हिन्दू संस्कृतिमा १८ पुराण छन्। वेदहरू र उपनिषद्हरू छन्। ती सबै पवित्र शास्त्रहरूमा जुनीहरूको कुलसंख्या ८४ लाखभन्दा अर्को बताइएकै छैन।
ब्रह्माण्डको सृष्टि कहिले भयो ? कसरी भयो ? कसरी उत्पत्ति भए यी असंख्य ताराहरू र तारापुञ्जहरू ? तिनीहरू के तत्त्वले बने ? बन्ने तत्त्वको निर्माण कसरी भयो ? कसले गर्यो ? यो सृष्टि किन र कसको चाहना वा अवधारणा हो ? ‘ऊ’ को हो र ‘उसले’ यस्तो चाहना किन गर्यो ? यसबाट ‘उसलाई’ र अरूलाई के लाभ हुन्छ ? सबैसँग यस्तै प्रश्नहरू छन्। परन्तु यसको ठोस उत्तर आजसम्म कसैसँग छैन। यसबारे सबै अनभिज्ञ नै छन्। यी सब कुराहरू रहस्यकै गर्भमा छन्। अर्थात् उत्तरै नभए पनि यस्ता प्रश्नहरूमा डुल्दा मनलाई भने एकतमासको आनन्द प्राप्त हुन्छ।
‘लगभग’ पाँच अर्ब वर्षको भयो पृथ्वी। पृथ्वीभन्दा अरू अर्बौं वर्षले जेठो छ, ब्रह्माण्ड। ‘करिब’ चार अर्ब वर्षतिर पृथ्वीमा सूक्ष्म जीव–वनस्पतिहरू देखा परेका थिए। मानिस भने आजभन्दा ‘झन्डै’ पाँच लाख वर्षअघि पृथ्वीमा देखा परेका हुन्। जीव विकासको इतिहासमा वैज्ञानिकहरूको भनाइ यस्तो छ। पृथ्वीको परिधि ‘पुगनपुग’ ४० हजार किलोमिटर छ। प्रतिघण्टा ‘सरदर’ आठ सय किमिको गतिमा उड्ने जहाजलाई पृथ्वीलाई एक चक्कर लगाउन ‘अन्दाजी’ ५० घण्टा अर्थात् दुई दिनभन्दा बढी लाग्छ। पृथ्वीबाट सूर्यसम्मको दूरी ‘त्यस्तै’ १ करोड १५ लाख किमि जति छ। उक्त जहाजलाई सूर्यमा पुग्नु पर्यो भने ‘कम्तीमा’ २१ वर्ष लाग्छ। बाहिरी अन्तरिक्षका ताराबीचको दूरीको तुलनामा यो दूरीको हिसाब त फेरि हिसाबै होइन।
हाम्रो ‘आकाशगंगा’ तारापुञ्जका अर्बौं उज्याला तारामध्ये ‘सूर्य’ त जाबो एउटा तारा न हो। पृथ्वी र जीव वनस्पतिका लागि भने सूर्य सम्पूर्ण हो। यसैको पुर्पुरोको बलमा पृथ्वीको पुर्पुरो बलियो बन्छ। यसर्थ पृथ्वीको भाग्य सूर्यको निधारमा लेखिएको हुन्छ र सूर्यको ‘आकाशगंगा’को निधारमा। यस प्रकार कसैको पनि भाग्य आफ्नै निधारमा लेखिएको हुँदैन। सबैको भाग्यको ‘रिमोट’ कुनै अर्को ठूलो निधारबाट सञ्चालित हुन्छ। ब्रह्माण्ड र पृथ्वीको आयुको तुलनामा जीव वनस्पतिहरूको आयु मिलिक्क मिल्केको बिजुलीजस्तै हो। यस्तै यिनीहरूको संख्या अनन्त ब्रह्माण्डमा अवस्थित वस्तुहरूको संख्यामा केही पनि होइन, र पनि हाम्रो आयु–गणितको अंकगणितमा यो एउटा विशाल अंक हो। जीव वनस्पतिको यो संख्या हाम्रो निमित्त भीमकाय संख्या हो।
