‘कांग्रेसको दक्षिणपन्थ र माओवादीको अवसरवादको चक्रब्युँहमा मुलुक’
दैलेख : नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पदका लागि मात्रै बनेको वर्तमान गठबन्धनले देशलाई क्षति मात्र गर्ने बताएका छन् । टाउकाको मूल्य तोक्ने र तोकिनेहरूबीचको सहकार्यले मुलुकलाई गन्तव्यहिन बनाएको नेता रिजालको भनाइ छ ।
पार्टीको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–८ रोकायबाडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले यस्तो बताएका हुन् ।
‘जसरी एउटा डोरी दुईतिरबाट बराबर बल लगाएर जति तान्दा पनि जहाँको त्यही हुन्छ, बल खर्च भए पनि गति आउँदैन,त्यसैगरी दुई विपरीत दिशातिर फर्केका नेपाली कांग्रेस र माओवादीले देशलाई अघि बढाउँछौँ भनेर जति गफ लगाए पनि विपरीत दिशातिर फर्केकाहरूको सहकार्यबाट देश अघि बढ्न सक्दैन्,’उनले भने ।
नेता रिजालले कुनै नीति तथा कार्यक्रममा आधारित नभइ पदीय भागबण्डा र एमालेलाई कसरी एक्लो बनाउने भनेर एमालेको त्रासका कारण बनेको गठबन्धन भएकाले यसको सम्पूर्ण समय यसैमा बितिरहेको उल्लेख गरे ।
‘विदेशीका एजेण्डा,कांग्रेसको दक्षिणपन्थ र माओवादीको अवसरवादको चक्रब्युँहमा देश फसेको छ,यसबाट देशलाई मुक्त गर्नका लागि एमाले बहुमतसहित सरकारमा आउनुपर्छ,’रिजालले भने ।