कहाँ छ जीवनको गन्तव्य ?

कहाँ छ जीवनको गन्तव्य ?
सुन्नुहोस्

गीतहरू सुन्दर र कर्णप्रिय हुन्छन् नै। गीतहरूलाई शब्दले मात्र राम्रो बनाउने होइन। गीत सुन्दर र कर्णप्रिय हुन संगीत र सुर साधनाले भरिएको स्वरको पनि उत्तिकै महत्त्व रहन्छ।

धर्तीका सबै सृष्टिको जन्मपश्चात मृत्यु अवश्यंभावी छ। सबै मानिसलाई थाहा छ। तर पनि मृत्युको डरले मानिसलाई पछ्याइरहन्छ। यथार्थमा जन्मदेखि मृत्युसम्मको यात्राको नाम नै जीवन हो। मानिसले सार्वजनिक, निजी र गोप्य गरी तीन जीवन जिइरहेको हुन्छ। मानिस जीवनको यो यात्रामा हरेक पल सुन्दरतामा रमाउन चाहन्छ। जीवनका यात्रामा आउने कठिनाइका दोबाटा÷चौबाटा सहज पार गर्न चाहन्छ। सुख शान्ति सम्मृद्धिले भरिएको जीवन मानिसको सपना हुन्छ। नवरसको उपयुक्त तालमेलले जीवनलाई आकर्षक बनाउँछ र शान्ति दिन्छ। सजिलो र अर्थहीन यात्राभन्दा कठिन र अर्थपूर्ण यात्राहरूले बढी सन्तुष्टि प्रदान गर्छ। यात्रामा भेटिएका सुखदुःखका मूल्यहरू सन्तुष्टिको मात्रासँग साटिन्छन्।

जीवन पाएरमात्र हुँदैन, जिउन पनि जान्नुपर्छ। कसरी जिउने भनेर थाहा पाउनु नै जीवनको कडी हो। जान्नेले जीवन पिउँछन्, नजान्नेले पश्चाताप गर्छन्। जीवनरूपी यो यात्रामा जे गर्न सकिन्छ वा जे जोड्न सकिन्छ अथवा जे आफूमा निहित गर्न सकिन्छ। ती सबै यात्राभरिका साथ हुन्। सुखदुःख रमाइलो नरमाइलो विभिन्न आरोह–अवरोहबीचका यात्राले नै जीवनलाई सुन्दर बनाउँछ। सामुन्ने देखिएको चित्रलाई हेरिने दृष्टिले प्रवृत्तिलाई प्रभाव पार्छ। 

भावनात्मक आकृति र लक्ष्यहरूले रूप परिवर्तन गरिरहन्छ। सोच तथा भाव गतिशील छ। जीवनका रोजाइ र खोजाइले पनि भावलाई प्रभावमा पारिरहेको हुन्छ। भावनात्मक पाटोहरूले सिधै मनसँग सम्बन्ध राख्छ। सामुन्नेको दृश्यलाई हेर्ने तरिकाले भाव निर्माण गर्छ र भावले आकृति। वर्षौं समय खर्चिएर कालिगडले उतार्न नसकेको चित्र होस् या लेखकले छर्न नसकेका शब्द ! भावनारूपी दृष्टिले पलभरमै मनमस्तिष्कमा उतारिदिन्छ।

गीतहरू सुन्दर र कर्णप्रिय हुन्छन् नै। गीतहरूलाई शब्दले मात्र राम्रो बनाउने होइन। गीत सुन्दर र कर्णप्रिय हुन संगीत र सुर साधनाले भरिएको स्वरको पनि उत्तिकै महत्त्व रहन्छ। मिठास भरिएको स्वरले गाउन पनि सक्नुपर्छ। सृजित गीतहरू सबैले, सबैको मन जित्छ भन्ने हुँदैन। सर्जक भने सन्तुष्ट हुन्छ। उसले आफ्नो गीतलाई सुन्दर बनाउन मेहनत, समय, कला र प्रतिभा बिछ्याएको हुन्छ। जीवन पनि एउटा गीत हो। यात्रीले लिने गन्तव्य र कलाले जीवनलाई परिभाषित गर्छ। सुखी जीवन भनेको अरूलाई कस्तो देखिन्छ भन्ने होइन, आफूलाई कस्तो महसुस हुन्छ भन्ने हो। हजारौं पानाहरूको एउटा यस्तो ठेली हो जीवन। जहाँ आफैंले लेखेका हरफहरू पटकपटक दोहोर्‍याएर प्रयोग गर्न पाउने सुविधा छैन। फेरि फर्केर आउन नपाउने कुराले जीवनलाई मीठो पनि बनाइरहेको हुन्छ। विगतका पानाहरूको पाठलाई मस्तिष्कमा राखेर अगाडिको यात्रा तय गर्नेहरूले जीवनलाई सुन्दर बनाउँछन्। आफ्नो भोलि कसैलाई थाहा छैन। न जानकारी नै छ यात्राको अवधि र दूरी। त्यसैले जे छ आज नै छ।