जीव वनस्पतिको यो संख्याको गणना उहिल्यै हाम्रो सनातन वैदिक विज्ञानले गरिसकेको तथ्य हाम्रा पौराणिक शास्त्रमा उल्लेख छ। वर्तमान समयमा आधुनिक भौतिक विज्ञानअन्तर्गतको जीवविज्ञानले ‘अनुमानित’ तथ्यांकहरू प्रस्तुत गरेको छ। जीव विज्ञानका अनुसार अमिबादेखि मानिससम्मको यात्रामा करिब १ करोड ४ लाख योनिहरू छन् भनिएको छ। यो अनन्त सृष्टिको सृष्टिपछि फेरि यी योनिहरूको सृष्टिको महान् उद्देश्य के हो ? किन र कसका लागि हो ? यो पनि आजसम्म उनै नियन्ताको गर्भमा लुकिरहेकै छ। हामीले यो रहस्य खोज्न त तम्सिन्छौं। तथापि उपलब्धि उही ‘हातमा लाग्यो शून्य’ भनेजस्तै भइदिन्छ।
पानी हाइड्रोजन र अक्सिजनको यौगिक हो। माथिका प्रश्नहरूको उत्तर महासागरको पानीबाट हाइड्रोजन र अक्सिजन छुट्ट्याउन खोज्नुजस्तै हो। महान् प्रविधिका सहयोगमा छुट्ट्याउन त सकिएला अर्थात् हाइड्रोजन र अक्सिजन छुट्ट्याउन असम्भव नै त नहोला किन्तु यो सजिलो भने किमार्थ छैन। त्यसो त यो लेखको उद्देश्य पूरा गर्नका लागि त्यो महासागरमा नडुब्दा पनि हुन्छ। मतलब, यस लेखलाई त्यति टाढाको यात्राको जरुरत पर्दैन।
खासमा योनिहरू भनेको पृथ्वीमा पाइने जीव वनस्पतिहरूको जाति प्रजाति अर्थात् तिनीहरूको प्रकार हो। जस्तै ः कीट योनि, मत्स्य योनि, उभयचर योनि, सर्प योनि, पन्छी योनि, पशु योनि, मनुष्य योनि आदि। जाति र उपजाति भनेजस्तै यी योनिहरूका पनि अनेकौं उपयोनि हुन्छन्। जेहोस्, अमिबादेखि मानिससम्मको यात्रामा करिब १ करोड ४ लाख योनिहरू छन्। जति भनिए पनि ‘पृथ्वीमा’ करिब ८७ लाख योनिले बसोबास गर्छन्। यो ‘लर्ड रोबर्ट मे’को तथ्यांकलाई विश्वले सबैभन्दा विश्वासिलो
तथ्यांक मानिआएको छ। उक्त ‘अनुमान’ अनुसार जमिनमा र पानीमा बस्ने योनिहरूको संख्या क्रमशः ६५ लाख र २२ लाख छ।
उक्त अनुमानित गणना यस्तो छ ः–
१. ‘जीवहरू’ – ७७ लाख ७० हजार (७७.७ लाख)।
२. ‘बोटबिरुवाहरू’ – २ लाख ९८ हजार (२.९८ लाख)।
३. ‘झ्याउहरू’ (ढुसी, च्याउ जातिका) – ६ लाख ११ हजार (६.११ लाख)।
४. ‘प्रोटोजोआहरू’ (एककोषीय प्रजातिहरू) – ३६ हजार ४ सय (३६.४ हजार )।
५. ‘लेऊहरू’– २७ हजार ५ सय (२७.५ हजार)
‘कुल संख्या’ – ८७ लाख ४३ हजार (८७.४३ लाख)
यीमध्ये जीवहरू ९ लाख ५३ हजार ४ सय ३४ (९,५३,४३४), बोटबिरुवा २ लाख १५ हजार ६ सय ४४ (२,१५,६४४), झ्याउहरू ४३ हजार १ सय ७१ (४३,२७१), प्रोटोजोआहरू (एककोषीय प्रजातिहरू) ८ हजार १ सय १८ (८,११८) र लेऊहरू १३ हजार ३३ (१३,०३३) लाई मात्रै सूचीबद्ध गरिएका छन्। अर्थात् कुलसंख्याको यति संख्यालाई मात्रै क्रमबद्ध रूपमा वर्गीकरण गरिएका छन्।
