समृद्धिको जनसपना
विकासको स्वरूप र संरचना कस्तो हुने ? राष्ट्रिय आवश्यकताहरू के के हुन् ? बहसको सट्टा कुनै सफल विदेशी मोडेल हुबहु नक्कल गर्ने सवालमा बढी केन्द्रित देखिन्छ।
सपना त्यो होइन जो निदाउँदा देखिन्छ, सपना त त्यो हो जसले निदाउनै दिँदैन’ एपीजे अब्दुल कलामको यो भनाइ झैं आमजनतामा समृद्ध नेपाल र सुखी नेपालीको सपना छ। जसले वर्षौंदेखि निदाउन दिएको छैन।
हरेक पटक जब पुरानो सरकार फेरिएर नयाँ बन्ने क्रम सुरु हुन्छ। तब वर्षौंदेखिको नेपालीको सपना पुनः एक पटक जुर्मुराउँछ। तर, विडम्बना केही समय नबित्दै त्यो फेरि मुर्झाउँछ। अनि नेपालीहरू फेरि पनि भन्न बाध्य हुन्छन्, ‘आखिर सतिले सरापेको देश न हो।’ नेपालीहरूमा यस्तो धेरैपटक भइसकेको छ। तर सपना देख्न भने उनीहरूले कहिल्यै छाडेनन्।
विगत लामो समयदेखि नेपाली राजनीति अस्थिर छ। अस्थिर राजनीतिक चित्रको रूपमा जनताले विभिन्न शासन व्यवस्था भोगे। राणाकालदेखि प्रजातन्त्र हुँदै लोकतन्त्र र गणतन्त्रको परिवर्तन देख्ने मौका पाए। लोकतन्त्रको उच्चतम् उपलब्धिको रूपमा एकै समयमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्ता महŒवपूर्ण पदहरूमा महिला आसीन हुन पुगे। नेपाली जनतालाई विकास र समृद्धि हेर्नुछ। जसले आफ्नै मौलिक वाद र सुगन्ध बोकेको होस्।
स्थानीय निकायदेखि केन्द्रीय प्रशासनिक इकाइ सिंहदरबारसम्म समान आयतन र घनत्वमा बहस हुने विषय हो विकास र समृद्धि। तर यस्ता बहसहरू हाम्रो विकासको स्वरूप र संरचना कस्तो हुने ? हाम्रो राष्ट्रिय आवश्यकताहरू के हुन् ? भन्दा पनि कुनै सफल विदेशी मोडेल हुबहु नक्कल गर्ने सवालमा बढी केन्द्रित देखिन्छन्।
विकास एक निरन्तर चलिरहने बहुआयामिक अनि बहुरेखीय दृष्टिकोण हो। एउटा क्षेत्र वा आयाममा मात्र हुने प्रगतिले विकास पूर्ण हुन सक्दैन। मानव जीवन अनि यसलाई छुने सामाजिक, आर्थिक, भौतिक, आध्यात्मिक, शैक्षिक, सांस्कृतिक आदि क्षेत्रमा हुने सकारात्मक स्थायी परिवर्तनको समष्टि नै विकास हो। नेपालजस्तो विकासोन्मुख देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन केही निश्चित आधार स्तम्भहरूको आवश्यकता पर्छ जसलाई हामी पूर्वाधार भन्दछौं। यसको विकासले नै देशमा सम्भावनाको नयाँ ढोका खोल्न सक्छ।
सन् १९६० देखि ९० को दशकमा दक्षिण कोरिया, सिंगापुर, ताइवान्, हङकङ आदि देशहरूले पूर्वाधार विकासकै जगमा टेकेर ठूलो आर्थिक विकास गरे। विगतको तुलनामा पूर्वाधारको क्षेत्रमा नेपालले पनि लगानी त बढाएको देखिन्छ। तर यहाँको भू–वनावट, भूराजनीति, पर्यावरणीय संवेदनशीलता, माग तथा दीर्घकालीन आवश्यकता साथै लागत र लाभको यथेष्ट विश्लेषण हुन नसक्दा अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन। ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने आधार भनेर निर्माण भइरहेका वा सम्पन्न भइसकेका कतिपय राष्ट्रिय गौरवका आयोजनाहरूको समेत औचित्यता माथि नै प्रश्न चिह्न खडा भएको छ। यसो हुनुले हाम्रो पूर्वतयारी नपुगेको स्पष्ट महसुस हुन्छ।
