आजबाट बढ्यो दूधको उपभोक्ता मूल्य

आजबाट बढ्यो दूधको उपभोक्ता मूल्य
सांकेतिक तस्बिर।
सुन्नुहोस्

प्रतिलिटर ८६ रुपैयाँमा उपभोक्ताले पाइरहेको डीडीसीको दूध अब ९७ रुपैयाँमा किन्नुपर्नेछ। निजी क्षेत्रको भने १ सय रुपैयाँ तिर्नुपर्ने भएको छ।

काठमाडौं : उपभोक्ताले दूधको मूल्य प्रतिलिटर ९७ देखि १ सय रुपैयाँसम्म तिर्नुपर्ने भएको छ। दुग्ध विकास संस्थान (डीडीसी)ले ११ र निजी क्षेत्रले १४ रुपैयाँ मूल्य बढाएका हुन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा मूल्य बढाएको संस्थानका महाप्रबन्धक सञ्जीव झाले बताए। मन्त्रिपरिषद्ले खरिद मूल्य बढाएपछि संस्थानले बिहीबारदेखि लागू हुने गरी समायोजन गरेको हो। प्रतिलिटर ८६ रुपैयाँमा उपभोक्ताले पाइरहेको डीडीसीको दूध अब ९७ रुपैयाँमा किन्नुपर्नेछ। निजी क्षेत्रको भने १ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। 

सरकारले २०७८ साल माघमा मूल्य समायोजन गरेको थियो। ‘कृषकको लागत बढ्यो’, महाप्रबन्धक झाले भने, ‘दूध उत्पादन व्यवसायले उत्थान नहुने, व्यवसाय छोड्ने देखिएकाले कृषकलाई संरक्षण, सुरक्षित राख्न केही समयअघि मूल्य बढाइएको थियो।’

मन्त्रिपरिषद्को बैठकले किसानबाट ५६.४ रुपैयाँमा खरिद गर्दै आएकोमा बढाएर ६५ रुपैयाँ कायम गरेको थियो।  नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले मूल्यवृद्धिको असर कृषि क्षेत्रमा परेको बताए। डेरी क्षेत्रमा दिनदिनै लगानी बढ्दै गइरहेको उनको भनाइ छ। 

निजी क्षेत्रको लगानी ४० अर्ब छ। २० प्रतिशत अझै अपुग छ। दैनिक ६ करोड  रकम सहरबाट गाउँसम्म जाने गरेको छ। ६ लाख किसान परिवार दुग्ध क्षेत्रमा आश्रित छन्। ३५ हजारभन्दा बढीले डेरी उद्योगमा रोजगारी पाएका छन्। कृषि क्षेत्रमा ९ प्रतिशत दुग्ध क्षेत्रको योगदान छ। 

अध्यक्ष दाहालका अनुसार बढ्दो मुद्रास्फीतिका कारण दुधको मूल्य वृद्धि गर्नुपरेको हो। सबै वस्तुको मूल्यवृद्धि भएकाले दूधको उत्पादन लागत पनि वृद्धि भएको डेरी उद्योगीको भनाइ छ। कर्मचारी तलब, इन्धनको मूल्य वृद्धि, किसानको लागत मूल्य दाना, घाँस, औषधिउपचार लगायत खर्च बढेको छ। दूध दुहुने गाईभैंसीको उच्चतम मूल्यांकन हुनुका साथै किसानको उत्पादन लागतसँगै उद्योगसम्म ढुवानी लागत वृद्धि भएकाले मूल्य बढाउनुपरेको डेरी व्यवसायी बताउँछन्।

उद्योगमा आवश्यक पर्ने मेसिनरी पार्टस, भन्सारमा भारी वृद्धि, प्याकेजिङ सामानमा मूल्य वृद्धि भएको छ। आइसक्रिमलगायत बाहिरबाट आउने सामान फिनिस प्रोडक्टसमा भन्सार कम र प्याकेजिङ सामानमा बढी हुँदा पनि थप समस्या भएको उद्योगीको गुनासो छ।  

संस्थानका अनुसार बजारमा दैनिक ६० हजार लिटर दूध अभाव छ। डीडीसीबाट दैनिक ९५ हजारदेखि दैनिक १ लाख लिटर खपत हुन्छ। वैशाखदेखि भदौमा संकलनमा गिरावट आउने गरेको छ। ‘त्यति बेला आपूर्ति सम्बोधन गर्न कठिन हुन्छ’, झाले भने, ‘पहिला आयात गरेर सम्बोधन गरिन्थ्यो। अहिले प्रतिबन्ध लगाइएकाले आपूर्ति सहज बनाउन आयात खुकुलो पार्नुपर्छ।’ 

डीडीसीले दैनिक ४० देखि ६० हजार लिटर दूध पुर्‍याउन नसकिएको जनाएको छ। घीउ, बटर पनि आपूर्ति गर्न सकेको छैन। दही, पनिरलगायत दुग्ध पदार्थको मूल्य पनि केही दिनमा तय गर्ने संस्थानको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.