यसै गणनाका क्रममा ‘लर्ड रोबर्ट मे’ले एउटा गम्भीर ठट्यौली पनि गरेका छन्। उनको ठट्यौली के छ भने यदि ‘एलियन्स’ पृथ्वीको भ्रमणमा आयो भने त्यसले पहिलो प्रश्न यो गर्नेछ– ‘तपाईंको ग्रहमा कतिवटा फरक जीव–प्रजातिहरू छन् ?’ त्यसपछि हामी हाम्रो जवाफमा अनिश्चितताबाट ‘लज्जित’ हुनेछौं। उनको यो भनाइ अझैसम्म आफूहरूसँग जैविक विविधताको यथेष्ट नमुना नहुनु र जहिले पनि अप्रत्यक्ष अनुमानहरू अनिश्चितताको विवादमा फसिरहनुको पीडा हो।
अर्काथरी जीव–वनस्पतिविद्हरूले यस्तै एउटा अर्को ‘अनुमानित’ तथ्यांक पनि प्रस्तुत गरेका छन्। उनीहरूको यस तथ्यांकअनुसार पृथ्वीमा जीव र वनस्पतिहरूको जम्माजम्मी संख्या ७२ लाख ३० हजारको वरपर छ। उनीहरूले प्रस्तुत गरेको अनुमानित गणना–तालिका यस्तो छ ः
०००
१. मेरुदण्डयुक्त प्रजातिहरूको संख्या ः स्तनधारीहरू ५ हजार ५ सय, चराहरू १० हजार, सरिसृपहरू १० हजार, उभयचरहरू १५ हजार, माछाहरू ४० हजार गरी जम्मा ८० हजार ५ सय छन्।
२. मेरुदण्ड नभएका प्रजातिहरूको संख्या ः कीटपतंगहरू ५० लाख, अराक्निड्सहरू (माकुरा वा बिच्छी वर्गका कीराहरू) ६ लाख, मोलस्का (चिप्लेकीरा, जाँतेकीरा वर्गका जीव)हरू २ लाख, क्रस्टेसियनहरू १ लाख ५० हजार, इकिनोडम्र्सहरू १४ हजार, अन्य
७ लाख ९१ हजार ८ सय गरी जम्मा ६७ लाख ५५ हजार ८ सय छन्।
३. बोटबिरुवाहरूका प्रजातिहरूको संख्या ः फूल फुल्ने बिरुवा ३ लाख ५२ हजार, कोनिफर (धुपी सल्ला जातिका) हरू १ हजार ५०, मस (काई, लेऊ जातिका) हरू २२ हजार ७ सय ५०, उन्यु वर्गका बिरुवा १५ हजार गरी जम्मा ३ लाख ९० हजार ८ सय छन्। यसरी जम्मा अनुमानित प्रजातिहरूको संख्या ७२ लाख २७ हजार १ सय हुन आउँछ।
यसरी एउटै विषयमा वैज्ञानिकबीच पनि मतैक्यता छैन। र त ‘लर्ड रोबर्ट मे’ले हामी हाम्रो जवाफमा अनिश्चितताबाट ‘लज्जित’ छौं भनेका छन्। मानौं, सालाखाला, लगभग, अन्दाजी, यस्तै, त्यस्तै, वरपर, कम्तीमा, सरदर, झन्डै, पुगनपुग, अनुमानित, करिबजस्ता मान्यतामा अडिएका विषयमा सत्यता हुँदैन। कतिपय विषयमा विज्ञान प्रायः यस्तै मान्यतामा अडिएको छ।
