बाटो बिराउँदै विद्यार्थी राजनीति

बाटो बिराउँदै विद्यार्थी राजनीति

अधिकांश विद्यार्थी राजनीतिले अध्ययन अस्तव्यस्त भयो भनिरहेछन्। यसरी विद्यार्थीका कस्ता हकअधिकार सम्भव हुन्छ ?

देशको पहिलो र ठूूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका अधिकांश क्याम्पसमा यही चैत्र ५ मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ। केही क्याम्पसमा निर्विरोध भएको छ भने केहीमा आपसी लफडाका कारण रोकिएको अवस्था छ। धेरैजसोमा निर्वाचन गतिविधि नियमित तालिकाअनुसार भइरहेका छन्। विभिन्न अन्तविरोधले ग्रस्त नेपाली राजनीतिमा यो निर्वाचनले अर्को तरंग ल्याउँदैछ। यही वर्षमात्र स्थानीय, प्रादेशिक अनि संघीय चुनाव सफल रूपमा समापन भए। विद्यार्थीको चुनाव पनि राजनीतिक दलको शक्तिमापन र आर्जनको एक परम्परागत सूचांक हुन सक्छ।

हरेक दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालदेखि एकैपटक आठ वर्षपछि २०७३ मा पनि सीमित कलेजमा मात्र भएको थियो र अहिले ६ वर्षपछि पुनः हुँदैछ। देशका राजनीतिक परिवर्तनहरूमा विद्यार्थीको सबल संलग्नता रहन्छ। युवा ‘समृद्घ देश’को आधार स्तम्भ भने जस्तै विद्यार्थी राजनीतिको आधार स्तम्भ हुन्छन्। अझ शिक्षा र युवा दुवैलाई समेटर हुने गतिविधिले धेरैको ध्यान तान्छ, स्ववियु चुनाव यस्तै एउटा मोड हो। विद्यार्थीको सरकार भनेर विश्व्यापी मान्यता स्थापित गरेको यस्तो चुनाव शिक्षाका विभिन्न बेथितिलाई सम्बोधन गर्दै विद्यार्थीको हकहित प्रत्याभूति गर्न आवश्यकतासमेत हो

आवश्यकताको आमत्सात् 

जापान, कोरिया, हङकङजस्ता देशमा विद्यार्थी संगठनले देशको आवश्यकताअनुसार दक्ष, प्राविधिक, वैज्ञानिक प्रकारको शिक्षा प्रणाली निर्माण गर्न सघाउँछन्। विद्यार्थीहरू सकेसम्म धेरै दक्ष र लाभान्वित बनुन् भन्ने उद्देश्य राख्छन्।
 

हाम्रो शिक्षा प्रणालीमा असंख्य समस्या छन्। दीक्षितहरू शिक्षाले दिनुपर्ने दक्षता र विशिष्टता प्राप्त नगरेको महसुस गर्छन्। विश्वविद्यालयहरू निराश मनस्थिति भएका बेरोजगार जन्माउने यन्त्र बन्दैछन्। प्राध्यापक÷शिक्षकहरू शिक्षामा कम र राजनीतिमा बढी सक्रिय छन्। यस्ता अनेकन समस्याको निराकरणमा विद्यार्थीको सरकार भनिने यस्तो निकायको सकारात्मक योगदान चाहिन्छ। विश्वविद्यालयका प्राध्यापकहरूको विज्ञता र विद्वताको परिमिश्रणबाट समाजमा अग्रगमनकारी नयाँ चिन्तनहरू प्रस्फुटन हुन्छन्। नासाका वैज्ञानिक प्राध्यापकहरू मंगल ग्रहमा मानव वस्ती बसाउन अनुसन्धान गर्दैछन् भन्ने समचार आउँछन्।