नेपालको लागि अर्को महŒवपूर्ण विषय यातायात हो। पूर्वाधार विकासमा लम्किँदै गरेकाले यातायात क्षेत्रले महŒवपूर्ण भूमिका खेलेको हुन्छ। यातायात भन्नेबित्तिकै यो सर्वसुलभ, भरपर्दो र द्रुत हुन जरुरी छ। यो सवालमा रेल यातायात सबैभन्दा उत्कृष्ट विकल्प हुन सक्छ जुन राष्ट्रिय गौरवको आयोजनामा समावेश भइसकेको पनि छ। कनेक्टिभिटीमा हामी आन्तरिक र बाह्य गरेर दुई किसिमका सञ्जाल विकास गर्न सक्छौं। जसमा राजधानीलगायतका ठूला सहरहरूलाई सस्तो अनि छोटो समयमा साना सहरहरूसँग जोड्ने आन्तरिक कनेक्टिभिटी आवश्यक छ। त्यस्तै, छिमेकी मुलुकका ठूला व्यापारिक सहरहरूसँग जोड्ने बाह्य कनेक्टिभिटीको महत्त्व छ। यसो गर्दा देशका ठूला सहरहरूको चाप साना सहरहरूमा स्थानान्तरण हुने र साना सहरहरूको समेत आर्थिक गतिविधिमा वृद्धि हुन्छ।
पूर्वाधारकै क्षेत्रमा नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पूर्ण क्षमताको, दूरकालीन आवश्यकतालाई समेत मध्यनजर गरी एक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न अत्यन्त आवश्यक छ। जुन पछिल्लो उड्डयन प्रविधियुक्त, भौगोलिक रूपले सहज अनि हवाई सुरक्षा, व्यवस्थापनका दृष्टिले भरपर्दो र विश्वसनीय होस्। यसले हाम्रो पर्यटन उद्योगलाई विश्वबजारमा अझ विस्तृत बनाउनुका साथै हवाई आयात–निर्यातलाई सस्तो बनाउने मात्र नभएर भविष्यमा ट्रान्जिट हब बन्ने सम्भावनालाई समेत खोल्दछ। आन्तरिक जल यातायातमा देखिएको हाम्रो नयाँ सम्भावना र जटिल भूगोलबीच गर्न सकिने तादात्म्यतालाई विस्तृत अध्ययन गरी पूर्ण उपयोग गर्न सक्नुपर्छ। मोटरबोट हाम्रा दूरदराजमा रहेका बस्तीहरूलाई जोड्ने उत्कृष्ट मौलिक यातायात बन्नेमा दुई मत छैन।
सूचना र प्रविधिको वर्तमान युगमा यस माथिको यति निर्भरता मानव इतिहासमा पहिला कहिल्यै थिएन। यस निर्भरताले हरेक राष्ट्रको आन्तरिक र बाह्य सुरक्षा झन् बढी जटिल बनाइदिएको छ। यस जटिलतालाई चिर्दै राष्ट्रलाई सुरक्षित राख्न साइबर सुरक्षाको क्षेत्रमा बलियो पूर्वाधार निर्माण गर्नु आजको हाम्रो अर्को चुनौती हो।
जलस्रोतमा नेपाल धनी छ। यसैबाट उत्पादित विद्युत् बेचेर नेपाल आर्थिक रूपमा पनि धनी बन्न सक्छ भन्ने हाम्रो पुरानो बुझाइ अब पुनव्र्याख्या गर्ने बेला भएको छ। नेपाल विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदन २०२१-२०२२ का अनुसार औद्योगिक ग्राहकको संख्या १.३६ प्रतिशत मात्र छ जबकि गार्हस्थ्य ग्राहक भने ९२.७१ प्रतिशत छन्। यसबाट नेपाली उद्योगहरूमा विद्युतीय पूर्वाधारको अवस्था के छ भन्ने कुरा स्पष्ट हुन्छ। यसर्थ विद्युत् निर्यात गरेर लिने आम्दानीभन्दा देशभित्रकै उद्योग कलकारखाना, विद्युतीय सवारीसाधन र विद्युतीय चुलोको पूर्ण विकास गरी स्वदेशमै विद्युत् खपत बढाउँदा बढी आम्दानी लिन सकिन्छ भने किन नगर्ने ? यसले ठूलो मात्रामा खपत भइरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको आयात घट्न गई व्यापार घाटा न्यूनीकरणमा ठूलो सहयोग पुग्छ। औद्योगिक उत्पादनमा हुने वृद्धिले दिनप्रतिदिन बढिरहेको बेरोजगारीको समस्यालाई समेत केही कम गर्न सक्छ। यसपश्चात्को बचत विद्युत् भने निर्यात नै गर्ने हो।