जीवनमा स्वास्थ्य, लक्ष्य र प्रेम यी तीन वस्तुहरूले महत्त्वपूर्ण स्थान लिएको हुन्छ। रिस, पश्चाताप, चिन्ता र रिसमा समय बर्बाद गर्नेले जीवनलाई दुःखी बनाउँछन्। कृषकले प्रत्येक साल आफ्नो खेतीबाट आफूले प्राप्त गर्ने गरेको फसल (उत्पादन) को परिमाण र गुणस्तरलाई प्रयोग गरेको बीउबिजन, माटो र हेरचाहले सुनिश्चित गर्छ। जीवनको गन्तव्य फसल प्राप्ति पनि हो। संयोगले प्राप्त हुने गुणस्तर र परिमाण दिगो हुँदैन। 

जीवनको खुसी मानिसले संयोगवश प्राप्त गर्ने पनि होइन, यसलाई छनोटले तय गर्छ। अरूले प्राप्त गरेको सुखको नक्कल गरेर सुखी हुनुभन्दा मौलिकतामा दुःखी हुनुमा आनन्द हुन्छ। जीवन एउटा संघर्ष हो। जहाँ संघर्ष हुँदैन, त्यहाँ अर्थपूर्ण जीवन हुँदैन। जोखिम लिन नचाहने मानिसले पनि नजानेरै बढी जोखिम लिइरहेका हुन्छन्। जीवनको यात्रा कसैले लेखिदिएको पुस्तक होइन। यो त आफैंद्वारा लेखिनुपर्ने खाली पानाहरूको ठेली हो। यात्रा बढ्दै जान्छ, पाना भरिँदै जान्छ। खाली ठाउँ भर्दै जानु र भरिएको ठाउँ खाली गर्दै जानु पनि हो जीवन।

जीवन प्राकृतिक र सहज परिवर्तनहरूको शृंखला पनि हो। अप्राकृतिक रूपमा उभिँदा यसले दुःख सिर्जना गर्छ। कोही आफ्नो लागि बाँचिरहेका छन् त कोही अरूका लागि। कोही बाँचेर पनि मरेतुल्य छन् त कोही मरेर पनि ज्युँदा। जीवन बाँच्ने एउटा कला पनि हो। सूर्योदयको पाइला सूर्यास्तमा पुगेर अडिन्छ। अर्थात् सूर्योदयको गन्तव्य सूर्यास्त। जीवनको चक्र पनि सूर्योदय र सूर्यास्त झैं निरन्तर चलिरहन्छ। यात्रामा भेटिएका काला बादललाई चिर्दै सूर्यले उज्यालो छरिरहेको हुन्छ। यात्रामा भेटिएका कालो बादलका थुम्काहरूले सूर्यको गन्तव्यलाई प्रभाव पार्न सक्दैन। शारीरिक तथा मानसिक दुःख र पीडाका बोझहरू गन्तव्यका सूचक होइनन्। कर्मको कलममा मेहनतको मसीले जीवनका खाली पाना भर्दै जानेहरूले वास्तविक जीवन जिउने हुन्।

तीन वर्षको उमेरसम्म बोल्न पनि नसकेका एउटा ६ वर्षको बालक जसलाई विद्यालयमा शिक्षकहरूले मन्दबुद्धि भएको र मूर्खको संज्ञा दिएका थिए। उनै मूर्ख र मन्दबुद्धि भएका अल्बर्ट आइन्स्टाइन बीसौं शताब्दीका महान् वैज्ञानिक बन्न पुगे। खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन्। शारीरिक रूपमा कुँजो स्टिफन हकिङले ब्ल्याक होलको रहस्य खोले। अन्धो हुँदाहँुदै होमरले इलियड र ओडेसीजस्ता महाकाव्य लेखे। म्याक्सिम गोर्कीलाई गरिबीले छेकेन। अर्काको घरमा घरेलु नोकर रहेका उनि महान् लेखक बने। सुस्त र मन्दबुद्धिको भनेर स्कुलबाट निष्कासित गरिएका टमी मानव इतिहासकै महान् आविष्कारक ‘थोमस एल्वा एडिसन’को नामले विश्व प्रशिद्ध भए।

गन्तव्य स्थिर छ। गन्तव्यसम्म पुग्ने लाखौं बाटाहरू छन्। हरेक जीवनका आआफ्नै पहेंली हुन्छन्। एक जीवनको पहेंली अर्को जीवनसँग मेल खाँदैन। पहेंली सुल्झाउने माध्यम पनि फरक हुन्छन्। कोही सहजै सुल्झाउँछन् त कोही भुँमरीमा फस्छन्। गन्तव्यसम्मका यात्रा रोमाञ्चित मात्र होइन, दुःखद् पनि हुन्छन्। न रोजाइमा न खोजाइमा छ जीवन। कति कुराहरू चाहेर पनि पाइँदैनन् तर कतिपय नचाहेरै पनि आइपर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.