यस्ता ‘अनुमानित’ तथ्यांकहरूबाट कुनै कुनै कुरामा निकटतम ज्ञान प्राप्त भए पनि पूर्ण ज्ञान प्राप्त हुँदैन। यस्ता तथ्यांकहरूको हात समाएर आएका तथ्यहरूबाट सत्यलाई भेट्न सकिँदैन। बिना सत्यको ज्ञान व्यावहारिक हुँदैन। अव्यावहारिक ज्ञानको आयु क्षणिक हुन्छ। कल्पकल्पसम्म टिक्न तथ्य मिथ्या हुनु हुँदैन। यस्तै अनुभवले गर्दा होला ‘जर्ज बनार्ड शा’ले कतै भनेका छन्– ‘विज्ञान सदैव गलत हुन्छ। यसले नयाँ १० वटा समस्या नउब्जाई एउटा पनि समाधान दिँदैन।’
०००
अचेल पलपलमा प्रविधिको परिवर्तन भइरहन्छ। हिजो भर्खर अत्याधुनिक भनिएको प्रविधि भोलिपल्टै ‘मिति सकिएको जहर’जस्तो बन्छ। अतः उही कुरामा हिजो र आजका वैज्ञानिकहरूको विचारमा एकता हुँदैन। भिन्न समयमा भिन्न वैज्ञानिकका एउटै विषयमा भिन्न विचार हुनु त कुनै नौलो भएन। परन्तु उही वैज्ञानिक बिहानको आफ्नै विचारसँग बेलुका आफैं सहमत नहुनु पनि अब नयाँ कुरा हुन छाडिसकेको छ। त्यसो त विज्ञानको स्वभाव नै यस्तै हुन्छ। फलतः ज्ञानको जस्तो परमाणु विज्ञानको हुँदैन। विज्ञानको आयु छोटो हुन्छ। यसले के सिद्ध गर्छ भने विज्ञान ज्ञानको सिर्जना हो र सिर्जनाको उमेर हुन्छ जो अमर हुँदैन। यो मरणशील भौतिक वस्तु हो। ‘मिग्युयल डि युनामोनो’ले विज्ञानलाई मरेका विचारहरूको चिहान हो भनेका थिए। उनले ठीकै भनेका रहेछन्। तैपनि ज्ञानलाई चियाउने प्वाल भने विज्ञान नै हो।
आधुनिक समयमा सामाजिक परिवर्तनका लागि विज्ञान एउटा शक्तिशाली क्रान्ति वा महान् उपकरण भएको यथार्थलाई भने कसैले नकार्न सकिन्नँ। तथापि विज्ञानलाई आफूले उडाउन सुरु गरेको परिवर्तनको विमान कहाँ र कतिखेर अवतरण हुन्छ ? त्यसले भविष्यलाई राम्रो वा नराम्रो कस्तो प्रभाव पार्छ ? जनजीवनमा त्यसको असर के हुन्छ ? समाजको प्राचीन सभ्यताको मुहान धमिलिन्छ कि उस्तै रहन्छ ? भन्ने कुरामा भने विज्ञान विवेकहीन हुन्छ।
विज्ञानका बारेमा ‘भिक्टर ह्युगो’को भनाइ निकै प्रासंगिक लाग्छ। उनले भनेका थिए– विज्ञानले हरेक विषयमा शुरुको शब्द भन्छ परन्तु अन्तिम शब्द कुनै पनि विषयमा भन्दैन। यस कथनको अर्थ विज्ञान आफ्नो गन्तव्यको विषयमा दिशाविहीन छ भन्ने हो। विज्ञानलाई आफ्नो गन्तव्य वा नतिजाको विषयमा पत्तै हुँदैन। गन्तव्य थाहा नभएको विज्ञानको परिणाम सही हुन्छ भनेर भन्न सकिन्नँ। यद्यपि यदि मैले विज्ञान सबै कुरामा र सबै तथ्यांकमा जहिले पनि गलत हुन्छ भन्न थालें भने त्यो झनै गलत हुन्छ। वैज्ञानिकहरू प्रत्यक्ष देख्न र अनुभव गर्न सकिने कुरामा मात्र विश्वास गर्छन्। यो नै उनीहरूको वैज्ञानिक इमानदारिताको आधारशिला हो।
