उपराष्ट्रपतिमा गठबन्धनबाटै ३ उम्मेदवार, एमालेबाट शाक्य

उपराष्ट्रपतिमा गठबन्धनबाटै ३ उम्मेदवार, एमालेबाट शाक्य
फाइल तस्बिर।
सुन्नुहोस्

एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छन्।  गठबन्धनबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, नेतृ प्रमिलाकुमारी यादव र जनमत नेतृ ममता झाले शनिबार मनोनयन दर्ता गराएका हुन्।

काठमाडौं : साझा उम्मेदवार तय गर्न नसकेपछि १० दलीय सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ।  प्रमुख प्रतिपक्षी एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छन्।  गठबन्धनबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, नेतृ प्रमिलाकुमारी यादव र जनमत नेतृ ममता झाले शनिबार मनोनयन दर्ता गराएका हुन्।  

बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री शाक्यका प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसहित नेताहरू छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन्।  यस्तै, समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन्। 

जसपाकी प्रमिलाकुमारीका प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव छन्।  यस्तै, समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई, मनीष सुमन छन्।  

जनमतकी झाका प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रूपाकुमारी यादव छन्।  यस्तै, समर्थकमा गोमालाभ सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी छन्।  जनमत अध्यक्ष सीके राउतले गठबन्धनले आइतबारसम्म साझा उम्मेदवार तय गर्ने विश्वास व्यक्त गरे। 

जसपाकै रामसहायप्रसादका प्रस्तावकमा नेताहरू अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन्।  यस्तै, समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन्। 

रामसहायप्रसादको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै एमालेले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।  उम्मेदवारका प्रतिनिधि महेश बर्तौलाले राष्ट्रपतिमा पुरुष निर्वाचित भएकाले महिलालाई राष्ट्रपति पदमा उम्मेदवार मनोनयन हुने व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरूप अनिवार्य रहेको उल्लेख गरेका छन्।  रामसहायप्रसादको उम्मेदवारीले पुरुषबाहेक महिलाहरू अयोग्य र अक्षम हुन्छन् भन्ने मान्यतालाई बलपूर्वक स्थापित गर्ने भएकाले खारेज गर्नुपर्ने माग बर्तौलाले गरेका छन्।   

निर्वाचन आयोगले शुक्रबार नवनिर्वाचित राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको थियो।  राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकका छन्।  उनले एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्बाङलाई पराजित गरेका हुन्।  

उपराष्ट्रपतिको मनोनयनपत्र र उजुरीउपर आइतबार जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ।  उम्मेदवारको अन्तिम नामावली आइतबारै प्रकाशन गरिनेछ।  आगामी चैत ३ गते निर्वाचन तोकिएको छ।    

तीन दलबीच कार्यगत एकता 

लोसपा, जनमत र नाउपाबीच शनिबार कार्यगत एकता गर्ने सहमति भएको छ।  सहमतिपत्रमा तीनवटै दलका अध्यक्षले हस्ताक्षरत गरेका छन्।  सहमतिपत्रमा लेखिएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ। ’

उपराष्ट्रपति निर्वाचन, मधेस र थरूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजबन्दीहरूको रिहाइ, विगतका सहमतिहरूको कार्यान्वयनसहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ।  

जनमत र नाउपाबीच यसअघि नै कार्यगत एकता गर्ने सहमति भएको थियो।  उपराष्ट्रपति पदमा जनमतबाट उम्मेदवारी दिएकी झाका प्रस्तावक र समर्थकमा जनमत, लोसपा, नाउपाका नेता छन्।  उनीहरूले जसपाविरुद्ध मोर्चाबन्दी गरेका हुन्।  

उपराष्ट्रपति उम्मेदवार तय गर्न शनिबार बिहान बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो।  जसपाबाट दुई जनाको उम्मेदवारी परेको छ। 


गठबन्धनले कानुन छल्यो : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था संविधानमा भएको बताएका छन्।  त्यसविपरीत १० दलीय गठबन्धन महिलाविरोधी भएको आरोप उनले लगाएका छन्।  

‘१० दलीय गठबन्धन महिलाविरोधी छ।  गठबन्धनले कानुन छल्यो’, पूर्वप्रधानमन्त्री ओलीले शनिबार अखिल नेपाल महिला संघको कार्यक्रममा भने, ‘गठबन्धन जालझेल गर्न खोजिरहेको छ।  मर्म अर्को समुदायसँग होइन।  पुरुष हुन्छ भने महिला र महिला हुन्छ भने पुरुष हुन सक्नुपथ्र्यो। ’ यसबारे संविधानमा स्पष्ट व्यवस्था नभएको उल्लेख उनलेगरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.