जुम्लामा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण
वीरेन्द्रनगर : जुम्लाको पातारासी गाउँपालिकाको लोठचौरमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण हुने भएको छ।
पातारासी गाउपालिका-३ स्थित २ हजार ८ सय मिटर उचाइमा रहेको लोठचौरमा निर्माण हुने हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको मंगलबार शिलान्यास गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्।
उक्त ट्रेनिङ सेन्टर निर्माणका लागि यो आर्थिक वर्षमा संघीय सरकारबाट ५० लाख बजेट विनियोजित भएको छ। उक्त बजेट कार्यान्वयन गर्नका लागि उपभोक्ता समितिमार्फत काम सुरु गरिएको हो।
यो ट्रेनिङ सेन्टर निर्माणका लागि बजेट क्रमागत रूपमा आउने हो। उपाध्यक्ष रोकायाले भनिन्, 'लोडचौरमा निर्माण हुने हाइअल्टिच्युट बिचमा तातोपानी गाउँपालिकाको टोप्लामा सारिएको थियो। पुन अहिले लोठचौरमा नै निर्माण हुने गरी काम अगाडि बढेको छ।'
पूर्व पशुपछी विकास मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम (कुवँर) को विशेष पहलमा पातारासीको लोठचौरमा हाइअल्टिच्युट सेन्टर बन्ने लागेको उपाध्यक्ष रोकायाले बताइन्।
करिब ढाई करोड बराबरको काम गत आर्थिक वर्षहरूमा भइसकेको छ। खेलकुदका दीर्घकालिन योजनाहरू अघि सारेर संघीय र प्रदेश सरकारसँग सहकार्य समन्वयबाट विकास निर्माणका योजनाहरू निर्माणको कामलाई पनि अगाडि बढाएको उपाध्यक्ष रोकायाको भनाइ छ। उनका अनुसार सडकको सहज पहुँच पनि छ। सडक स्तरोन्नति समेत हुँदैछ।
निर्माणाधीन हाइअल्टिच्युट ट्रेनिङ सेन्टर कर्णालीकै नमुना हुने गाँउपालिका अध्यक्ष पुर्णसिंह बोहोराले बताए। खेल करिअर वृद्धि गर्न आफ्नो अभ्यास गर्न आवश्यक पूर्वाधार नहुँदा चिन्तित भएका खेलाडीहरूका लागि अल्टिच्युट ट्रेनिङ सेन्टर सञ्चालनमा आएपछि निकै राहत पुग्ने अध्यक्ष बोहोराको भनाइ छ।