राष्ट्रपति पौडेललाई अमेरिका र भारतले दिए बधाई
पत्रमा भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरिएको छ।
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिका र भारतले बधाई दिएको छ। नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार दिउँसो पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छन्।
पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखेर नेपालको राष्ट्रपतिमा नियुक्त भएकोमा आफू र भारतीय नागरिकका तर्फबाट बधाई ज्ञापन गरेकी हुन्। पत्रमा भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरिएको छ।
पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेका उल्लेख गरेकी छन्।
राष्ट्रपति पौडेलको कार्यकालमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मुको सो बधाई सन्देशमा उल्लेख छ।
यसैगरी अमेरिकाका तर्फबाट काठमाडौंस्थित अमेरिकी राजदूतावासले पौडेललाई बधाई तथा शुभकामना व्यक्त गरेको हो।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई शपथ गराए लगत्तै उनले पदभार सम्हालेका हुन्।