- ‘मेरा विशिष्ट दिनहरूका लागि म भगवत गीताप्रति ऋणी छु’– इमर्सन। यो उनको हृदयको उद्गार हो। यस्तो उद्गार प्रकट हुन गीता अध्ययनबिना सम्भव छैन। भगवत गीता वास्तवमै भगवान् कृष्णको कृति हो।
- कृष्णले अर्जुनलाई आकारमा आफ्नो विराट स्वरूप ‘जहाँ सम्पूर्ण ब्रह्माण्ड समेटिएको थियो’ को दर्शन दिएका थिए। फलतः हामी जीवहरू ८४ लाख जुनी वा प्रजातिका बेग्लाबेग्लै आकारमा जन्मिने गर्छौं। यसप्रकार वेदलाई ज्ञानको निष्कर्ष, विज्ञानको उत्कर्ष, जीवाजीवहरूको संस्कृति र तद्नुसारको संस्कार हो। यो अनन्त जगत्को निचोड हो भनेर भन्दा गलत हुँदैन।
- जसरी मानिसले पुराना कपडा फालेर नयाँ कपडा लगाउँछन्, त्यसैगरी जीवात्माले पनि पुराना शरीरहरूलाई त्यागेर नयाँ शरीर ग्रहण गर्छ। अर्थात् भगवान्को निगरानीमा ८४ लाखका प्रजातिहरूमा ससर्त आत्मा आफ्नो पूर्वजन्मको कर्म अनुसार निरन्तर गुज्रिरहेको हुन्छ। मृत्युको समयमा आत्माले पुरानो शरीरलाई छाडेर नयाँ शरीर धारण गर्छ।
उनीहरू साध्य र साधनसहित नयाँ प्रविधिहरूको योगदानलाई आत्मसात् गर्दै तन, मन र संकल्पका साथ नवीन खोजीमा निरन्तर जुटिरहेकै छन्। तर निरन्तरको परिवर्तनलाई मथेर सत्यको आविष्कार गर्न उनीहरूलाई सजिलो कहाँ छ र ? अनि त्यतिखेरै साधन र स्रोतको अभाव भइदियो भने अध्ययन गरिने विषयमा पूर्णाध्ययन हुनै सक्दैन। यस्तो अवस्थामा संकलित तथ्यांक अनुमानितको अंकमा टुंगिन पुग्छ। यसर्थ दुरुस्त परिणामका लागि साध्य,
साधन, व्यक्तिको क्षमता, सीप, अध्ययन, लगनशीलता, समय, उचित वातावरण आदि तत्त्वहरूको पूर्ण एकताको जरुरी छ। किन्तु आजको भड्किलो मौसममा यी सबैलाई एकतामा जुटाउन सजिलो भने छैन।
सूक्ष्म विषयका लागि गहन अध्ययन चाहिन्छ। उत्साह र तत्परताका साथ माथिका तत्त्वहरूको एकतामा लामो अनुसन्धान चाहिन्छ। संकलित जानकारी र तथ्यांक दुरुस्त हुनुपर्छ। अचेल मानिसमा पूर्वजन्म र पुनर्जन्मका विषयमा निकै चासो देखिन्छ। यस्ता विषयमा चासो हुनु भनेको निकै महत्त्वपूर्ण कुरा हो। किन्तु, यी दुवै अति सूक्ष्म विषय हुन्। आधुनिक समय निकै हतारिलो र विषयवासनामा लिप्त छ। त्यसैमा चुर्लुम्म डुबेको छ। एकाग्रता दिग्भ्रमित भएको छ। समयको यस्तो बेमौसममा वैज्ञानिकहरूलाई यस्ता सूक्ष्म विषयमा गहन अध्ययन र अनुसन्धान गर्न निकै अप्ठ्यारो छ। यस्तो प्रतिकूल मौसमलाई अनुकूल मौसममा रूपान्तरण गरेर रहस्यका पर्दा उघार्न विज्ञानलाई गड्याउलाले फलाम चपाउनुजस्तै हो !
