क्रसकन्ट्री दौडको उपाधि पर्वतका अनिसलाई
स्याङ्जा : स्याङ्जाको पुतलीबजार नगरपालिका-९ स्थित कोल्मामा शुक्रबार आयोजित तेस्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिताअन्तर्गत २० र १० किलोमिटर दौड सम्पन्न भएको छ।
२० किमिमा पर्वत फलेबासका अनिस थापामगर प्रथम भए। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको प्रतियोगितामा विजेता थापाले निर्धारित दूरी १ घण्टा ४ दशमलव ३६ मिनेटमा पार गर्दै उपाधि जितेका हुन्। उपाधिसँगै उनले ३५ हजार रुपैयाँ, पदक र प्रमाणपत्र पाए।
नेपाल आर्मीका खेमराज बस्नेतले सोही दूरी १ घण्टा ६ दशमलव ५६ मिनेटमा पार गर्दै द्वितीय भए। उनले २५ हजार नगद सहित अन्य पुरस्कार पाए।
एक घण्टा ८ दशमलव १३ मिनेटमा दूरी पार गर्दै आर्मीकै सुवास कार्की तेस्रो भए। उनले १५ हजार नगदसहित अन्य पुरस्कार पाए।
यसैगरी २१ वर्षमुनिको १० किलोमिटर पुरुष दौडमा गोरखा सिरानचोकका सन्दीप ढकाल प्रथम भएका छन्।
उनले निर्धारित दूरी ४३ दशमलव ३० मिनेटमा पार गर्दै १५ हजार रुपैयाँ पुरस्कार पाए। गोर्खाकै दिनेश बोगटीले ४४ दशमलव २० मिनेटमा पार गर्दै दोस्रो भई उनले २० हजार नगद पाए।
रुकुम पुथाउत्तरगंगाका मनोज रोका मगर तेस्रो हुँदै नगद ७ हजार पाउन सफल भए। उनले निर्धारित दूरी ४६ दशमलव ५ मिनेटमा पार गरेका थिए।
२० किलो मिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विधामा सञ्चालन भएको प्रतियोगितामा कोल्मादेखि राङभाङ हुँदै काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, कोल्मासम्म तोकिएको थियो।
२०७५ बाट सुरु गरिएको प्रतियोगिता २०७७ र २०७८ मा भने कोरोनाका कारण रोकिएको थियो।