हङकङको प्रेमिल कथा
सम्बन्धका सुरुमा आईडी अनि हङकङको रौनकताबाहेक केही देखेका हुँदैनन्। जब दिनहरू बित्दै जान्छन्। तर केही नपाएसँगै अन्त्य हुन्छ, प्रेमको कथा।
प्रेमको ‘डाइमेन्सन’ कति फराकिलो होला ? यसलाई हेर्ने दृष्टिकोण र व्यवहारमा जता पनि संयोग र समायोजन गर्न सकिन्छ। प्रेमका प्रकार र स्वरूप पनि भिन्नभिन्न हुन्छन्। यसलाई भाष्यरूपमा हेर्दा विशाल देखिए पनि समष्टिमा पारिवारिक, व्यावहारिक र प्रांगारिक प्रेमका समग्र स्वरूप हुन्। पारिवारिक प्रेम र सद्भाव जीवनकै अभिन्न अंग हो।
व्यावहारिक प्रेम जीवनको कालखण्डमा सम्झनाको सँगालोहरू हुन्। प्रांगारिक प्रेम यस्तो प्रेम हो, जसले तपाईंलाई खास बनाउँछ। यही प्रेमका लागि जीवनको आहुती दिन पनि मानिस पछि पर्दैन। यही प्रेम प्राप्तिले जीवनको स्वर्गीय आनन्द महसुस गरिरहेको हुन्छ। यही प्रेमको प्राप्ति नहँुदा जीवनलाई निरश बनाइरहेको हुन्छ, मान्छे। खैर, प्रेमको परिभाषा र व्याख्या मान्छेको भोगाइ र अनुभवमा निहित होला। तर यहाँ उठाइएको प्रेमिल प्रसंग कति विवशता, बाध्यता, आवश्यकता र मौलिक छन्।
तिमीलाई हङकङ पुर्यायो, आईडी काडैले
करिब एक दशकअघि गायिका सत्यकला राईको स्वर, वुद्धवीर लामाको शब्द र शान्तिराम राईको संगीतमा तयार पारिएको यो गीत हङकङेलीको वास्तविक कथा हो। प्रेमको मीठो सपना बुनाएर हङकङ प्रवेश गरेका मायालु मनहरू यतै बहकिए। यहाँको परिवेश र रौनकतामा ग्रामीण प्रेम र निस्वार्थ माया फिक्का भयो। आफ्ना प्रेमी हङकङ गएपछि, केही समयपश्चात आफू पनि सँगै गइएला। जीवनका बाँकी पलहरू सुन्दर पारिवारिक भोगसँगै बिताइला भन्ने सपना कहाँ तुइन्छ तुइन्छ।
अनि बन्छन् यस्ता गीतहरू र बग्छन् बलिन्द्र आँसु। आईडीको कथा यतिमा मात्र सीमित छैन। हङकङ सहर र नेपालका हरेक सहरमा आईडीको कथा र बाध्यताहरूको बजार छ। भलै, नभनिएका कति कथा होलान् तर ती सबै, सबैका व्यथा अवश्य छन्।
मलाई आईडी दिन्छु भनी विवाह गर्यो। पैसा पनि लियो तर हङकङ पुगेपछि बेपत्ता भयो। पैसा पनि गयो, विश्वास पनि। अब के गर्ने होला ?
आईडीको लोभमा पाको उमेर भा, को छोरीसँग विवाह गरिदियौ। अहिले दुवैजनाको मेल छैन। छोरी भन्छे पैसा मात्र ठूलो कुरा हैन, मनमा सन्तुष्टि छैन। अब कसरी मुख देखाउने आफन्त माझ ?
हामी हङकङ आएको १० वर्ष जति भयो। सुरुसुरुका दिनमा राम्रो सम्बन्ध थियो। उहाँले अन्य देशका महिलासँग सम्बन्ध सुरु गरेपछि मलाई नराम्रो देख्न थाल्नुभयो। अहिले छोराछोरीका लागि मात्र मिलेर बसेका छौं।
मैले माया गरेको मान्छे थियो ऊ। विवाह गरी हङकङ ल्याए, आईडी बनाइदिए। अहिले मलाई छोडिदियो। सायद आईडीका लागिमात्र मलाई प्रेम र विवाहको नाटक गरेको रहेछ।
यी त प्रतिनिधि घटनाहरू मात्र हुन्। नदेखिएका र नदेखाइएका कथाहरू कति छन् कति। उज्यालाको सहर हङकङ कहिल्यै निदाउँदैन। सपना, बाध्यता र रहरको देश हङकङ धेरैको सपनाको सहर हो। प्रेमका मामिलामा उदार हङकङको परिवेशले हामीजस्तो विकासोन्मुख राष्ट्रबाट आएकाहरूलाई सजिलै छोइदिन्छ, अनि सुरु हुन्छ बियोगको कथा।
१२ घण्टा काम, पारिवारिक समय छैन। कामको प्रेसर र नयाँ प्रेमिल संसारमा आफूलाई अभ्यस्त बनाएसँगै सुरु भएको खट्पटी नै हो, सम्बन्धविच्छेदको प्रमुख कारक। आईडीकै मोहमा धेरै जनाको प्रेमको अन्त्य भएको छ। आईडीको स्वार्थमा जोडिएका सम्बन्धहरू, यसको प्राप्तिसँगै विलाएर जान्छन्। सम्बन्धका सुरुमा आईडी अनि हङकङको रौनकताबाहेक केही देखेका हुँदैनन्। जब दिनहरू बित्दै जान्छन्। मानिसले पारिवारिक सुख र कुशल प्रेमको अपेक्षा गर्छ। तर नपाएसँगै अन्त्य हुन्छ प्रेमको कथा।
आईडीकै लागि गरिन्छ नक्कली विवाह (कागजी प्रेम)। प्रेमको नाटकबाट सुरु भएको सम्बन्ध, कतिको कालान्तरमा सक्कली बनिदिन्छ। कति मनमोहक र विचित्रको छ, यो आईडी। जसले सम्बन्धलाई जोड्न र तोड्न सेतुको काम गरिरहेको छ। देखेको छु निस्वार्थ प्रेम पनि। प्रेम जात, उमेर र देशभन्दा माथि छ। सायद त्यसकै प्रभाव हुनुपर्छ धेरै नेपालीहरूले यहाँका स्थानीयहरूसँग पनि विवाह गरेका छन्। सुखद पारिवारिक सम्बन्ध स्थापिना गरेका छन्।
प्रेम अन्धो हुन्छ भनिन्छ, सायद यसले बनाउँछ नै त्यस्तो। फेब्रुअरी १४ सँगैप्रेमको महिना सुरु भएको छ। यो मौसम प्रेमको मौसम हो। संसारका ठूलाठूला रणसंग्राम पनि प्रेमले अन्त्य गराएको उदाहरण छन्। भलै, जुन स्वार्थका लागि गरिएको प्रेम होस्, शब्द आफैंमा पूर्ण छ। नछुटुञ्जेल र साथ रहेसम्म प्रेमले मानिसलाई जीवनप्रतिको मोह कायम गराइरहन्छ।
आईडीकै लागि गाँसिएका र तोडिएका प्रेमकथाहरूको अन्त्य होस्। हरेक प्रकारको प्रेमको लागि कसैको आँसु नबगोस्। प्रेम मन हो, तपाईंको जस्तै, जुन अर्कोमा पनि हुन्छ। जब एउटा मनको स्पर्श अनि मनले महसुस गर्छ नि ? यहि हो, प्रेम। जसले तपाईंलाई कसैको खास बनाइदिन्छ।