गीताका अनुसार पुनर्जन्मका योनिहरू पूर्वजन्मका कर्मले निर्धारण गर्दछ। कर्मानुसार कसैलाई नीच योनि त कसैलाई उच्च योनि प्राप्त हुन्छ। परन्तु मकैका दानाबाट मकै नै, आँपको खोयाबाट आँप नै जन्मिएजस्तो मनुष्यहरू पनि अर्को जन्ममा मानिसै भएर जन्मिनुपर्ने अर्थात् आफ्नै जातिमा जन्मिनुपर्ने तर किन तिनीहरूलाई अन्य पशुको योनिबाट जन्मिन्छन् भनिएको ? यो कुराले हाम्रो दिमागमा कतै यो ८४ लाखको अवधारणा मात्रै एक मिथक त होइन, मिथ्या मात्रै त होइन भन्ने पनि लाग्न सक्छ। तर त्यसो भने होइन।
सृष्टिको यो लामो समयको अन्तरालमा यहाँ अनेक थरीका जीवजन्तु उत्पन्न भए होलान्। डाइनोसरजस्तै पुराना लोप भएर नयाँहरू अस्तित्वमा आए होलान्। अस्तित्वमा रहेकामध्ये कुनै सबल र कुनै दुर्बल हुँदा होलान्। त्यो जेसुकै होस्। हाम्रो हिन्दू संस्कृतिमा १८ पुराण छन्। वेदहरू र उपनिषद्हरू छन्। ती सबै पवित्र शास्त्रहरूमा योनिहरूको कुलसंख्या ८४ लाखभन्दा अर्को बताइएकै छैन। यिनीहरूले ८४ लाखभन्दा तलमाथिको कुरै गरेनन्। यिनीहरू सबैमा ८४ लाखको गणित एउटै छ।
वेदान्त शास्त्रमा यस्ता कैयौं ब्रह्माण्डव्यापी सिद्ध सिद्धान्तका कारण जर्मन दार्शनिक ‘आर्थर शोपेन्हावर’ले उपनिषद्लाई ‘मानव चेतनाको उत्तमोत्तम कृति र अतिमानवीय चिन्तन’का रूपमा व्याख्या गरेका छन्। उनका शिष्य ‘पौल डुसन’ले त वैज्ञानिकहरूका मस्तिष्कद्वारा विज्ञानले जेजस्तो आविष्कार गरोस् परन्तु उपनिषद्ले प्रतिपादन गरेको सत्यका विषयमा कसैले विवाद गर्न सक्दैन। ज्ञान र विज्ञानरूपी पुष्पवृक्षमा उपनिषद् जस्तो सुन्दर पुष्प आजसम्म कहीं फुलेका छैनन् र वेदान्तशास्त्रभन्दा पोषिलो फल कहीँ फलेका छैनन् भनेर भनेका छन्।
यस्तै वैदिक ग्रन्थको गहिरो प्रभाव अमेरिकी निबन्धकार ‘इमर्सन’लाई पनि परेको थियो। वैदिक ग्रन्थको अध्ययनपछि उनले भनेका छन्– यदि अंग्रेजहरूले वैदिकशास्त्र पढे भने उनीहरूले यता कहिल्यै नदेखेको र नकल्पेको भव्य दीपावली
त्यता देख्नेछन्। वेदले मलाई पछ्याइरहनेछ र तिनमा अनन्त अनुकम्पा, अगम्य शक्ति र अविच्चिन्न शान्ति प्राप्त गरेको छु। यस्ता धेरै पश्चिमा छन् जसले मुक्तकण्ठले पूर्वीय दर्शनको प्रशंसा गरेका छन्।
पद्म पुराणमा पृथ्वीमा योनिहरू अर्थात् जाति प्रजातिहरूको संख्या यसप्रकार उल्लेख गरिएको छ ः
जलज नव लक्षाणी,
स्थावर लक्ष विम्शति,
कृमयो रुद्र संख्यक
पक्षिणाम दशलक्षणं,
त्रिन्शल लक्षानी पशव,
चतुर लक्षाणी मानव।
(७८ः५, पद्म पुराण )
अर्थात्
जलचर – ९ लाख।
स्थावर – २० लाख।
सरिसृप तथा कीटपतंग – ११ लाख।
नभचर (चराचुरुंगीहरू) – १० लाख।
थलचर – ३० लाख।
देवता, दैत्य, दानव, मनुष्यादि– ४ लाख।
कुलसंख्या – ८४ लाख।
यो जरुरी छैन कि योनिहरू ८४ लाख होऊन् वा नहोऊन्। तर महत्त्वपूर्ण कुरा के हो भने हाम्रो वैदिकशास्त्रले पृथ्वीमा जुन योनिको संख्या ८४ लाख भनेर बताएको छ। त्यसैको सेरोफेरोमा वैज्ञानिकहरूको अनुमानित अवधारणा हुनु भनेको ख्यालठट्टाको कुरो हुँदै होइन। जहाँ पनि, जहिले पनि एउटै भनाइ हुनु र अनुमानित शब्दको प्रयोग कतै नहुनुले वैदिक शास्त्रमा विज्ञानको सामथ्र्यलाई जनाउँछ। सायद जर्मन दार्शनिक ‘अल्फ्रेड नर्थ ह्वाइटेड’ले यही सामथ्र्यलाई बुझेर होला, वैदिक शास्त्रलाई विज्ञानको अन्तिम सीमा हो भनेर भनेका !