कुल जनसंख्याको करिब ६० प्रतिशत जनता कृषिमा आबद्ध भएको हाम्रो देशमा अर्को महŒवपूर्ण पूर्वाधार सिँचाइ हो। तर केही आयोजनाहरूमा देखिएको अत्यन्त ढिलासुस्ती, कमजोर र लापरबाही व्यवस्थापन आदिले गर्दा यसबाट हुने लाभ संकुचित भइरहेको छ। सिँचाइको उचित विकास र विस्तार गर्न सके राष्ट्रिय आयमा कृषि क्षेत्रको योगदान अझ बढ्ने निश्चित छ।
विज्ञान प्रविधि द्रुत गतिमा दौडिरहेको छ। केही वर्षदेखि समग्र मानव दुनियाँलाई नै चुनौती दिने अड्कल गरिएको आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिको मूल स्रोत मानिस नै हो। मानव संशाधन नै हो जसले आज हरेक क्षेत्रमा अकल्पनीय प्रगति गरिरहेको छ। यो सबको पछाडि मानिसमा रहेको ज्ञान, सीप र क्षमता नै हो। जसको विकास र विस्तारमा महŒवपूर्ण भूमिका शिक्षाको हुन्छ।
मुलुकको शिक्षा प्रणालीको जग नै कमजोर धरातलमा उभिएको देखिन्छ। यसले विद्यार्थीमा रेडिमेड सूचना प्रदान गर्दै उनीहरूको मस्तिष्क भण्डारण क्षमता मात्र ओगटिरहेको छ। जुन आज एउटा सामान्य स्मार्टफोनले गर्न सक्छ। तर उक्त सूचनालाई आफ्नो बौद्धिकता र तार्किकताले परख गर्दै ज्ञानमा परिणत गर्न भने यो प्रणालीले सिकाएन। हाम्रो शिक्षालाई हामीले एउटा निश्चित फ्रेमभित्र यसरी बाँध्यौ कि यसले हरेक मानिसभित्र रहेको अपार सम्भावनालाई उचित उजागर गर्न सकेन।
शिक्षा वास्तवमा मानव बुझाइ र क्षमताको दायरा वृद्धि गर्ने साधन बन्नुपर्छ। भौतिकदेखि पराभौतिकसम्मको ज्ञानको ढोका यस्ले खोल्न सक्नुपर्छ। शिक्षालाई यो दूरकालीन उद्देश्यका अतिरिक्त आजको आवश्यकतासँग पनि जोड्न उत्तिनै आवश्यक छ। जुन सीपमूलक, प्राविधिक अनि उद्यमशीलतामा आधारित होस्। यसले हाम्रो जनसंख्यालाई दक्ष र प्रतिस्पर्धी मानव पुँजीमा रूपान्तरण गर्न ठूलो सघाउ पुर्याउँछ। यसको अलावा माध्यमिक तहदेखि नै शिक्षामा राष्ट्रियता, नैतिकता र अध्यात्मसमेत जोड्न आवश्यक छ जसले एक सभ्य, सु–संस्कृत र राष्ट्रप्रेमी नागरिक पैदा गर्न सकोस्।
देशको विकास र समृद्धिको लागि शिक्षासँगै अर्को महŒवपूर्ण पूर्वाधार स्वास्थ्य हो। शारीरिक र मानसिक रूपमा स्वस्थ्य नागरिकबिना कुनै पनि देशको उन्नति र प्रगति कल्पना गर्न सकिँदैन। यसैलाई मध्यनजर गर्दै पछिल्ला वर्षहरूमा सरकारले स्वास्थ्य बिमा कार्यक्रमलगायत स्वास्थ्य सेवाको विकास र विस्तारमा रामै्र बजेट खर्चिएको देखिन्छ। जुन अत्यन्त सकारात्मक छ। तर रोग लागेपश्चात् दिइने सुविधाभन्दा रोग लाग्नै नदिनु चाहिँ सरकारको पहिलो प्राथमिकता बन्नुपर्छ। यसका लागि कम्तीमा प्रत्येक पालिकामा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्छ। पुर्खाहरूले विकास गरेको योग आयुर्वेदमा आधारित जीवन पद्धति अपनाउन जनतालाई प्रेरित गर्नुपर्छ। दैनिक उपभोग गर्ने स्वदेशी तथा आयातित खाद्यान्न र फलफूल तथा सब्जीको खाद्य गुणस्तर परीक्षण गर्न अनिवार्य छ।