एमालेका नेता शाहलाई प्रहरीले कुटपिट गरेको बारे छानविन
जाजरकोट : नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले जाजरकोटका सचिवालय सदस्य विश्वविक्रम शाहलाई गत सोमबार बेलुका प्रहरीले कुटपिट गरेको विषयमा जिल्ला प्रशासन कार्यालयले छानबिन गर्ने भएको छ।
सुरक्षा निकाय, स्थानीय प्रशासन, राजनैतिक दल, नागरिक समाज लगायतको सर्वपक्षीय बैठकले उक्त घटनाको छानबिन गर्न कार्यालयलाई जिम्मा दिने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको नेतृत्वमा जिल्ला प्रशासनले घटनाको छानबिन गर्ने भएको हो।
पीडकलाई कारवाही गरी पीडितलाई न्याय दिनु पर्ने माग सहित अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। बुधबार बिदा भएकाले बिहीबार कुटपिटमा परेका पीडित र पीडक प्रहरीलाई बोलाएर घटनाबारे सत्य तथ्य बुझेर सोही आधारमा के गर्ने कसरी सहज निकास निकाल्ने भन्ने बारे निर्णय गरिने प्रजिअ न्यौपानेले बताए।