लन्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापकहरू समस्त युरोपको आर्थिक पुनर्जागरणलाई मजबुत गराउन नयाँ चिन्तन÷मन्थनमा सक्रिय छन् भन्ने मानिन्छ। संसारमा सबैभन्दा धेरै संस्कृत विश्वविद्यालयहरू रहेको मानिने जर्मनीका थुप्रै प्राध्यापक ज्ञानको खोजमा नयाँ क्षितिज केलाउँदैछन्। पूर्वीय दर्शनमा ज्ञानको विशाल भण्डार सिर्जना गरेका कौटिल्य तत्कालीन तक्ष्यशिला विश्वविद्यालयका प्राध्यापक थिए। राज्यले सबै विषयमा अन्तिम धारणा बनाउन उनको सहयोग लिन्थ्यो। संसारका नामुद दर्शन तथा सामाजिक एवं आर्थिक परिवर्तनका सूत्रपात्र गर्नेहरू अधिकांश प्राज्ञिक पृष्ठभूमिकै छन्। यस्ता नजिरका बागजुद हाम्रा प्राध्यापकहरू भने कहिले र कस्तो आन्दोलन गर्ने, धर्ना÷जुलुसमा के हुने भन्नेमात्र कार्यक्रम बनाउँछन्। आमविद्यार्थी प्रताडित छन्। शिक्षाले देशमा बस्ने र देशको सम्मान गर्ने नागरिक उत्पादन गरेको छैन। विश्वविद्यालयले उच्च स्तरका जनशक्ति उत्पादन गर्न सकेनन्।

समुन्नत राष्ट्र निर्माण सिद्घान्तका प्रतिपादकहरू सान्हा वन्धोपाध्याय, सी हार्वर, जान जी जानम्याट शिक्षाको गुणस्तर र समय सामयिकतालाई उच्च महत्त्व दिन्छन्। प्राचीन दर्शनमा पूर्वका कौटिल्य, कन्फुसियस, मनुदेखि पाश्चात्य जगत्का प्लेटो, सुकरातले समेत शिक्षामा राज्यको विशेष निगारानी तथा प्रयासको आवश्यकता दर्शाउँथे। विकसित देशहरूले त ‘इजुकेसन इज द चिफ डिफेन्स अफ नेसन’ अर्थात् राष्ट्रको मुख्य सक्षमता नै शिक्षा हो भन्छन्। सोही आत्मसात्मा जापानले दोस्रो विश्वयुद्घपछि धेरै वर्षसम्म बजेटको लगभग ४९ प्रतिशत शिक्षामा लगाउँथ्यो। हाम्रो बजेटको विशाल हिस्सा शिक्षामै जान्छ। समृद्घ देश निर्माण त्यो खर्चको एकमात्र र अन्तिम अपेक्षा हो। उच्च शिक्षामा भएका यही आशाकोे प्रत्याभूति गर्न सकारात्मक, समन्वयकारी काम गर्नु विद्यार्थीको सरकार भनिने त्यसको संगठनको प्रमुख जिम्मेवारी हो। तर विद्यार्थी राजनीतिको ध्यान अन्तै बिटुलिएको छ।

बिटुलिएको ध्यान

शिक्षाको विकास, पुनर्संरचना अनि विद्यार्थी हकहितको दुहाइ दिने थुप्रै संगठन भए पनि शिक्षाको अवस्था निकै कमजोर छ। सरकारी शिक्षा भयावह छ अनि निजी शिक्षा व्यापारीकरण हँुदैछ। हाम्रो शिक्षाले केवल खाडी मुलुकलाई कुल्ली र विकसित देशलाई प्राविधिक जनशक्ति बनाउँदैछ। सहरका गल्ली÷गल्लीमा विदेश पठाउने परामर्शदाताहरू छन्। हामीले अभ्यास गरेको शिक्षाले देशको प्रगति सोच्ने, त्यसका लागि काम गर्ने मानव स्रोतसाधन तयार गरेकै छैन। शिक्षा भनेको प्रमाणपत्रको थाक र सूचनाको भारी हैन, सोच र चेतनाको स्तर हो। सत्कर्म, सदाचार र शिष्टाचारको बढावा हो। तर विद्यार्थीको राजनीतिले शिक्षामा यस्तो विशेषता निर्माण गराउन सकेको छैन।

पहिलेपहिले विद्यार्थीको पढ्ने अधिकार स्थापित गर्न विद्यार्थी राजनीतिको अभ्यास हुन्थ्यो। तर आजकल विद्यार्थीलाई अध्ययनबाट वञ्चित गर्नु चाहिँ विद्यार्थी राजनीतिको मुख्य ध्येयजस्तो देखिन्छ। धर्ना, जुलुस, तोडफोड, चन्दागिरिबाहेक अन्य कुरामा विद्यार्थी राजनीति केन्द्रित हुन सकेको छैन। शिक्षालयहरू पार्टीका प्रयोगशाला बन्दैछन्। कलेजभित्र ठूूला÷ठूला ब्यानर टाँगिन्छन्, आन्तरिक लफडाबाजी चल्छ। तोडफोडमात्र हैन, पुस्तकालयमा आगजनी गर्ने काम हुन्छन्। कलेज प्रशासनलाई भर्ना, परीक्षाजस्ता पक्षमा दबाब दिइन्छ। विद्यार्थी राजनीति गर्न र त्यसलाई कमाइखाने भाँडो बनाउन एउटै मानिस वर्षौंसम्म विश्वविद्यालय आइरहन्छ। प्रशासनको मिलेमतोमा भ्रष्टाचार गरिएको पनि सुनिन्छ।

देशमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउने हैसियतमा शिक्षण गतिविधि गरिरहेका केही संस्था छन्। उनीहरू विद्यार्थी राजनीतिलाई कति पनि चाहँदैनन्। अधिक राजनीतीकरण र बेवास्ताका कारण क्षमताले भ्याएसम्म कसैको पनि प्राथमिकतामा सरकारी शिक्षा पर्दैन। विद्यार्थी राजनीति पढ्न चाहने विद्यार्थीलाई आस कम र त्रास बढी बन्दैछ। अधिकांश विद्यार्थी राजनीतिले अध्ययन÷अध्यापन अस्तव्यस्त भयो भनिरहेछन्। यसरी विद्यार्थीका कस्ता हकअधिकार सम्भव हुन्छ, यो प्रश्न पेचिलो बन्दैछ। सघन विद्यार्थी राजनीति हुने कलेजका उत्पादन अधिकांश असफल देखिन्छन्। यसले पनि विद्यार्थी राजनीतिले गलत पथ लिएको प्रमाण दिन्छ। तर, विश्वजगत्मा विद्यार्थी राजनीतिका अलौकिक उदाहरण पनि प्रशस्त छन्।

अनुपम उदाहरण

थुप्रै देशमा सवल र सक्षम विद्यार्थीमात्र राजनीतिमा हुन्छन्। शिक्षाको परिवर्तनमार्पmत देशको अग्रगमनलाई जोड दिन्छन्। अमेरिकामा सन् २००९ पछिका शोधले अहिलेका अधिकांश चिन्तक, दार्शनिक पहिले विद्यार्थी राजनीतिमा भएको देखाउँछ। इटालीको कतिपय विश्वविद्यालय पढाइमा अव्बल र सर्वाेत्कृष्ट विद्यार्थीलाई मात्र राजनीति गर्ने छुट दिन्छन्। उनीहरू अध्ययन तथा अनुसन्धानमा निकै समय खर्चन्छन्। विद्यार्थीको शैक्षिक तथा सिर्जनात्मक पक्षलाई सघन पार्ने रचनात्मक कार्यक्रम गर्छन्। विचार निर्माण गर्छन् र समाज तथा देशलाई डोहोर्‍याउँछन्।

क्याम्ब्रिज विश्वविद्यालयमा राजनीतिमा संलग्न विद्यार्थीले घरविहीनका लागि घर निर्माण गरेका उदाहरण छन्। चलिरहेका पाठ्यक्रमको उपादेयतामा छलफल गर्दै समय सुहाउँदो पाठ्यक्रम ल्याउन सहयोग गर्छन्। समुदायमा गएर मानिसलाई सचेत गराउँछन्। बेलायतका अधिकांश कलेजहरूमा नेसनल युनियन अफ स्टुडेन्ट नामक स्ववियु जस्तै संगठन हुन्छ। त्यसका सदस्यहरू मानिसलाई अध्ययन गर्ने संस्कार बसाउने, सीपमूलक तालिम दिने, समुदायको सरसफाइ गर्ने, सरकारलाई कानुन कार्यान्वयनमा सघाउने र प्रहरीलाई अपराधी नियन्त्रणमा सघाउने काम गर्छन्। क्याटरिङ फाउन्डेसनका निकोलस पी लोगो र न्युयोर्क विश्वविद्यालयका रोज पी मोयरको संयुक्त अध्ययनले संसारका विभिन्न देशमा विद्यार्थी राजनीतिको ब्यानरमा असंख्य सकारात्मक परिवर्तनका काम भएको देखाउँछ। पोल्यान्डका विद्यार्थी संगठनहरूले सहरका चोकमा धनीहरूबाट सहयोग संकलन गरी गरिबहरूलाई बाँड्ने गरेको देखिन्छ। जापान, कोरिया, हङकङजस्ता देशमा विद्यार्थी संगठनले देशको आवश्यकताअनुसार दक्ष, प्राविधिक, वैज्ञानिक प्रकारको शिक्षा प्रणाली निर्माण गर्न सघाउँछन्।

