एक्लोपन अवसर बन्न सक्छ !
लाखौं घरभित्र लाखौं कोठामा लाखौं एक्लोपन बस्ने सहरको कथा हो– एक्लो। एउटा सहरी, सभ्य र शालीन प्रेमकथाबाट जीवन दर्शनको मार्गनिर्देशन गर्ने प्रेमको कथा हो– एक्लो।
एक्लोपन अवसर हो, आफैंलाई चिन्ने। एक्लो मानिसले आफ्नो विकास पनि गर्न सक्छ। एक्लै हुँदा आफ्नो विनास पनि गर्न सक्छ। जसले एक्लोपनलाई साथी बनाउन सक्छ– सिर्जना गर्छ। एक्लोपनलाई दुस्मन बनाउनेहरूले विनास निम्त्याउन सक्छन्। यदि मान्छे कसैसँग भएर पनि एक्लो हुन्छ भने त्यो दुर्भाग्य नै हो।
बुद्धिसागरको नवीनतम औपन्यासिक कृति ‘एक्लो’मा प्रमुख पात्र श्रीलाई एक्लोको सर्वनाम बनाइएको छ। एक्लोपनको परिभाषामा परिवारसँग अलग रहनु हो भन्ने बुझाउन खोजियो भने श्री एक्लो हो। एक्लोपनको व्याख्यामा परिवारसँग अलग रहे पनि अन्य साथीभाइ, समाज, समूह आदिसँग घनिष्टता छ भने श्री एक्लो होइन। एक्लोपन निर्माण गर्ने व्यक्ति स्वयंको चुनाव पनि हुन सक्छ।
जसरी श्रीले आफ्नो एक्लोपन आफैंले निर्माण गरेको छ। नेपालको परिवेश हेर्ने हो भने सहरभन्दा गाउँ बढी भएको देश हो। पक्कै पनि गाउँका तुलनामा सहरमा भौतिक सुखसुविधा धेरै हुन्छन्। स्वास्थ्य, शिक्षा, अवसर, व्यापार, सपना आदिका लागि मान्छे गाउँबाट सहर छिर्छ। यीमध्ये सबैभन्दा बढी सहर छिर्ने कारण हुन्छ; उच्च सेवा प्राप्त गर्न। एउटा विद्यार्थी जब गाउँ छाडेर सहर छिर्छ; ऊबाट धेरै कुरा छुट्छ।
विज्ञानले भन्छ– कुनै पनि नयाँ कुराको बानी लगाउन २१ दिन लाग्छ। गाउँको परिवेशबाट सहर आएपछि वातावरणमा घुलमिल हुन २१ दिनको सिद्धान्त काम नलाग्न सक्छ। केहीलाई हावापानीले सहरको सामीप्यतासँग सजिलै घोलिदिन सक्छ भने केही श्री जस्तै एक्लो बनेर गाउँ लिएर सहरमा बाँच्छन्।
अन्त्यमा न गाउँको न सहरको भएर बाँचिदिन्छ। सहरसँग हातेमालो गर्न नसके पनि अँगालोमा बेर्न चाहने विद्यार्थी पात्रको कथा हो– एक्लो। सहरमा जे कामले आएको हो त्यही काम बिगारेर वार न पार बनेको विद्यार्थी जीवनको कथा हो एक्लो। विद्यार्थीसँगै सहरमा छिरेर जागिर गर्ने, श्रम गर्ने, व्यवसाय गर्ने आदि मान्छेको कथा हो– एक्लो। सहरको रंगीन संसारमा खाल्डो परेको सडकको गल्लीगल्ली टायर गुडाउने ट्याक्सी चालकको कथा हो– एक्लो।
एक्लोपन अवसर हो, आफैंलाई चिन्ने। एक्लो मानिसले आफ्नो विकास पनि गर्न सक्छ। एक्लै हुँदा आफ्नो विनास पनि गर्न सक्छ। जसले एक्लोपनलाई साथी बनाउन सक्छ– सिर्जना गर्छ। एक्लोपनलाई दुस्मन बनाउनेहरूले विनास निम्त्याउन सक्छन्।
कुनै जमानामा जतिबेला सिनेमा देखाउने प्रविधिमा डिजिटल प्रणाली आएको थिएन। त्यतिबेला रिलद्वारा फिल्म देखाइन्थ्यो। त्यही रिललाई एक चलचित्र मन्दिरबाट अर्को चलचित्र मन्दिरसम्म पुर्याउन सेकेन्ड सेकेन्डको हिसाबकिताब गरेर सडकमा भटभटे गुडाउनेको कथा हो– एक्लो। काठमाडौंमा सोझो हिँडेर मात्र गन्तव्यमा पुग्न सकिन्न भनेर बाहिर पत्रकारिता र भित्र अश्लील खुराक पाठकलाई पुर्याउन गरिएको दुई नम्बरी व्यवसायको कथा हो– एक्लो। जीवनभर मेहनत गरेर काठमाडौंमा घर बनाएर पनि आफ्नै सन्तानलाई घरमा राख्न नसक्ने घरभेटीको कथा हो– एक्लो। लाखौं घरभित्र लाखौं कोठामा लाखौं एक्लोपन बस्ने सहरको कथा हो– एक्लो। एउटा सहरी, सभ्य र शालीन प्रेमकथाबाट जीवन दर्शनको मार्गनिर्देशन गर्ने प्रेमको कथा हो– एक्लो।
एक्लो ५० को दशकको मध्यान्तरदेखि ६० को दशकको सुरुआतको समयसीमा बोकेको कथा। यो समयमा नेपालमा घटेका महत्त्वपूर्ण घटनाहरू एक्लोमा साक्षी भएका छन्। सशस्त्र द्वन्द्व र दरबार हत्याकाण्डका घटनाहरूलाई पात्रको जीवन भोगाइमा समावेश गरिएको छ। उपन्यासको एउटा पात्र समिराको बाले भाषालाई जसरी महत्त्व दिएका हुन्छन्। त्यसरी नै समिराले बाको यो वाणीलाई अनुसरण गर्छिन्। जसले भाषालाई महत्त्वपूर्ण कुरा मानेको छ। त्यसैगरी श्रीले पनि भाषाकै कारण आफ्नो परिचय बनाउन सफल हुन्छ।
भाषाको महत्त्वलाई लेखक बुद्धिसागरले पनि मज्जैले आत्मसात् गरेका छन्। बाह्रखरीलाई आख्यानकारले शब्दशब्दमा लय भरेका छन्। संगीतको नाद मिसाएका छन्। भाषा पढ्दा संगीत पढिरहेको अनुभूति हुन्छ– पाठकलाई। कविता बोकेका हरफहरूमा हृदयस्पर्शी पंक्तिले दर्शनको एउटा झिल्को बालेर जान्छ। हरेक वाक्यले गहिरो अर्थको डोब छोडेर जान्छ। यति सरल भएर भाषा रचिएको छ कि कहिकतै रोकिनु पर्दैन पाठकले। उपन्यासको भाषाशिल्पको कुरा गर्ने हो भने यस्तो लाग्छ यो कुनै न्यानो सुइटर आमाले छोरालाई मायालु कुरुषले बुनेर जाडो छेक्न दिएको हो
उपन्यासको विषय लाखौं विद्यार्थी जो घर छोडेर काठमाडौंमा वा कुनै सदरमुकाम पढ्न जान्छ्न्। उनीहरूलाई केन्द्रित गरिएको छ। योसँगसँगै सहरमा सपना पूरा गर्न जानेहरूको उपकथालाई समावेश गरिएको छ। सहरमै बस्ने बासिन्दाको कथालाई पनि जोडिएको छ। यो उपन्यास संघर्षको कथा हो। हरेक पात्रले आआफ्नो भागको संघर्ष गरिरहेको हुन्छ। त्यसो त जहाँ मान्छे छन् त्यहाँ संघर्ष छैन भने त्यो जिन्दगी काँचो भात बन्न नसकेको चामल हो। हरेक संघर्षको गन्तव्य सफलता हो भन्ने पनि हुन्न। सफल त्यही हो जसले असफलता पछि पनि अर्को संघर्षमा पूर्णविराम लगाउँदैन। सबै पात्रको जीवनमा मानिसभित्र हुने आशा, इच्छा, चाहना, सपना, ग्लानी र उदासीले पछ्याइरहन्छन्।
उपन्यासको एउटा पात्र सूर्यबहादुर जो रात्रिकालमा ट्याक्सी चलाउने काम गर्छ। उसले एकपटक एउटी निरीह केटीसँग सम्भोग गर्छ। उक्त केटी यति लाचार र निर्धो हुन्छे कि सम्भोगमा पनि एकदम लासजस्तो भैदिन्छे। त्यो घटनाको ग्लानीले सूर्यप्रसाद डिप्रेसनमा जान्छ। घटना सआदत हसन मन्टोको कथा ‘ठन्डा गोस्त’सँग एकदम मेल खान्छ। बुद्धिसागर मन्टोको कथाबाट किन प्रभावित हुन परेको होला ? श्रीको पक्षबाट हेर्ने हो भने उपन्यासको अन्त्य सुखद छ।
श्री उपन्यासभर संघर्षरत देखिए पनि अन्त्यमा जित्छ तर श्रीसँग भेटिएका बलिया चरित्रहरूको अन्त्य भने सुखद हुँदैन। श्री एउटा कायर, अन्तर्मुखी र सोझोबाट बिस्तारै सहरजस्तै चलाख र जिम्मेवार बन्दै जान्छ। समिराको अप्रत्यक्ष संगतले श्रीमा धेरै कुराको विकास गराएको देखिन्छ। एक्लोपन श्रीका लागि व्यक्तित्व विकास गर्ने र आफूलाई निर्माण गर्ने अवसर बन्छ।
यो उपन्यास यदि बीपी कोइरालाले लेखेको भए १५० पृष्ठभन्दा माथि पक्कै तन्काउने थिएनन्। उपन्यासमा हदैसम्म सूक्ष्म वर्णन गरिएकाले मोटाएर ४९४ पृष्ठको बनेको छ। अश्लील मानिएका शब्द कर्णाली ब्लुजपछि यसमा पनि पात्रद्वारा बोलाइएको छ। साहित्यमा फिल्मी मसला कति हदसम्म राख्न हुने÷नहुने त्यो बहसको कुरा होला। यो उपन्यासमा फिल्मी मसला अत्यधिक छ। अप्रत्याश्चित नाटकीय घटना पनि कुटीकुटी राखिएका छन्। यो उपन्यासमा आधारित भएर नेपाली फिल्म बन्ने हो भने एउटा सुन्दर फिल्म बन्न सक्छ।