‘मेरा विशिष्ट दिनहरूका लागि म भगवत गीताप्रति ऋणी छु’– इमर्शन। यो उनको हृदयको उद्गार हो। यस्तो उद्गार प्रकट हुन गीता अध्ययनबिना सम्भव छैन। भगवत गीता वास्तवमै भगवान् कृष्णको कृति हो। यही गीतामा कृष्णले भनेका छन्– जीवलाई प्रत्येक जन्ममा पूर्वकर्मअनुसार शरीर दिइएको हुन्छ। जीवात्माले यो बुझ्नुपर्छ कि आत्मा शरीरमा अस्थायी निवासी मात्र हो। अतः मनुष्यले आफूलाई पीडा र आनन्द, सुख
र दुःख आदिका अनुभवबाट अप्रभावित हुन प्रशिक्षण दिनुपर्छ।
गीताको दोस्रो अध्यायको श्लोक– २२
मा अर्जुनलाई आत्माज्ञान दिने क्रममा कृष्णले भनेका छन्–
‘वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोक्पराणि।
तथा शरीराणि विहाय जीर्णा
न्यन्यानि संयाति नवानि देही।’
यस श्लोकको तात्पर्य हो– जसरी मानिसले पुराना कपडा फालेर नयाँ कपडा लगाउँछन्, त्यसैगरी जीवात्माले पनि पुराना शरीरहरूलाई त्यागेर नयाँ शरीर ग्रहण गर्छ। अर्थात् भगवान्को निगरानीमा ८४ लाखका प्रजातिहरूमा ससर्त आत्मा आफ्नो पूर्वजन्मको कर्म अनुसार निरन्तर गुज्रिरहेको हुन्छ। मृत्युको समयमा आत्माले पुरानो शरीरलाई छाडेर नयाँ शरीर धारण गर्छ।
पृथ्वी यो अनन्त विश्व ब्रह्माण्डको नजरमा समुद्रको तटमा रहेको अति मसिनो बालुवाको दानाभन्दा अझै सूक्ष्म कणजस्तै हो। यो र सम्पूर्ण जगत् उनै ईश्वरको स्थुल शरीर हो। यसर्थ परिप्रेक्ष्य प्राप्त गर्न आकार धेरै महत्त्वपूर्ण छ। यसर्थ कृष्णले अर्जुनलाई आकारमा आफ्नो विराट स्वरूप ‘जहाँ सम्पूर्ण ब्रह्माण्ड समेटिएको थियो’ को दर्शन दिएका थिए। फलतः हामी जीवहरू ८४ लाख योनि वा प्रजातिका बेग्लाबेग्लै आकारमा जन्मिने गर्छौं। यस प्रकार वेदलाई ज्ञानको निष्कर्ष, विज्ञानको उत्कर्ष, जीवाजीवहरूको संस्कृति र तद्नुसारको संस्कार हो। यो अनन्त जगत्को निचोड हो भनेर भन्दा गलत हुँदैन। अस्तु !
०००