विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा
वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमको सुरु गरेको छ।
शुक्रबार एक कार्यक्रमका बीच वीरेन्द्रनगर चार जना अतिविपन्न परिवारका सदस्यलाई बिमा परिचय पत्र हस्तान्तरण गरेर औपचारिक रूपमा कार्यक्रमको सुरु गरिएको हो।
वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालले चार जना अति विपन्न परिवारका सदस्यलाई बिमा परिचय पत्र हस्तान्तरण गर्दै कार्यक्रमको थालनी गरेकी छन्।
नगरपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न नागरिकको स्वास्थ्य बिमा कार्यक्रम गर्ने लक्ष्य लिएको थियो। त्यसै अनुसार बजेटको पनि व्यवस्थापन गरेको थियो।
नगर प्रमुख ढकालले संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई कार्यान्वयन गर्न नगरपालिकाले महत्वकांक्षी योजनाका रूपमा बिमा कार्यक्रमको शुभारम्भ गरेको बताइन्।
उनले भनिन्, 'स्वास्थ्य सेवा सबैको पहुँचमा पुगाउने र नेपालको संविधानले समाजवादको नीति लिए अनुरूप राज्यबाट प्रवाह हुने सेवा सुविधाहरू सबै नागरिकहरूलाई सहज रूपमा दिनका लागि पनि यो कार्यक्रम थालनी गरेका हौँ। नेपाल सरकारले तोकेको अतिविपन्न पहिचानको मापदण्डलाई अनुसरण गर्दै आर्थिक अभावकै कारण कसैले पनि स्वास्थ्य बिमाबाट बन्चित हुनु नपरोस् भनेर निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरिएको हो।'
स्वास्थ्य क्षेत्रका लागि स्थानीय सरकारले ल्याएको बिमा कार्यक्रमले लक्षित वर्गलाई लाभ पुग्ने उनको विश्वास छ।
स्वास्थ्य बिमा बोर्ड कर्णालीसँगको सहकार्यमा नगरपालिकाका १६ वटै वडाका अतिविपन्न परिवारको पहिचान गरी बिमा कार्यक्रममा समावेश गरिने नगरपालिकाले जनाएको छ।
उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाले हरेक विपन्न परिवारको बिमा गर्दा लाग्ने ३ हजार ५ सय बराबरको रकम आफैं भुक्तानी गरिदिनेछ। हालसम्म नगरपालिकामा करिब तीन सय विपन्न परिवारले बिमाका लागि निवेदन दिएका छन्।