जातीय छुवाछुतको विरुद्ध वीरगन्जमा प्रदर्शन
वीरगन्ज : सिराहामा दलितसँग गरिएको छुवाछुतको विरोधमा वीरगन्जमा प्रदर्शन गरिएको छ। सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले फगुन २१ गते आफ्नी आमाको १३ औँ दिनको पुण्यतिथिमा आयोजना गरेको भोजमा दलित र गैर दलितलाई छुट्टाछुट्टै राखेर खाना खुवाएको भन्दै वीरगन्जमा विरोध जुलुस निकालिएको हो।
दलितहरुले निकालेको विरोध जुलुशले वीरगन्ज नगरको परिरक्रममा पछि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर दलित अगुवाहरुले ज्ञापन–पत्र पनि बुझाएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको उक्त ज्ञापन–पत्रमा उनीहरुले दलितसँग छुवाछुत र जातीय विभेद गर्ने गाउँपालिका अध्यक्ष यादवलाई पदबाट निलम्बन गरि हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्। साथै उक्त भोजमा सहभागी भएर जातीय विभेद र छुवाछुतको कुप्रथालाई प्रश्रय दिने सार्वजनिक पदधारण गरेका व्याक्तिहरुले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग पनि दलित अगुवाहरुले गरेका छन्।
गाउँपालिका अध्यक्ष जस्तो सार्वजनिक पदधारण गरेका व्यक्तिले नै जातीय विभेद र छुवाछुत गर्नु कानूनी अपराध भएकाले नेपालको प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गर्नु पर्ने उनीहरुको माग छ।
गाउँपालिका अध्यक्ष यादवले भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलितलाई अलग अलग खाने ठाउँ छुटयाएर जातीय भेदभाव गरेर अपराध गरेकाले कारबाहीको माग गर्दै प्रदर्शन गरिएको फिस फर दलित फाउण्डेशन पर्साका अध्यक्ष मनोज रामले बताए। दलितसँग गरिएको छुवाछुतको अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी दायरामा ल्याएर कार्वाही नगरे देशभरकै दलित समुदाय अझ सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि उनले दिए।