नेहा चौधरीको दाइजो प्रकरणमा संलग्न थप एक जना पक्राउ
महोत्तरी : महोत्तरी प्रहरीले नेहा चौधरीको दाइजो प्रकरणमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ। लामो समयदेखि फरार रहँदै आएको सोही मुद्दाका एक प्रतिबादीलाई महोत्तरी प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर न.पा.वडा न ४ घर भएका ६० वर्षीय राम प्रवेश चौधरीलाई प्रहरीले पक्राउ गरी दाइजो सम्बन्धी कसुरको लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला अदालत महोत्तरीमा पठाएको महोत्तरी प्रहरीले जनाएको छ।
आइतबार दिउँसोको मनरा सिस्वा नगरपालिका वडा नं. २ कट्टी गाउँस्थित दशगजा क्षेत्रबाट प्रतिवादी चौधरीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटना भएयता चौधरी त्यसक्षेत्रमा लुकिछिपी बस्दै आएको गोप्य सुचनाको आधारमा खोजविन गर्दा प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।
यस्तो छ घटना
महोत्तरी औरही माइती भएकी नेहा चौधरीको २०७८ साल फागुन २५ गतेका समाजिक परम्पराअनुसार रामगोपालपुर नगरपालिका ५ घर भएका डा. पंकज चौधरीसँग विवाह भएको थियो। ५१ लाख नगद, २० तोला सुन, ३० तोला चाँदी, टिभी, फ्रिज , वासिंग मेसिन लगायतका अन्य विलासी सरसमानहरु दाइजोस्वरुप विवाहको समयमा दिएको नेहाका बुवा सुरेश चौधरीले बताए। विवाह भएपश्चात थप दाइजोको माग गर्दै नवविवाहिता नेहासँग ससुरालीपक्षले बारम्बार मानसिक तथा शारिरीक रुपमा तनाव दिंदै आएका बताइएको छ।
प्रतिवादी लगायत ससुरालीपक्षका व्यक्तिहरुले बिवाह भएपश्चात माइतीबाट थप दाइजो ल्याउनका लागि आफूलाई शारीरिक तथा मानसिक रुपमा यातना दिंदै आएको नेहाले अदालतमा दायर गरेको रिटमा उल्लेख छ।
गत असोज २० गतेका दिन नेहालाई ससुरालीपक्षले कुटपिट गरेपछि सो रहस्य माइतीपक्षले थाहा पाएका थिए। त्यसपश्चात माइतीपक्षले नेहाका ससुरालीपक्षसँग छलफल गरेता पनि चित्तबुझ्दो निष्कर्ष ननिस्केपछि नेहाले कानुनी लडाइ लड्ने निधो गरेकी थिइन्। नगरपालिकाको न्यायिक समिति हुँदै महिलाअधिकारकर्मीको पहलले निसाफ नपाएपछि अन्ततः नेहाले न्यायको लागि अदालतको ढोका ढकढक्काउन पुगेकी हुन्। श्रीमान् लगायत प्रतिवादी बनाएर नेहाले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले उनका श्रीमान् पंकज चौधरीलाई तत्कालै पक्राउ गरि कानुनअनुसारको कारवाही प्रक्रिया अगाडि बढाइएको थियो।
लभ म्यारिज लोभमा परिणत भएपछि
लामो समयदेखि प्रेममा रहेका नेहा चौधरी र डा पंकज चौधरीको समाजिक परम्पराअनुसार वैवाहिक सम्बन्ध स्थापित गरिएको थियो। प्रेम गरेर विवाह गरे तापनि उनीहरुको वैवाहिक यात्रा लामो समयसम्म टिक्न सकेन। ६ महिनाकै अवधिमा उनीहरु सम्बन्ध विच्छेद गर्न राजी भए।
तीन वर्षअघि काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दै गर्दा महोत्तरी औरहीकी नेहा चौधरीको महोत्तरीकै रामगोपालपुर नगरपालिका-५ का डा. पंकज चौधरीसँग भेट भयो। डा. पंकज ग्रान्डी अस्पतालका जागिर गर्थे। सामाजिक सञ्जालमार्फत उनीहरू अझ नजिकिए। प्रेम सम्बन्ध स्थापित भएको दुबै जनाको परिवारकै सल्लाह र अनुमतिमा ६ फागुन ०७७ मा इन्गेजमेन्ट भएको थियो।
त्यसको एक वर्षपछि २५ फागुन ०७८ मा जनकपुरको एक होटेलमा धुमधामसँग विवाह भयो। विवाहको दुई महिनासम्म राम्रो थियो। त्यसपछि भने पंकजको परिवारले नेहालाई मानसिक र शारिरीक रुपमा तनाव दिन थालेको नेहाले संचारकर्मीसमक्ष बताइन्। श्रीमान् श्रीमतीबीच बारम्बार खटपट हुन थाल्यो। पंकजले नेहालाई घरेलु हिंसा गर्न थाले। जब हिंसा उग्ररुप लिएपछि नेहाले जाहेरी दिन महोत्तरी जलेश्वरस्थित प्रहरी कार्यालय पुगिन्। प्रहरीले पंकजलाई पक्राउ गर्यो। त्यसपछि दुबैलाई सम्झाइ-बुझाइ धरौटीमा छाडिदियो।
तर, पछि नेहामाथिको यातना झन् बढ्न थाल्यो। हुँदाहुँदा पंकजले नेहालाई कुटपिट गरी घरबाटै निकालिदिए। गत २५ कात्तिकमा नेहाले फेसबुकमार्फत आफूमाथि भएको घरेलु हिंसाको घटना सार्वजनिक गरिन्। नेहाले जिल्ला अदालत महोत्तरीमा मुद्दा हालेकी छिन्। उनको मुद्दा अदालतमा दर्ता भइसकेको छ।
यता पंकजले श्रीमतीबाट अन्याय गरेको खबर ग्रान्डी अस्पतालले थाहा पाएपछि पंकजलाई कारवाहीस्वरुप जागिरबाट बर्खास्त गरेका छन्।
यता महोत्तरी जिल्ला अदालतको पुष २२ गतेको चलानी नम्बर ७५४९ को पत्रको आदेशअनुसार प्रतिबादी पंकज चौधरी पुर्पक्षको लागि हाल जिल्ला कारागार जलेश्वरमा रहेका छन्।