माताको आवरणमा अपराध
झारफुकको बहानामा धामी वा माताको आवरणमा उपचार गर्ने परम्परा पुरानै हो। अवैध तथा गैरकानुनी रूपमा यस्ता रीतिरिवाज देशभर चलिरहेको छ। अन्धविश्वासको जोडमा देशभर अपराधका घटना भइरहन्छन्।
काठमाडौं :
बुटवलमा फागुन २० गते १४ वर्षीया बालिका सीता ज्ञवालीको मृत्यु भयो। टाउको दुख्ने र कानसम्बन्धी बिरामी उनलाई निको पार्न भन्दै झारफुक गर्न लगियो। माता भनिने सोनिया रेश्मीको कुटपिटबाट ज्ञवालीको मृत्यु भयो।
घटनाको आरोपमा माता भनिने सोनियासहित २१ जना प्रहरी नियन्त्रणमा छन्। झारफुकको बहानामा सोनियाले सीतालाई चरम यातना दिइन्। कुटपिट गरिन्। बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक–पटक जगले नाक, मुखमा पानी खन्याउने, कपालमा समाएर टाउको बटार्ने जस्ता यातना दिइन्।
घटना नं २
गत पुसमा काठमाडौंको रानीवन पानीट्यांकीमा पनि झारफुक गर्न माताकोमा गएकी १४ वर्षीया बालिका रोशनी श्रेष्ठको हत्या भयो। आफूलाई माता बताउने उर्मिला तामाङले बिरामी श्रेष्ठलाई टहरोमा राखेर बोक्सी उतार्ने भन्दै कुटपिट र चरम यातना दिएकी थिइन्। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्ने ती बालिकालाई झारफुकको गर्न माता भनिने उर्मिलाको टहरोमा लगिएको थियो। तामाङ रानीवन पानीइट्यांकीमा झारफुक गरेर बस्दै आएकी थिइन्। झारफुकका क्रममा बालिकाको शरीरमा त्रिशूलले रोपेकी थिइन्।
टाउको दुख्नेलगायत विभिन्न समस्या भएपछि बालिकालाई उनकी आमा राधिकाले माताकोमा पु¥याएकी थिइन्। ती बालिकालाई करिब ३ सातादेखि ‘माता’को टहरोमा राखिएको थियो। माताले बालीकाको शरीरमा पसेको बोक्सी उतार्ने भन्दै कुचोले हान्ने, तातो आगोले पोल्ने, शरीरभरी त्रिशूलले डाम्ने गरेकी थिइन्। माताको चरम यातानाले उनको टहरोभित्रै मृत्यु भयो। माता भनिने उर्मिला अनुसन्धानका लागि प्रहरी हिरासतमा छिन्। उनी उपर कर्तव्य ज्यान कसूरमा अनुसन्धान भइरहेको छ।
झारफुकको बहानामा धामी वा माताको आवरणमा उपचार गर्ने परम्परा पुरानै हो। अवैध तथा गैरकानुनी रूपमा यस्ता रीतिरिवाज देशभर चलिरहेको छ। अन्धविश्वासको जोडमा देशभर अपराधका घटना भइरहन्छन्। प्रहरी प्रधान कार्यालय काठमाडांैले दिएको तथ्यांकअनुसार २०७६ देखि २०७९ फागुनसम्म अन्धविश्वास (झारफुक, बोक्सी आरोप, माता तथा धामी) का कारण १५ जनाले ज्यान गुमाए। जसमा ३ पुरुष, ७ महिला, १ बालक र ४ बालिका छन्। यस्ता अपराधको घटना १४ वटा घटे। कर्तव्य ज्यानसम्बन्धी कसूरमा १४ वटा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ। यस्ता अपराधमा संग्लन आरोपमा ३० पुरुष र २० महिला गरी ५० जना पक्राउ परेका छन्।
धनुषा, धादिङ, बर्दिया, कपिलवस्तु, रुपन्देही, गुल्मी, इलाम, महोत्तरी, चितवन, काठमाडांै, ललितपुरका विभिन्न ठाउँमा यस्ता घटना घटेका थिए। नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलका अनुसार झारफुकको बहानामा अपराध गरिनु कानुनविपरीत हो। रीतिरिवाज मान्ने क्रममा आपराधिक कामलाई प्रश्रय गरिनुहुन्न। यस्तो कार्यमा संग्लनलाई सजाय हुन्छ। सचेतना कमिकै कारण अन्धविश्वासले ज्यान लिइरहेको छ।
‘बिरामी छोरीलाई धामीकोमा लैजाने र कुटपिट हुँदा हेरिरहने आमाबुवा र आफन्तलाई के भन्ने ? हत्या भइसकेपछि पनि प्रहरीलाई खबर छैन। गुपचुप रूपमा शव जलाउनु पनि आफैंमा अपराध हो’, अन्धविश्वास हटाउन सचेतना नै मुख्य उपाय बताउने पोखरेल भन्छन्, ‘अन्धविश्वास र गलत प्रचलन गाउँदेखि सहरसम्म सबैतिर व्याप्त छ।’
उनका अनुसार आयुर्वेदिक हिसाबले उपचार गर्न दर्ता गरेर सञ्चालन गर्न पाइन्छ। तर, धामीझाँक्री गरेर ठीक पार्छु भन्दै गलत सन्देश दिन पाइँदैन। यो गैरकानुनी हो। समाजमा कसको घरमा धामी बसिरहेको छ। प्रहरीलाई सूचना त हुनपर्छ नि ! समाजका सबै मिलेर यस्तो चलन हटाउनुपर्छ।
अन्धविश्वास आजको भोलि हटाउने सकिने विषय होइन। यस्ता अन्धविश्वासले कहिले बोक्सी भन्दै महिला मार्छन् त कहिले झारफुकका बहानामा गएका बालबालिका। रीतिरिवाजका नाममा यस्ता कार्य गर्ने छुट कसैलाई छैन। कसूर अनुसारको सजाय हुन्छ।