प्रकृतिमैत्री जीवनशैलीमा हरित अर्थतन्त्र
अब प्रकृतिलाई आफ्नो प्रतिस्पर्धी ठान्न छोडेर प्रकृतिमैत्री जीवनशैली अपनाउनुमै सम्पूर्ण जगत्को भलो हुनेछ।
केही समयअघि बेलायतको राजधानी लन्डनमा अत्यधिक गर्मी बढेका कारण धावनमार्ग पग्लिएर विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भए। लन्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको दिन थियो, रनवे पग्लिएको त्यो दिन। गएको जुन महिनादेखि हालसम्म यो वर्षको उच्च तापक्रमका कारण बेलायत र युरोपमा चलेको तातो लहरका कारण करिब १२ सय मानिसको मृत्यु भयो। प्रचण्ड गर्मी र युरोपको यो तातो लहरलाई सन् २०११ मा पूर्वी अफ्रिकाको खडेरीपछिको सबैभन्दा घातक प्राकृतिक घटना र २०१० को रूसी तातो लहरपछिको सबैभन्दा घातक गर्मीको लहर भनेर मौसम वैज्ञानिकहरूले भनेका छन्।
बढ्दो तापक्रमले गर्दा प्रत्येक वर्ष रेकर्डहरू तोडिनु अब सामान्य जस्तो भइसकेको छ। यो क्रमको सम्बन्ध सिधै जलवायु परिवर्तनसँग जोडिएको छ। अब एकैछिन जलवायु परिवर्तन र बढ्दो वैश्विक तापमान अर्थात् ग्लोबल वार्मिङका विषयमा चर्चा गरौं। ग्लोबल वार्मिङ वा विश्वव्यापी तापक्रम बढ्नुको अर्थ पृथ्वी निरन्तर न्यानो हुँदै गइरहेको हो भन्ने बुझिन्छ। पृथ्वीको तापक्रम यसरी बढ्दै गए भविष्यमा खडेरी, बाढी–पहिरोजस्ता घटना बढ्ने र मौसमको ढाँचामा पूर्ण परिवर्तन आउने वैज्ञानिकले बताएका छन्। जलवायु परिवर्तन र बढ्दो तापक्रमको विषय हामीकहाँ अझै बहसको मुद्दा त बनिसकेको छैन तथापि वैज्ञानिकहरू भने यसलाई २१औं शताब्दीको सबैभन्दा ठूलो खतराको रूपमा व्याख्या गर्न थालेका छन्। कतिपय वैज्ञानिकले त यो खतरालाई तेस्रो विश्वयुद्धसँग पनि तुलना गर्न थालेका छन्। ग्लोबल वार्मिङ भन्नाले पृथ्वीको तापक्रममा भएको वृद्धि भनेर बुझिन्छ भने पृथ्वीमा बढ्दै गएको तापक्रमका कारण मौसममा हुने परिवर्तनलाई जलवायु परिवर्तन भनेर बुझिन्छ। जलवायु परिवर्तनको परिणामस्वरूप वर्षाको ढाँचामा परिवर्तन, हिमशिखर र हिमनदीहरू पग्लनु, समुद्रको सतह बढ्दै जानु र वनस्पति र जीवजन्तुमा पर्ने असरहरू प्रकट हुन सक्छन्।
पृथ्वीमा बढ्दो तापक्रमका कारण हुने जलवायु परिवर्तनका लागि हरितगृह ग्यासहरू सबैभन्दा बढी जिम्मेवार मानिन्छन्। हरितगृह ग्यास ती ग्यासहरू हुन् जसले बाहिरी तातोलाई आफूभित्र सोस्ने काम गर्छ। हरितगृह ग्यासहरू सामान्यतया अत्यधिक चिसो क्षेत्रमा बिरुवाहरूलाई न्यानो राख्न प्रयोग गरिन्छ जुन अत्यधिक चिसो मौसममा क्षतिग्रस्त हुन्छ। यस्तो अवस्थामा यी बिरुवाहरू बन्द सिसाको घरमा राखिन्छन् जुन हामीले देखेकैं छौं। जुन सिसाको घरमा ग्रिनहाउस ग्यास भरिन्छ। यो ग्यासले सूर्यबाट आउने किरणको ताप सोस्छ र बिरुवालाई न्यानो राख्छ। ठ्याक्कै यस्तै प्रक्रिया पृथ्वीमा हुन्छ। सूर्यबाट आउने किरणको केही मात्रा पृथ्वीले सोस्छ। यस कारण हाम्रो वातावरणमा फैलिएको हरितगृह ग्यासहरूको यस प्रक्रियामा महत्त्वपूर्ण योगदान छ। वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यास नभएको भए पृथ्वीको तापक्रम अहिलेको भन्दा धेरै कम हुने थियो। हरितगृह ग्यासहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण कार्बनडाइअक्साइड हो, जुन हामी जीवित प्राणीहरूले हाम्रो सासले उत्सर्जन गर्छौं। विगत केही वर्षयता पृथ्वीमा कार्बनडाइअक्साइड ग्यासको मात्रा लगातार बढेको वातावरण वैज्ञानिकहरू बताउँछन्। वैज्ञानिकहरूले कार्बनडाइअक्साइड उत्सर्जन र तापक्रम वृद्धिबीच गहिरो सम्बन्ध रहेको बताएका छन्। र, परिणामस्वरूप हाम्रो सामु जलवायु परिवर्तनको विकराल चुनौतीहरू देखा पर्न थालेको छ।
