगुर मरे

अफ्रिकन स्वाइन फिभरले तीन सय बंगुर मरे
सुन्नुहोस्

बेंसीसहर : लमजुङ सदरमुकाम बेंसीसहरमा अफ्रिकन स्वाइन फिभर फैलिएको छ। जसका कारण बेंसीसहर नगरपालिकामा मात्रै तीन सय बंगुर मरेका छन्। 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका अनुसार पछिल्लो साता फिभर फैलिँदा बंगुर मर्न थालेको हो। हालसम्म १ सय १५ पाठापाठी र १ सय १५ ठूला बंगुर मरेका कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठले बताए। 

उनका अनुसार बेंसीसहर-१, ३, ६, ७ र ८ मा बंगुरमा अफ्रिकन स्वाइन फिभर देखिएको छ। बेंसीसहरभित्र ५ सय १० पाठापाठी र ४ सय ३४ ठूला बंगुर थिए। मरेका सबै बंगुरमा अफ्रिकन स्वाइन फिभर देखिएको कार्यालयले जनाएको छ। एउटै फार्मको १ सयभन्दा बढी बंगुर मरेपछि किसान चिन्तित बनेका छन्। 

यो रोग देखिएमा बंगुर तथा पाठापाठीमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, पखला लाग्ने, छट्पटाउने लक्षण देखिन्छन। 

रोगी बंगुर वा पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक ठाउँबाट अर्को ठाउँमा पुग्दा यो रोग सजिलै सर्ने भएकाले जैविक सुरक्षाका विधि अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन्।

हाल बेंसीसहरमा बढी मात्रामा देखिएकाले जिल्लाभित्र र बाहिर लान ल्याउन र अन्यत्र लैजान प्रतिवन्ध लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।  

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले एक सूचना जारी गरी घरपालुवा सुगुर, बंगुर र जंगली बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभर संक्रमणले छोटो समयमा महामारीको रुप लिने भन्दै ओसारपसारमा प्रतिबन्ध लगाएको जनाएको छ।

उच्च मृत्युदर भएको यस रोग फैलन नदिन पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १५ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाइएको केन्द्रका प्रमुख श्रेष्ठले बताए। 

यो रोगविरुद्ध हालसम्म कुनै खोप वा औषधि उपलब्ध नभएकाले संक्रमण फैलन नदिन बंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई गर्न, निसंक्रमण गर्ने र बंगुरहरू मरेमा सुरक्षित तवरले खाडलमा गाड्न पशु सेवा विज्ञ केन्द्र लमजुङले अनुरोध गरेको छ।

‘यो रोगविरुद्ध हालसम्म कुनै खोप वा औषधि उपलब्ध छैन। संक्रमण फैलन नदिन बंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई, निसंक्रमण गर्ने र बंगुर मरेमा सुरक्षित तवरले खाडलमा गाढ्ने हो,’ डा. श्रेष्ठले भने, ‘यसबाट संक्रमण फैलिने सम्भावना कम हुन्छ।’

बंगुरबाट मानिसमा भने यो रोग नसर्ने चिकित्सकहरूले बताएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.