बानीहरू
छायाँ जस्तै
विश्वासमा कति गहिरो गरी
जस्तो कि :
– ‘पतिको सेवा गर्नु भनेको
तीर्थब्रत गरेभन्दा पनि उत्तम हो’ भन्ने
मनुको भनाइमा नारीहरूलाई बानी पर्यो
र, हरेक नारी यही बानीमा चढेर
यहाँसम्म आइपुगे ।
– इतिहासको प्रत्येक पानामा
आफ्नो परिचयको अनुहार गिडिएको प्रसंग
र, आमाको न्यानो भाषाको
पखेटा काटिएको खाटा
उप्काउनु भनेको
अपराध हो भन्ने बानी
रैथाने आदिवासीहरूलाई पर्यो
र, हरेक आदिवासी यही बानीको
डुंगा सयर गर्दै यहाँसम्म आइपुगे ।
– मालिकको जयजयकार गर्ने हो
हजुरिया गर्ने हो भनेर
हजारौं सिप बोकेर उभिएको औंला
काटिएको खुनी समय हेर्न आँखा बन्द गर्ने बानी
दलित, उत्पीडितको पुस्तापुस्तालाई पर्यो
र, हरेक उत्पीडित यही बानीको
पिङ खेल्दै यहाँसम्म आइपुगे ।
– मधेसवासीको मनमा सधैं कालो भावना बहन्छ
तिनीहरूसँग कालो इज्जतमात्र छ भन्ने
शासकहरूको भनाइमा
मधेसीहरूलाई सधैं पिँधमा बसेर
विभेदको तातो हावा हम्कँदै बस्ने बानी पर्यो
र, हरेक मधेसी यही हावाको कुटिल इशारामा
नाच्दै यहाँसम्म आइपुगे ।
तर, अफसोस त यो छ कि–
आज पनि यो देशका मानिसलाई
उपरोक्त भनाइहरूमा भर छैन
कुनै द्रोह र विद्रोहमा मोह छैन
मान्छे सँगसँगै हिँड्ने बानीहरू
विश्वासमा कति गहिरो गरी
थपक्क बसेका हुन्छन् ।