आयोजकलाई डाँडाबजार गोल्डकपको उपाधि
धनकुटा: आयोजक डाँडाबजार फुटबल क्लबले जंगबहादुर थापा स्मृति डाँडाबजार गोल्डकपको दोस्रो संस्करण जितेको छ।
साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा शनिबार भएको फाइनलमा रारा फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ ले गोलको नतिजामा पराजित गर्दै स्थानीय टिम च्याम्पियन बन्यो।
विजेता डाँडाबजारले नगद १ लाख ५० हजार र उपविजेता रारा क्लबले नगद ७५ हजार रुपैयाँ हासिल गरे।
निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। नियमित समयमा राराको तर्फबाट सरोज लकान्द्री र विरेन चेम्जोङले गोल गरेका थिए।
डाँडाबजारको तर्फबाट उमेश कार्की र रमेश राजवंशीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। सुटआउटमा डाँडाबजारको तर्फबाट विपिन लिम्बु, रुपेश याखा, इन्सन राई, रमेश राजवंशी र उमेश कार्कीले गोल गरे।
राराको तर्फबाट अमन श्रेष्ठ, सरोज लकान्द्री र विरेन चेम्जोङ मात्रै गोल गर्न सफल भए। निश्चल श्रेष्ठको प्रहार डाँडाबजारका गोलरक्षक रोशन कार्कीले रोकेका थिए।