ए डिभिजन लिग : साविक विजेता मछिन्द्रको लगातार दोस्रो हार, आर्मी २-० ले विजयी
खेलमा जावलाखेल युथ क्लबसँग ३–१ ले पराजित भएको मछिन्द्र बिहीबार विभागीय महारथी त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० ले पराजित भयो।
काठमाडौं : साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगका सुरुआती दुई खेलमा लगातार पराजय भोगेको छ। पहिलो खेलमा जावलाखेल युथ क्लबसँग ३–१ ले पराजित भएको मछिन्द्र बिहीबार विभागीय महारथी त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० ले पराजित भयो।
गत सिजन अपराजित रहँदै च्याम्पियन बनेको मछिन्द्रले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो।
दोस्रो हाफमा आक्रमक बनेको आर्मीका लागि ४८ औं मिनेटमा दीपक गुरुङले हेडरमार्फत गोल गरेका थिए। आर्मीले पाएको कर्नरमा दीपकले उत्कृष्ट हेडरमार्फत गोल गरेका थिए।
मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले आर्मीका दीपकलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीमा विभागीय टिमले अग्रता दोब्बर पार्ने मौका पायो। आर्मीका नवयुग श्रेष्ठको प्रहारमा गोलकिपर विशाल श्रेष्ठ निरीह बन्दा मछिन्द्र २–० ले पछि परेको थियो।
दुई गोलले पछिपरेको मछिन्द्रले खेलमा फर्किने कोसिस गरे पनि फिनिसिङमा चुक्दा लगातार दोस्रो खेलमा पराजित हुनुपर्यो।
पहिलो खेलमा संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको आर्मीले दुई खेलबाट चार अंक जोडेको छ। यस्तै, पहिलो खेलमा जावलाखेलसँग पराजित मछिन्द्र उपाधि होडमा पिछडिएको छ।