गाउँपालिकाको केन्द्रमा उद्यान
बेनी : म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ। बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो।
बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर उद्यान बनाउन गाउँपालिका, गण्डकी प्रदेश र समुदायको एक करोडभन्दा बढी लगानी भएको छ।
बाबियाचौर बजार नजिकै चार रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।
‘विभिन्न प्रजातिका बिरुवा रोपिएको, दुबो बिछ्याइएको, बालबालिका खेल्ने र जेष्ठ नागरिक बस्ने सुविधा भएको उद्यान परिसरमा संग्रहालय भवन पनि निर्माण भएको छ,’ उनले भने ‘खानेपानी, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय लगायतका पूर्वाधार बनाएका छौं।’
गाउँपालिकाको केन्द्रमा आउने पर्यटकहरूको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकहरूको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क प्रभावकारी बनेको छ।
उद्यान परिसरमा रहेको भवनमा गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, भेषभुषा झल्कने सामग्री संकलन गरेर संग्रहालय बनाउने तयारी गरेको अध्यक्ष रोकाले बताए।
उद्यान निर्माणका लागि बाबियाचौरका इन्द्रबहादुर अधिकारीको परिवारले ३ रोपनी, १५ आना, ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशूल्क उपलब्ध गराएका थिए।
थप पाँच आना जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले १ लाख रुपैयाँ र मंगला युवा क्लबले २ लाख रुपैयाँ सहयोग गरेका थिए।
पार्कलाई निःशुल्क जग्गा दिने इन्द्रबहादुर अधिकारीको सम्मानमा पार्क परिसरमा अधिकारीको अर्धकदको सालिक बनाइएको छ। संग्रहालयको नाम ‘मंगला खड्ग नन्द संग्रहालय’ नामकरण गरिएको छ।
म्याग्दी नदी किनारमा निर्माण भएको पार्क स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महशुस हुने स्थानीय केशव कडेलले बताए।
पार्क निर्माण गर्न प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालयबाट १८ लाख रुपैयाँ, सामाजिक विकास मन्त्रालयले संग्राहलय भवन बनाउन १६ लाख रुपैयाँ र ज्येष्ठ नागरिक आश्रयस्थलका लागि सात लाख रुपैयाँ बजेट उपलब्ध गराएका छन्।
पार्कको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र संग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले ६० लाख रुपैयाँभन्दा बढी लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए।