आरआर क्याम्पसबाट खुकुरीसहित अनेरास्ववियूका नेता पक्राउ

क्याम्पसमा एमाले निकट अनेरास्ववियु र एसनिकट अनेरास्ववियूबीच मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुन थालेपछि बैतडीका चन्दलाई खुकुरीसहित नियन्त्रणमा लिइएको हो।
काठमाडौं : रत्न राज्यलक्ष्मी क्याम्पसबाट खुकुरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। स्वतन्त्र विद्यार्थी युनियनको आज उम्मेदवारी दर्ताका क्रममा खुकुरी देखाएपछि विद्यार्थी मनोज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
उनका अनुसार क्याम्पसमा एमाले निकट अनेरास्ववियु र एसनिकट अनेरास्ववियूबीच मनोनयन दर्ताको विषयलाई लिएर विवाद हुन थालेपछि बैतडीका चन्दलाई खुकुरीसहित नियन्त्रणमा लिइएको हो। घटनाका सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।
एस निकट अध्यक्ष सुदेश पराजुलीले रिबन काट्न कैँची लिएर आएका विद्यार्थीलाई देखेको तर हतियार नदेखेको बताए। उनले भने, ‘हाम्रोतर्फबाट कुनै पनि त्यस्तो गलत क्रियाकलाप भएको छैन। मैले हतियार बोकेको देखेको छैन। रिवन काट्न कैँची बोकेर ल्याएको होला त्यसलाई खुकुरी बोकेको भन्न मिल्दैन।’ तर सार्वजनिक भएको भिडियोमा खुकुरीसहित क्याम्पसमा चन्द पुगेका थिए।
यता एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न गिरोहलाई तत्काल कारबाही गर्न नेपाल सरकार समक्ष माग गरेका छन्। ‘आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि उम्मेदवार मनोनयन गर्ने क्रममा क्याम्पस हाताभित्र रहेका अनेरास्ववियु आर. आर. क्याम्पसका नेता/कार्यकर्ताहरुमाथि हात हतियार सहित नेकपा एस निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा काठमाडौं उपत्यकाभरिका गुण्डाहरु जम्मा गरी गरिएको ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमणप्रति अनेरास्ववियु गम्भीर आपत्ति र दुःख व्यक्त गर्दछ ।’विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस जस्तो प्राज्ञिक थलोमा गुण्डाहरुको खुकुरी प्रहारबाट घाइते हुनुभएका अनेरास्ववियु आर. आर क्याम्पस कमिटीका नेताहरु अनिल बोहोरा, राज उपाध्याय, विवेक गैरे लगायतका कमरेडरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्न गिरोहलाई तत्काल कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता भएको हो।
प्रतिक्रिया दिनुहोस !
