लोप हुँदै धराने कालो बंगुर
धरान: धरानको कालो बङ्गुर भन्ने वित्तिकै देश भरी प्रख्यात छ। प्रमुख सहरहरू काठमाडौंमा, विराटनगर, पोखरा, बुटवललगायतका देशका प्रमुख सहरमा धराने कालो बङ्गुरको प्रचार गरिरहनु नपर्ला।
देशका प्रमुख सहरमा 'यहाँ धराने कालो बङ्गुरको मासु पाइन्छ' भनेर प्रचार गरी पैसा कमाउने व्यवसायी धेरै छन्। काठमाडौं उपत्यककाको अनामनगर, बानेश्वर, तिनकुने, पुल्चोक,भोटाहिटी, सातदोबाटो, कौसलटार, महादेवस्थान, लोकन्थली, पाटन ढोका लगायतका स्थानमा धराने कालो बङ्गुरका साइन बोड राखेर उपभोक्तालाई बंगुरको मासु बिक्री गरिरहेको पाइन्छ। धरानको कालो बङ्गुरको मासु धरानमा मात्र नभइ बेलायत, सिंहापुर, हङकङ, अमेरिका, थाइल्याण्ड, दार्जेलिङ, सिक्किम, सिलगुडि, लगायतका अन्र्तराष्ट्रय सहरमासमेत चर्चित छ।
तर, नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत ब्राण्ड बनाएको धराने कालो बंगुर पछिल्लो समयमा लोप हुने अबस्थामा पुगेको छ। बढ्दो शहरीकरणसँगै धरानमासमेत कालो बंगुरको मासु प्रयाप्त पाईदैन।
किसानले कालो बंगुर उत्पादन गर्न छाडेपछि धरानका दैनिक हाईव्रिड जातका बंगुर काटेर मासु बिक्री गर्न थालिएको छ।
पहिले धरानका जनजाति समुदायले प्रत्येक घरमा ४/५ वटा कालो बंगुर पाल्थे। घरमा आफैँले उत्पादन गरेको चारो खुवाएर पालिएको बंगुरको मासु अत्यन्तै स्वादिलो हुने गर्दथ्यो। पछिल्लो समय जनजाति समुदायका लाहुरेहरू बेलायत पलायन हुन थालेपछि धरानमा व्यवसायिक रुपमा हाईव्रिड जातको बंगुर पाल्न थालिएको धरान २० का सम्फर तामाङले बताए।
विभिन्न दाना तथा चारो कम्पनीले उत्पादन गरेको चारो हाईव्रिड जातको बंगुरलाई खुवाउन थालेपछि ६ महिनामा नै बंगुरको वजन एक सयदेखि एकसय २० केजीसम्म पुग्ने उनले बताए।
बगरकोट व्यवसायी मञ्चका अध्यक्ष जीवन मेन्याङबोले हाईव्रिड जातको बंगुर पाल्दा किसानलाई धेरै नाफा हने भएकाले धराने लोकल कालो बंगुर लोप हुने अवस्थामा पुगेको बताए। धराने कालो बंगुरलाई संरक्षण गर्ने हो भने छुट्टै मूल्य निर्धारण गरी बजारीकरणको व्यवस्थापन गरिए धराने कालो बंगुरको संरक्षण गर्न सकिने उनको सुझाव छ।
धरानका अगुवा किसान कृष्ण राई धरानको लोकल जातको बामपुट्के, च्वाचे, हुर्रा जातको कालो बंगुर विस्तारै लोप हुँदै गएको बताउँछन्। उनले लोकल जातको सुगुँरभन्दा हाईव्रिड जातको बंगुरमा बढि मासु लाग्ने भएकाले किसानहरूले पाख्रिबास कालो, हेम्पसायर, योर्कसायर, ल्याण्डरेस, डिउरोक, फायुन, टेमट, सेडलन्याक, बक्सायर, लार्जव्लाक मेसान जातका बंगुर पाल्न आकर्षित हुन थालेको बताए।
अगुवा किसान राईले धरानको कालो बंगुरलाई संरक्षण गर्ने हो भने सरकारले नीति निर्माण गरी किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन्। एक वर्षमा हाईब्रिड जातको बंगुर २५० केजीसम्म हुने र लोकल बंगुर ४० देखि ५० केजीसम्म हुने भएकाले किसानले लोकल बंगुर पाल्न छाडेको उनको भनाइ छ।
धरान १५ स्थित बगर कोटमा स्थापना गरिएका होटल रेष्टुरेण्टमा धरानको लोकल कालो बङ्गुरको मासुको स्वादिष्ट परिकारमा रमाउने पर्यटकसमेत हाईव्रिड जातको बंगुरको मासुले दिक्क मान्न थालेका छन्। अझै पनि बगरकोटका सबै सेकुवा कर्नरमा कोही कालो बङ्गुरको सेकुवा पोलिरहेका हुन्छन्, कोही कान र जिब्रो पोलिरहेको दृश्यले बगरकोटको सुन्दरतालाइ झल्काइरहेको छ। तर, मासुको परिकारको स्वाद पहिलो जस्तो नभएको धरान १३ का युवा व्यवसायी रवी राई बताउँछन्।
धरानमा दैनिक ६ हजारभन्दा बढि बंगुरको मासु बिक्री हुने गरेको मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले बताए। जसमध्ये धेरै जसो धरानमै खपत हुने गरेको छ भने कतिपयले काठमाडौंलगायत देशका अन्य सहरसंगै विदेसमा पनि कोसेलीको रुपमा लैजाने गरेको उनको भनाइ छ।