शैक्षिक गतिविधिलाई नियमित र निःसन्देह बनाउँछन्। विद्यार्थीहरू सकेसम्म धेरै दक्ष र लाभान्वित बनुन् भन्ने उद्देश्य राख्छन्। विश्वविद्यालयबाट मात्र सम्भव नभए संगठनको तर्पmबाट विद्यार्थीका लागि अतिरिक्त कक्षाहरू चलाउँछन्। सरकार तथा विश्वविद्यालयका तर्पmबाट हुने शिक्षाका विकासका सशक्त सारथि बन्छन्। सहप्राध्यापक मीना ओझाको शोधले नेपालका विद्यार्थी संगठनहरू चाहिँ तोडफोड, नारा जुलुस तथा राजनीतिक नेता जन्माउने इन्कुवेटर भएको देखाउँछ। यसरी बिटुलिएको विद्यार्थी राजनीतिलाई सम्मानयोग्य बनाउन फरक बाटो हिँड्नुपर्छ।

फेर्नुपर्ने बाटो

अब स्ववियु तथा पूरै विद्यार्थी राजनीति पुनर्गठित बन्नुपर्छ। विद्यार्थीको गुणस्तर प्रवद्र्धनको पहल गर्नुपर्छ। उनीहरूको सिकाइ क्रियाकलापले समाजलाई दिएको योगदानको मूल्यांकन गर्नुपर्छ। अनुसन्धानमा लगानी गर्नुपर्छ। राष्ट्रिय÷अन्तर्राष्ट्रिय सभा तथा सेमिनार गर्दै नयाँ प्रकारका पाठ्यक्रम निर्माण गर्नुपर्छ। देशमा आगामी ५, १० र १५ वर्षभित्र शिक्षामा हुनुपर्ने परिवर्तनको मार्गचित्र बनाउँदै त्यसको अभ्यास गर्नुपर्छ। राजनीति गर्नलाई शिक्षालयहरूको प्रयोग बन्द गरिनुपर्छ। राम÷रमिता, लडाइँ÷झगडामात्र पर्यायवाची बन्ने परम्परा विस्थापित हुनुपर्छ। शिक्षामा पछिल्लोपटक निकै प्रभावकारी मानिएका ‘आस्क’ र ‘आइफोर’जस्ता अवधारणा साकार पार्न योगदान गर्नुपर्छ। भारतमा शिक्षामा ‘क्वालटी सर्कल’को अवधारणा ल्याइयो। देशको आर्थिक समृद्घिमा प्रविधिको महत्त्वपूर्ण भूमिका औंल्याउँदै थाइल्यान्डले विद्यार्थी संगठनको सुझावमा अनेकौं बायोटोक्नोलोजी विश्वविद्यालयहरू स्थापना गर्‍यो। अहिले गुणस्तरीय, उत्पादनमूलक, वैज्ञानिक र प्राविधिक शिक्षाको आवश्यकता छ।

विद्यार्थीको राजनीतिले देशको आर्थिक विकासलाई सघाउने र दीक्षितलाई आत्मनिर्भर गराउने नयाँपनको शिक्षा सिर्जनामा योगदान गर्नुुपर्छ। समयमै नतिजा प्रकाशन गर्ने, समय÷समयमा पाठ्यक्रम पुनरावलोकन गराउने, विद्यार्थीमा अनुसन्धानात्मक सोच र व्यवहार साथै सदाचारको विकास गराउने कुरा विद्यार्थी राजनीतिको प्राथमिकता हुनुपर्छ। शिक्षा देशका सबै मानिसको जिज्ञासाको विषय हो। विद्यार्थी राजनीति शिक्षामा सकारात्मक परिवर्तनको एकमात्र र पहिलो कारण बनेको देखिनुपर्छ। त्यसबखत स्ववियु निर्वाचनमा आम जनमानसको सरोकार रहन्छ। अन्यथा विश्वविद्यालय एवं कलेजहरूलाई राजनीतिक पार्टीका स्थायी र दुर्गन्धित गोठ बनाउँदै दलहरूको शक्ति अनि सम्भाव्यता परीक्षण गर्नमात्र हुने स्ववियु चुनावको खासै महत्त्व रहँदैन। अहिलेका गतिविधिले त स्ववियुको साखसमेत गुम्दैछ। यसमा गम्भीर सुधार नभएमा स्ववियु निर्वाचन हुनु÷नहुनु भनेको कागलाई बेलजस्तो मात्रै हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.