नेपालकै सन्दर्भमा भौगोलिक विविधता र भूबनोटका कारण जलवायुसम्बन्धी प्रकोपका लागि अति संवेदनशील र जोखिमयुत्ताm अवस्थितिमा छौं। अझ विकराल हुँदै गएको प्राकृतिक प्रकोपसँग लड्न प्रभावकारी संयन्त्र र रणनीतिहरूमा कमजोरीले यो जोखिमलाई बढाएको छ।
मौसम विज्ञान र जलवायु परिवर्तनका कारक तत्त्वहरूमा अध्ययन गरिरहेका वैज्ञानिक र अध्येताहरूका अनुसार पृथ्वीको तापक्रम वृद्धिको लागि कार्बन उत्सर्जनको मुख्य कारण मानव गतिविधि हो। वैज्ञानिकहरूका अनुसार औद्योगिक क्रान्तिपछिको औसत विश्वव्यापी तापक्रममा भएको वृद्धि नै ग्लोबल वार्मिङको मुख्य कारण हो। सन् १८८० देखि विश्वको औसत तापक्रम लगभग एक डिग्री सेल्सियसले बढेको छ। ग्लोबल वार्मिङ एक निरन्तर प्रक्रिया भएकाले सन् २०३५ सम्म औसत विश्वव्यापी तापमान ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुसन्धानकर्ताको दाबी छ। त्यस्तै १८८० यता विश्वव्यापी औसत समुद्री सतह पनि आठदेखि नौ इन्चले बढेको छ कम भने यो शताब्दीको अन्त्यसम्ममा समुद्री सतहको वृद्धि करिब एक फिट माथि पुग्ने प्रक्षेपण गरिएको छ। विश्वव्यापी तापक्रम वृद्धिले निम्त्याएको अर्को विकराल समस्या समुद्रको सतह बढ्नु हो। तातो तापक्रमले हिमनदी र जमिनमा आधारित हिउँ छिटो पग्लने हुँदा समुन्द्री सतह बढाउन यसले मद्दत गर्छ। यसरी विश्वभरि हिउँ पग्लने क्षेत्रहरूमा ग्रिनल्यान्ड, अन्टार्कटिका र हिमालय क्षेत्रमा अवस्थित हिमताल छन् जसका कारण प्राकृतिक विपद् र जोखिम बढेर गएको छ।
पृथ्वीमा बढ्दो तापक्रम र जलवायु परिवर्तनको असरले खतरनाक परिणामहरू निम्त्याउने त छ नै यसले पर्यावरणीय विविधतामा पनि प्रभाव पार्ने निश्चित प्रायः छ। भूस्खलन, अकल्पनीय प्राकृतिक विपद्, जनावर र बिरुवाका प्रजातिहरूको लोप हुँदै मानव–अस्तित्व नै संकटमा पर्ने स्थिति यो समस्याले ल्याउने सम्भावना छ। तत्काल समाधानका उपायहरूको खोजी नगर्ने हो र हात बाँधेर बस्ने हो भने स्थिति अझ भयावह हुने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।अबको बाटो ?
प्रकृतिले मानव जातिलाई सदैव साथ दिँदै हाम्रो बोझ उठाउँदै आएको छ। प्रकृतिले आफ्नो तर्फबाट आफ्ना सबै अवयवहरूको सही समानुपातिक सन्तुलन कायम राख्न हरसम्भव प्रयास गर्छ। तर हामीले भने प्रकृतिलाई प्रतिस्पर्धी ठानेर उसको आधारभूत संरचना र प्रणालीमा बाधा पुर्याउँदै आएका छौं। परिणामतः पर्यावरण संकट यतिबेला गहिरिँदै गएको छ र विश्वव्यापी चिन्ताको विषय बनेको छ। बढ्दो जनसंख्यासँगै आधुनिकीकरण र सहरीकरणजस्तो मानव विकासका गतिविधिले वातावरण प्रदूषण बढाइरहेको हाम्रो सामु छर्लंग छ। अहिलेको स्थितिमा खासै सुधार भएन भने आधुनिक सभ्यताको यो अभिशाप अर्थात् वातावरण प्रदूषणको विषले मानव जातिलाई कहिले मृत्युको मुखमा धकेल्छ भन्ने बारेमा केही भन्न सकिँदैन। औद्योगिक क्रान्ति र आधुनिक जीवनशैलीले मानव–समाज र सभ्यतालाई मौलिक रूपमा परिवर्तन गर्यो। परिणामतः विकसित समाजमा कृषि र कुटिर उद्योगमा आधारित अर्थतन्त्र क्रमशः प्रविधि र मेसिनको प्रभुत्वमा परिणत भयो।
