सरिताको कलकल अघिपछि लाग्ने शीलाका नादको धून बिछट्टै सिँगारिएकी प्रकृति र जंगली फूलको बास्ना !
सरिताको कलकल
बिछट्टै सिँगारिएकी प्रकृति र
एकान्तमा बसेको बगरलाई
बसन्तको आगमनले मात चढ्यो ।
सिम्रिकको बोटमा फलेका
सिन्दूरे दानाहरू हेर्दै
बगरले आफ्नै छातीमा
एउटा चित्र कोर्यो–
आरनमा बसेका
बराइली दाजुको ललाट जस्तो
हुस्सुले छोपेको गहुँबारी जस्तो
ओडारबाट निक्लिएको धुवाँ जस्तो,
एउटा अमूर्त चित्र !
बगरलाई सम्झना छ
ठेला उठेका हत्केलाले हथौडा समातेका अनुहार
बालुवालाई ओछ्यान बनाएर
निदाएका कलिला बचेराहरू
कुपोषणले मक्काएका
भोका–नांगा आमाको जीर्ण शरीर
ठ्याक्कै हुरी जस्तै
बाढी पसेको निरीह गाउँ जस्तै
डढेलो लागेर सकिएको बस्ती जस्तै
बगरले कुँद्यो एउटा अमूर्त चित्र !
बगर निदाउन नसकेको वर्षांै भयो !
अधुरा सपनाको चाङ छ उसका छातीमा !
सन्तानको भोक मेटाउन
मुटुलाई बन्धकी राखेर खाडी पुग्नेहरू
ऋणको भारले थिचेर ब्युँझिन बिर्सनेहरू
हतारमा रातो बाकस चढ्छन् र
अन्तिम गन्तव्य स्थल बगरमा बसेर
आआफ्नै कथामा डुब्दै रातभरि रुन्छन्
बगरलाई असह्य हुन्छ
र कोर्छ एउटा अमूर्त चित्र !
बसन्तको यौवन प्रकृतिमा पोखिँदा
जंगली फूलको बास्नाले
बगरलाई मदहोस बनाउँछ
ऊ बिर्सिदिन्छ क्षणभरमै सारा व्यथा
र लासहरू हेर्दै मुसुक्क हाँसेर भन्छ
‘श्वास उतै छोडे पनि मातृभूमि सम्झेर...
जे होस्, आउन त आयौं !’
जंगली फूलको बास्नाले
यसैगरी बगरमा हुन्डरी चलाइरह्यो भने
अझै धेरै कोरिनेछन्
त्यस्तै अमूर्त चित्रहरू !