मानव जीवनशैलीमा औद्योगीकरणको प्रक्रियाले विकासशील समाजका नागरिकहरूको जीवन सहज र सुविधा सम्पन्न त बनायो तर वातावरणमा भने आमूल परिवर्तन ल्यायो। आधुनिकताको होड र भौतिक विकासलाई मात्र समुन्नतिको मापनभित्र राख्ने सोचले जल, जमिन र वायुको प्रदूषण बढायो। वायुमण्डलमा कार्बनडाइअक्साइड ग्यासको मात्रा दिनानुदिन बढ्दा मौसममा पनि असर गर्नुका साथै ओजोन तहमा क्षति पुग्दा पर्यावरण थप संकटग्रस्त हुन थालेको हो। स्मरणर होस्, पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमिमाथि रहेको रक्षात्मक कवज ओजोनले सूर्यका हानिकारक किरणलाई पृथ्वीमा सोझै छिर्नबाट रोक्छ । जनसंख्याको अत्यधिक चाप र बढ्दो सहरीकरणले घना जंगल मासिँदै जानुले पनि ओजोन तहमा नकारात्मक असर पर्नु स्वाभाविक थियो। बढ्दो सहरीकरणको मागलाई पूूरा गर्न र अव्यवस्थित औद्योगीकरण र ती उद्योग कल–कारखानामा प्रयोग हुने अत्यधिक रसायनले ओजोन तहहरू च्यातिँदै जाँदा विनाश निम्तिँदैछ।
यो पृष्ठभूूमिमा अब मानवीय क्रियाकलापहरू र हाम्रो जीवनशैली ‘पर्यावरणमैत्री’ हुनुको विकल्प छैन। प्रकृतिमैत्री वा ‘पर्यावरणमैत्री’ जीवनशैली भन्नाले वातावरणमा नगण्य वा कुनै हानी नपुर्याई भोगचलन गरिने वस्तु तथा सेवालाई जनाउँछ। प्रकृतिमैत्री जीवनशैली र दिगो आर्थिक समृद्धि एकअर्काका परिपूरक भएकाले पनि वर्तमान र भावी पुस्ताका लागि स्रोतसाधनको संरक्षण गर्ने गरी स्रोतको प्रयोग गर्ने प्रणालीलाई दिगो विकासको खम्बा मानिएको छ। ‘वैकल्पिक र नवीकरणीय ऊर्जा स्रोतको प्रयोग’ र ‘संरक्षण’ दिगो विकासका दुई महत्त्वपूर्ण पक्षहरू हुन्।
हरित अर्थतन्त्र र दिगो विकास
हरित अर्थतन्त्रको आर्थिक अवधारणाले वातावरणीय, सामाजिक र आर्थिक आयामहरूलाई समेट्दै प्राकृतिक स्रोतहरूको समुचित उपयोगका माध्यमले हासिल गर्न सकिने गुणस्तरीय मानव विकासलाई जनाउँछ। जलवायु परिवर्तनले निम्त्याएको संकट र वैश्विक तापक्रम वृद्धि र वातावरणीय प्रदूषणसित जुध्न दिगो विकासका आधारहरूमध्येको महत्त्वपूर्ण खम्बा हरित अर्थतन्त्रलाई आर्थिक प्रणालीको मूल प्रवाहमा जोड्नु आवश्यक छ।
समतामूलक समाजको निर्माणका लागि अब हरित अर्थतन्त्रको बारेमा व्यापक बहस र जनचेतनाको आवश्यकता देखिन थालेको छ। पर्यावरण विनाश नगरिकन पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ र प्रकृति दोहनबिना पनि समुन्नति हासिल गर्न सकिन्छ भन्ने उदाहरणहरू डेनमार्क, स्विडेन, नर्वे र जापानजस्ता मुलुकहरू हुँदैछन्। जसको मुख्य कारण भनेको यी देशहरूले आफ्नो आर्थिक मेरुदण्डमा हरित अर्थतन्त्रलाई समावेश गर्नु हो। हरित अर्थतन्त्रको अवधारणाले आर्थिक वृद्धिसँगै प्रकृतिको संरक्षण र समुदायको हितलाई केन्द्रबिन्दुमा राख्दछ।
नेपालकै सन्दर्भमा भौगोलिक विविधता र भू—बनोटका कारण जलवायुसम्बन्धी प्रकोपका लागि अतिसंवेदनशील र जोखिमयुक्त अवस्थितिमा छौं। अझ विकराल हुँदै गएको प्राकृतिक प्रकोपसँग लड्न प्रभावकारी संयन्त्र र रणनीतिहरूमा कमजोरीले यो जोखिमलाई बढाएको छ। दिगो र समतामूलक विकास प्रकृतिमैत्री र हरित अर्थतन्त्रमा मात्र सम्भव हुने भएकाले अबको विकासका पूर्वाधारहरू वातावरण–मैत्री अनि ओजोन सतह–मैत्री पनि हुन जरुरी छ। तसथर्, अब हामीले प्रकृतिलाई आफ्नो प्रतिस्पर्धी ठान्न छोडेर प्रकृतिमैत्री जीवनशैली अपनाउनुमै सम्पूर्ण जगत्को भलो हुनेछ।